Close This

दसैँका दिन आज यी क्षेत्रमा बाढीको उच्च सम्भावना

बुधबार असोज १९, २०७९/ Wednesday 10-05-22
Paschim Today

काठमाडौं १९ असोज । बडादसैँको टीकाको तयारी भइरहँदा देशका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा भएको छ । त्यसले बाढी तथा पहिरोसहितका विपदको सम्भावना बढाएको भन्दै सतर्कता अपनाउन मौसम विज्ञान विभाग तथा बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेका छन् ।

मंगलबार राति तथा बुधबार बिहान पूर्वदेखि पश्चिमका विभिन्न भागमा भारी वर्षा भएको हो । राति १२ बजेतिर बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुंगा, गोरखा, लमजुंग, तनहुँ, कास्की, पर्वत, बाग्लुंगसहितका जिल्लामा भारी पानी परेको छ ।

यस्तै म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रुकुम, रुकुमपूर्व, प्यूठान र आसपासमा भारी वर्षा भएको र तीन क्षेत्रका साना खोलामा आकश्मिक बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यसैगरी बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको सूचनामा पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेको उल्लेख छ ।

पश्चिम राप्ती भालुवांग, कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने, सतर्कता आसपास पुग्न सक्ने तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाका अनुसार प्यूठान, दांग, बाँकेजिल्ला भइ बग्ने अधिकांश साना खहरे खोलामा आकश्मिक बाढीको उच्च सम्भावना रहेको हुँदा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।