Close This

कलाकारहरू प्रदीप खड्का, गुरुङ र सेनलाई एसपीएको सम्मान 

शुक्रबार भदौ ३१, २०७९/ Friday 09-16-22
Paschim Today

धनगढी,३१ भदौ । नेपाली चलचित्र क्षेत्रका प्रशिद्ध कलाकारहरू नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेनलाई धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले सम्मान गरेको छ।

एसपीए कलेजको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच उनीहरूलाई दोसल्लासहित सम्मान पत्रमार्फत सम्मान गरिएको हो । एसपीएको बीबीएस कार्यक्रम निर्देशक रघुनाथ जोशी तथा प्लस टू तथा एमएड कार्यक्रम निर्देशक रमेश जोशीले उनीहरूलाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका थिए  । 

कलाकारिता क्षेत्रबाट देशका कला, संस्कृतिको उत्थानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै कलाकार द्वय खड्का र गुरुङ तथा निर्माता सेनलाई सम्मान गरिएको हो ।

‘कलाकार भनेको राष्ट्रका गहना हुन् । उहाँहरुको माध्यमबाट देशको कला संस्कृतिको उत्थान हुनुका साथै आम युवाहरू प्रेरित हुने गर्छन्,’ सम्मान कार्यक्रममा बीबीएस निर्देशक जोशीले भने, ‘सुदूरपश्चिममा आउनुभएको अवसरमा हामीले राष्ट्रका गहनालाई सम्मान गर्ने संस्कार बसालेका छौँ । उहाँहरूले आगामी दिनमा थप युवा प्रेरित चलचित्रमार्फत देश विकासमा योगदान पुर्‍याउने विश्वास लिएका छौँ ।’

सम्मान कार्यक्रममा कलाकारहरूले विद्यार्थीहरुसंग आफ्नो सङ्घर्ष, जीवन उतार चढाव र प्रेरित शब्दहरूसहित अन्तरक्रिया गरेका थिए । सम्मानपछि बोल्दै नायक प्रदीप खड्काले एसपीए कलेजले गरेको न्यानो आतिथ्यताका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सयौँ विद्यार्थीहरुसंग अन्तरक्रिया गर्न पाउँदा हर्षित महसुस भएको बताए ।

देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको एसपीए कलेज अमेरिकामा हुने ग्रीन कलेज अवार्डको पनि मनोनयनमा परेको छ ।झण्डै ३५ सय विद्यार्थी अध्ययनरत एसपीए सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटेल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरू छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् ।आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एक मात्रै आफ्नो होटेल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विद्यार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरू गठन गर्दै विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी मात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।