देउवा पक्षीय अधिवेशनः कैलाली सभापतिमा छ आकांक्षी
धनगढी । नेपाली कांग्रेसको देउवा पक्षीय नियमित महाधिवेशनअन्तर्गत कैलाली जिल्ला सभापतिका लागि ६ जना नेताले आकांक्षा देखाएका छन् । दीपावलीपछि हुने जिल्ला अधिवेशनलाई लक्षित गर्दै सभापतिका आकांक्षीहरू आन्तरिक छलफल र क्षेत्रीय प्रतिनिधिसँगको भेटघाटमा सक्रिय भएका छन् ।
जिल्ला सभापतिका लागि खेमराज चौधरी, शेरबहादुर देउवा, वीरेन्द्र भट्ट, नवराज रावल, युवा नेता विनय लामा र यज्ञराज उपाध्यायले आकांक्षा देखाएका हुन् । उनीहरू जिल्ला सभापतिमा आफ्नो पक्षमा समर्थन जुटाउन जिल्ला दौडाहमा व्यस्त छन् ।
नियमित महाधिवेशन पक्षधरको असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन, असोज २० गते सम्पन्न पालिका अधिवेशन तथा त्यसपछि क्षेत्रीय र प्रदेशसभा अधिवेशनसमेत सम्पन्न भइसकेका छन् । अब जिल्ला अधिवेशनको तयारीसँगै कांग्रेसभित्र नेतृत्व चयनको चहलपहल बढेको छ ।
जिल्ला अधिवेशनमा कैलालीभरिका करिब तीन हजार क्षेत्रीय प्रतिनिधिले भाग लिने बताइएको छ । ती प्रतिनिधिको समर्थन जुटाउन सभापतिका आकांक्षीहरू आन्तरिक रणनीति बनाउन र भेटघाटलाई तीव्रता दिन लागेका छन् ।






तपाईको प्रतिक्रिया