‘भ्वाइस अफ नेपाल’को चौँथो सिजन आजदेखि

काठमाडौँ,२४ भदौ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को ग्राण्ड प्रिमियर गरिएको छ । आज (शुक्रवार)देखि राति ८ बजे हिमालय टेलिभिजनमार्फत प्रशारण हुने शोको बिहीवार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा ग्राण्ड प्रिमियर गरिएको थियो ।
प्रिमियरमा विज्ञापनदाता, सञ्चारकर्मी तथा भ्वाइसकै कोचसहितको टिम रहेको थियो । प्रिमियरमा चारजना कोचमध्ये राजेश पायल राई, प्रमोद खरेल र प्रविशा अधिकारीको उपस्थिति थियो भने कोच राजु लामाको जापान जाने तालिका भएकाले प्रिमियरमा उपस्थित हुन नसकेको निर्देशक लक्ष्मण पौडेलले जानकारी गराए ।
द भ्वाइसको चौँथो सिजनको पहिलो भाग हेरिसकेपछि उपस्थित अतिथिहरूले पहिलेका सिजनभन्दा यसपटक अझ मज्जा आएको प्रतिक्रिया दिएका थिए ।यसपटकको सिजनमा दुई कोच राजेश पायल राई र प्रविशा अधिकारी नयाँ छन् । त्यसैले पनि केही फरक पाउन सकिने बताइएको छ ।
प्रिमियर सकिएपछि कोच राजेश पायलले आफूलाई रमाइलो लागेको र टिमको कामको प्रशंसा गर्न मन लागेको बताए । उनले आफू कोच भएर आइरहँदा नेपालका दूरदराजमा रहेका नयाँ मौलिक प्रतिभा छान्ने उद्देश्य रहेको बताए ।
कोच प्रविशाले पनि अहिलेको सिजनमा आएका प्रतियोगीहरू पनि निकै प्रतिभावान रहेको बताइन् । कोच प्रमोद खरेल केही समय उपस्थिति जनाएर व्यस्तताका कारण बाहिरिएका थिए । शो हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालय टेलिभिजनमार्फत प्रशारण हुनेछ ।
तपाईको प्रतिक्रिया