Close This

आँखा शिविरहरूबाट तीन हजार बढी लाभान्वित

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

धनगढी,६ असोज । दार्चुलाको गोकुलेश्वर, पस्ति र खलङ्गा गरी तीन स्थानमा सञ्चालित आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरूको आयोजना तथा तेज कोहली रुईत फाउण्डेशन र रोटरी क्लब अफ इल्भेरम नर्वेको सहयोगमा भाद्र २५ गते देखि आश्विन ४ गते सम्म आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो ।

सो शिविरहरूमा जम्मा ३४३५ जनाले आँखा उपचार सेवा लिएका जनाएको छ ।   जसमध्ये ४४८ जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको छ भने ४४१ मोतिविन्दुका बिमारीहरूको शल्यक्रिया गरी लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न सफल भएको छ ।

उक्त शिविरहरूमा ७ जनामा आँखाको अन्य रोगको शल्यक्रिया गरिनुको साथै १३०४ जनालाई निःशुल्क चस्मा उपलब्ध गराइएको र १६८३ जना आँखाका रोगीहरूको निःशुल्क औषधि उपचार समेत गरिएको छ । आँखा शिविरहरू शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मा वि गोकुलेश्वर, मालिकार्जुन गाउँपालिकाको शंकरपुर मा वि पस्ति र महाकाली नगरपालिकाको महेन्द्र नमुना मा वि खलङ्गा दार्चुलामा सञ्चालन गरिएका थिए ।

कोभिड सङ्क्रमणको कारणले लामो समय सम्म उक्त क्षेत्रमा आँखा शिविर सञ्चालन गर्न नसकिएकोले सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुवै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरी रहेका आँखाका रोगीहरूले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए । गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा। स्मध अधिकारीको नेतृत्वमा सञ्चालित उक्त शिविरहरूमा, १५ जना प्राविधिकहरूको टोलीले सेवा प्रदान गरेका थिए । 

यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा सञ्चालित २१ वटा शाखाहरूबाट उपलब्ध गराइने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरूबाट सहयोग जुटाई  यस प्रदेशका ९ वटै जिल्लाहरूमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहुँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।