कैलालीमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

शुक्रबार भदौ २४, २०७९/ Friday 09-09-22
Paschim Today

धनगढी,२४ भदौ । कैलालीको घोडाघोडी नगरपालिकामा डेउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । २१ गते राती ४ जनाले सामूहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।

प्रहरीले आरोपी ४ जना मध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । उनले घोडाघोडी १ का एसी सापकोटा, हिमाल सापकोटा र घोडाघोडी २ का बसन्त विष्ट पक्राउ परेको बताउँदै फरार घोडाघोडी १ का नवीन कुँवरको खोजी भइरहेको बताए । 

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पक्राउ परेका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । उनले बालिकाको धनगढीमा स्वास्थ्य परीक्षण भइरहेको बताए । 

यस्तो छ घटना विवरण 

भदौ २१ गते सुखड बजारको हेलिप्याडमा भइरहेको डेउडा हेर्न साथी सँगै गएकी बालिका देउडा सकिएपछि सुखड बजारमा रहेको एक होटेलमा खाजा खान गएकी थिइन । पहिल्यै त्यही रहेका चार जना मध्ये नवीन कुँवरले बालिकालाई चिनेका कारण सँगै खाजा खान अनुरोध गरेको र सँगै खाजा खाएको बालिकाले बयानमा बताएको प्रहरीले जानकारी दिएको छ । 

खाजा खादै गरेको अवस्थामा नवीनले नै घोडाघोडी नगरपालिका १ पिपलडाडामा रहेको एसी सापकोटा लाई कल गरेको र उनले केटी लिएर यहीँ आउन भनेपछि  सँगै रहेको साथी घर जान्छु भनी गएको र त्यहाँ रहेका मध्ये तीन  जना उक्त सापकोटाको घर गएको प्रहरीले बताएको छ । बालिका सँगै गएका तीनजना र एसीले मदिरा सेवन गरी बालिकालाई सामूहिक बलात्कार गरेको प्रहरी जानकारी दिएको छ । 

भोलिपल्ट २२ गते बिहान २:३० बजेतिर सुखड बजारमा बेहोस अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई जानकारी गराएको र प्रहरीले नजिकै रहेको अस्पतालमा उपचारका लागि पुर्‍याएको थियो । बालिकाको होस आएपछि प्रहरीले ३:३० बजेतिर इलाका प्रहरी कार्यालय सुखडमा ल्याइ घटना बारे बुझ्दा बालिकाले आफू बलात्कृत भएको बताएको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बालिकाको बयानको आधारमा तीनजनालाई नियन्त्रणमा लिएको बताए । उनले एकजना फरार रहेकोले उनको खोजी कार्य भइरहेको बताए ।