फेसबुकमा दलित भन्दै गाली गर्ने एक जनालाई कैद सजाय

सोमबार भदौ २७, २०७९/ Monday 09-12-22
Paschim Today

बैतडी, २७ भदौ । बैतडीमा सामाजिक सञ्जाल फेसबुकमा दलित भन्दै गालीगलौज  गर्ने एक जनालाई दुई महिना कैद सजाय सुनाइएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश चन्दलाई दुई महिना थुनामा राख्न जिल्ला अदालत बैतडीले फैसला गरेको हो । चन्दले २०७८ वैशाख ३ गते सामाजिक सञ्जाल फेसबुकबाट जातीय अपहेलना हुनेगरी गालीगलौज गरेको भन्दै जिल्लाको मेलौली नगरपालिका ५ का बलभद्र दयालले उनी विरुद्ध  उजुरी दिएका थिए ।

उजुरी परेपछि अदालतले उनलाई दुई महिना कैद, २५ हजार रुपैयाँ क्षतिपूर्ति र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । चन्द अहिले प्रहरीको फरार सूचीमा रहेका र उनी भारतमा बस्दै आएको बताइएको छ।