नेपाली रहेसम्म भानुभक्तको महत्व रहन्छ : शिक्षामन्त्री पन्त

आइतबार असार २९, २०८२/ Sunday 07-13-25
Paschim Today

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली भाषा, राष्ट्र र पहिचान जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व र ऐतिहासिकता अक्षुण्ण रहने बताएका छन्  । आइतबार २१२औँ भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले आफ्नो भाषाको जगेर्ना गर्ने, त्यसलाई फैलाउने र साहित्य सिर्जनामार्फत भाषिक सेवा गर्ने व्यक्तित्वहरूको सम्मानमा भानु जयन्ती मनाउनुको विशेष तात्पर्य रहेको स्पष्ट पारे ।

हरेक व्यक्तिले सधैँ नभई आफ्नो कालखण्डको नेतृत्व गर्ने बताउँदै मन्त्री पन्तले भानुभक्तले आफ्नो समयमा साहित्यिक नेतृत्व प्रदान गरी नेपाली भाषालाई एकीकृत र लोकप्रिय बनाएको धारणा राखे  । उनले भानुभक्तलाई नेपाली भाषाका मूर्धन्य व्यक्तित्वको रूपमा चित्रण गर्दै उनको स्मरण गर्नु सम्पूर्ण नेपाली भाषीका लागि गौरव र श्रद्धाको विषय भएको बताए  ।

मन्त्री पन्तले भने, ‘भानु जयन्ती मनाउनुको मूल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्नु, भाषालाई फैलाउनु र भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरूलाई सम्झनु हो । जुन बेलासम्म हामी नेपाली जीवित रहन्छौँ, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यसबेलासम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहन्छ ।’

कार्यक्रममा मन्त्री पन्तले विश्वमा विभिन्न भाषाहरू लोप हुँदै गएको सन्दर्भ उल्लेख गर्दै नेपाली भाषालाई समृद्ध बनाउने र संरक्षण गर्ने कार्य चुनौतीपूर्ण रहेकोतर्फ पनि ध्यानाकर्षण गराए । उनले भानुभक्त जस्ता मूर्धन्य व्यक्तित्वको सम्मान र सम्झनाले नै भाषा संरक्षणको अभियानमा ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।