डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार असोज २०, २०७९/ Thursday 10-06-22
Paschim Today

डडेल्धुरा,२० असोज । डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला अदालतमा बिहीबार एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो।

यहीँ असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

जिल्ला अदालत डडेल्धुराबाटै मुख्य निर्वाचन अधिकृतको कार्यालयले कामकाज अगाडि बढाउनेछ। जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेलाई मुख्य निर्वाचन अधिकृतको रूपमा तोकिएको छ।

मुख्य निर्वाचन अधिकृत वाग्लेले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित भयरहित र विश्वसनीय बनाउनका लागि प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरे।