सुदूरपश्चिममा दसैंले फर्काउँछ थातथलो, जात्राले जोड्छ मन

आइतबार कार्तिक २, २०८३/ Sunday 10-18-26
Paschim Today

बैतडी : दसैंसँगै सुदूरपश्चिमका पहाडी गाउँमा चहलपहल बढ्दो छ । वर्षभरि कामको खोजीमा घरबाहिर रहेकाहरू पुर्ख्यौली थलो फर्किन थालेका छन्। बसाइँ सरेर तराई झरेकादेखि भारतका विभिन्न सहरमा रहेका आफन्तसम्म गाउँ आइपुगेका छन्। कोही कुलदेवताको पूजा गर्न, कोही पुस्तौंदेखि चलिआएको परम्परा धान्न त कोही आफन्त भेट्न । घटस्थापनादेखि शक्तिपीठमा सुरु हुने पूजाआजा र सामूहिक जमरा राख्ने परम्पराले गाउँ फर्किनेहरूलाई एउटै थलोमा जुटाउँछ। दसैं सकिएपछि लाग्ने जात्रा र मेलाले यो भेटघाटलाई अझ लम्ब्याउँछन्।

सुदूरपश्चिमका पहाडी जिल्लामा दसैं घर फर्किने अवसर मात्र होइन, पुर्ख्यौली आस्था र सामाजिक सम्बन्ध नवीकरण गर्ने समय पनि हो। घटस्थापनादेखि शक्तिपीठमा सुरु हुने सामूहिक पूजाआजा र जमरा राख्ने परम्पराले टाढिएका आफन्तलाई एउटै ठाउँमा जुटाउँछ। दसैंतिहारपछि लाग्ने जात्रा र मेलाले यो जमघटलाई मंसिर पूर्णिमासम्मै निरन्तरता दिन्छन्। मुलुकका धेरै ठाउँमा दसैं पारिवारिक जमघट, खानपिन र रमाइलोको पर्वका रूपमा मनाइन्छ। सुदूरपश्चिमका पहाडी जिल्लामा भने यसको सम्बन्ध धर्म, संस्कृति र सामाजिक जीवनसँग पनि उत्तिकै गहिरो छ।

बैतडीका त्रिपुरासुन्दरी, निङ्गलासैनी, डिलासैनी र मेलौली भगवतीलगायत शक्तिपीठमा घटस्थापनाकै दिनदेखि सामूहिक रूपमा जमरा राख्ने चलन छ। उदयदेव र सिगासलगायतका मन्दिरमा पनि सामूहिक पूजाआजा गरिन्छ। भगवतीका मन्दिरमा अष्टमीसम्म विशेष पूजा हुन्छ भने केही स्थानमा कोजाग्रत पूर्णिमासम्म धार्मिक गतिविधि चल्छन्। यतिबेला शक्तिपीठमा बोका र राँगाको बलि दिने चलन पनि छ।

बडादसैं र चैतेदसैंका बेला यहाँका मन्दिरमा श्रद्धालुको भीड लाग्छ। बसाइँ सरेकाहरू पनि यी दुई पर्वका अवसरमा नभए कम्तीमा वर्षमा एक पटक भए पनि थातथलो पुग्ने गर्छन्। बुढापाका र बालबच्चासहित पुर्ख्यौली थलो फर्किनेहरू रातदिन मन्दिरमै बसेर पूजाआजा गर्छन्। शिव र शक्तिको आराधनाका लागि यहाँका धार्मिकस्थलमा पालैपालो ठूला जात्रा लाग्ने गरेको बैतडीको पाटन बहुमुखी क्याम्पसका उपप्राध्यापक लक्ष्मीदत्त पाण्डेय बताउँछन्।

‘शक्ति स्वरूपा देवीका मन्दिरमा प्रायः बलिसहितको पूजा हुन्छ । शिवको पूजामा सात्त्विक भएर भक्तिभाव गर्ने चलन छ,’ उनले भने।

पहाडमा बर्खेबाली भित्र्याएपछि र हिउँदे बाली लगाउने समय सुरु नहुँदासम्म स्थानीय तुलनात्मक रूपमा फुर्सदिला हुन्छन्। यही समय पूजाआजा, आफन्तसँगको भेटघाट र भक्तिभावमा बित्छ। धेरैजसो ठाउँमा मन्दिरमै सामूहिक रूपमा टीका र जमरा लगाएर दसैं मनाउने चलन रहेको पाण्डेय बताउँछन्। ‘समुदायका ठूलाबडा, गन्यमान्य सबै सकेसम्म अहोरात्र मन्दिरमै बस्ने चलन भएकाले दसैं टीकाको कार्यक्रम पनि मन्दिरमै हुने गरेको छ।’

वर्षमा कम्तीमा एक पटक कुलदेवताको पूजामा सहभागी हुन थातथलो फर्किने चलनले सुदूरपश्चिमका पहाडी समुदायलाई भूगोलले टाढा भए पनि सांस्कृतिक रूपमा नजिक राखेको छ। रोजगारी र बसाइँसराइले गाउँबाहिर पुगेकाहरू मात्र होइन, सीमापारि भारतमा रहेका पुर्ख्यौली सम्बन्धका परिवारसमेत यही परम्पराका कारण गाउँ फर्किन्छन्। धार्मिक आस्थासँग जोडिएको यो परम्पराले पारिवारिक भेटघाट र पुस्तौंदेखिको सम्बन्धलाई निरन्तरता दिन्छ।

 

 

भारतको उत्तराखण्डका कुमाउ र गढवाल क्षेत्रबाट समेत श्रद्धालु यहाँका शक्तिपीठमा पूजाआजा गर्न आउँछन्। भारतको अल्मोडाबाट हरेक वर्ष दसैंका बेला बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा आउने दिवस चन्दले आफ्नो गाउँबाट मात्रै दुई वटा जिपमा १४ जना आएको बताए। ‘कुलदेवताको पूजामा वर्षमा एकपटक सकेसम्म पुग्ने गर्छौं । परिवारका सबै आउन नसके पनि आलोपालो मिलाएर सधैं नै आउने गरेका छौं,’ उनले भने, ‘यही मौकामा आफन्तसित भेटघाट पनि हुन्छ । पूजाआजा र भक्तिभाव पनि।’

भारतको सीमावर्ती बजार झुलाघाटमा तीन पुस्तादेखि व्यापार गर्दै आएका प्रमोदकुमार भट्टले पनि आफ्नो गाउँबाट हरेक वर्ष बैतडीका त्रिपुरासुन्दरी, निङ्गलासैनीलगायतका मन्दिरमा आएर पूजाआजा गर्ने गरिएको बताए।

सुदूरपश्चिमको संस्कृतिका अध्येता तथा साहित्यकार हेमबाबु लेखकका अनुसार मन्दिरमा घटस्थापनाका दिन सामूहिक रूपमा जमरा राख्ने र वर्षमा कम्तीमा एक पटक थातथलो पुग्ने परम्पराले समुदायलाई एकताबद्ध बनाएको छ। दस वर्षे सशस्त्र द्वन्द्वका बेला धेरै गाउँमा यो परम्परा केही वर्ष प्रभावित भए पनि यसको निरन्तरता पुस्तौंदेखि रहँदै आएको उनले बताए।

‘घटस्थापनाका केही दिनअघिदेखि नै मन्दिरको सरसफाइ र जमघट भई जमरा र जात्राको तयारी गर्ने चलन हो । सञ्चारका साधन नभएको बेला त बसाइँ सरेका आफन्त सिजन अगावै पूजाआजाका लागि नपुगे जुठो–पीडा पो छ कि भन्ने हुन्थ्यो,’ उनले भने, ‘पछिल्लो समय सञ्चार र यातायातले अझै सहज भएको छ । देशभित्रै र भारतसम्म भएकाहरू त सकेसम्म पुगेकै हुन्छन् । दुई/चार वर्षमा त तेस्रो मुलुकमा रहेकाहरू पनि आइपुग्ने गर्छन्।’

बैतडीका केही मन्दिरमा बलिका लागि निश्चित संख्या तोकिएको छ। देहिमाडौंस्थित निङ्गलासैनी भगवती मन्दिरमा दसैंको अष्टमीका दिन ठूलो जात्रा लाग्छ। यसलाई ‘६८ की जात’ भनिन्छ। यस दिन कम्तीमा ६८ राँगा वा बोकाको बलि दिनुपर्ने परम्परा छ। उक्त संख्यामा बलि दिन नसकिए कुभिण्डोको संख्या पुर्‍याएर बलि दिने चलन रहेको स्थानीय भुवनराज भट्टले बताए।

बैतडीका त्रिपुरासुन्दरी, डिलासैनी र मेलौलीलगायतका शक्तिपीठमा पनि दसैंका बेला विशेष पूजाआजा र बलि दिने चलन छ। डडेलधुराको उग्रतारा तथा डोटीको शैलेश्वरी, बाजुरा र बझाङका विभिन्न शक्तिपीठमा पनि दसैंमा श्रद्धालुको भीड लाग्छ। यी मन्दिरमा संक्रान्ति र पूर्णिमामा नियमित पूजाआजा हुने भए पनि बडादसैं र चैतेदसैंमा विशेष मेला तथा जात्रा लाग्छन्।

दसैंको टीकासँगै गाउँ फर्किने क्रम सकिए पनि सुदूरपश्चिमका पहाडी बस्तीमा चहलपहल थामिँदैन। दसैंतिहारपछि सुरु हुने जात्रा र मेलाले आफन्त भेटघाटको अवसरलाई लम्ब्याउनुका साथै गाउँको सामाजिक र आर्थिक जीवनलाई पनि चलायमान बनाउँछन्। खेतीपातीको कामबाट फुर्सद मिल्ने यही समयमा हुने जमघटले आपसी सद्भाव र सांस्कृतिक परम्परालाई पुस्तान्तरण गर्छ।

बैतडीमा मंसिर पूर्णिमासम्म त्रिपुरासुन्दरी, मेलौली, शिवनाथ, उदयदेव, पुर्चौंडीको गिरेगाडा, डिलासैनी, सुर्नयाको भगवती र पाटनको महारुद्रलगायतका मन्दिरमा जात्रा लाग्छन्। दार्चुलाका मालिकार्जुन, हुनैनाथ, जयपुर र जगेनी तथा डडेलधुराका उग्रतारा र भागेश्वरका जात्रा पनि चर्चित छन्। पुसमा हुने बनासरी जात्रामा भारतका विभिन्न सहरबाट समेत हजारौं श्रद्धालु आउने गरेका छन्।

जात्राका बेला गाउँका घर आफन्त र पाहुनाले भरिभराउ हुन्छन्। बसाइँ सरेर रित्ता भएका घरको सरसफाइ र व्यवस्थापन जात्रा सुरु हुनुअघि नै गर्नुपर्ने डिलासैनी–५ का राजेन्द्र भण्डारी बताउँछन्। धार्मिक गतिविधिसँगै व्यापारिक चहलपहल पनि बढ्छ। स्थानीय तथा घरायसी प्रयोजनका सामग्रीदेखि कृषि औजार, लत्ताकपडा र भाँडाकुँडासम्मको कारोबार हुन्छ।

दोगडाकेदार गाउँपालिका–२ का प्रतापसिंह महराका अनुसार जात्रा र मेलाले टाढा रहेका आफन्त तथा छिमेकीसँग भेट्ने अवसर जुटाउँछन्। धार्मिक माहोलमा हुने यस्ता जमघटले आपसी मनमुटाव हटाउन र सामाजिक सम्बन्ध बलियो बनाउन पनि मद्दत गर्छन्।

‘गाउँघरमा वर्षैभरि घरधन्दामा व्यस्त हुनुपर्छ । दसैं तथा जात्राको बेला मन्दिरजस्तो पवित्र ठाउँमा सबैको भेट हुन्छ, अरू बेला भएको मनमुटाव र रिसराग पनि धार्मिक माहोलले शान्त सौहार्द बनाउँछ,’ उनले भने, ‘यसैगरी पुस्तौंदेखि भाइचारा र पारिवारिक–सामाजिक सद्भाव तथा संस्कृतिको पुस्तान्तरण पनि भइरहेको छ।’

सुदूरपश्चिमका पहाडी गाउँमा दसैंले थातथलो फर्काउँछ, शक्तिपीठले एउटै आस्थामा जोड्छन् र जात्राले त्यो सम्बन्धलाई चाडपर्वपछि पनि निरन्तरता दिन्छन्। वर्षमा एक पटक हुने यो जमघटले परिवारसँगै गाउँ र पुस्तौंदेखिको संस्कृतिलाई पनि जोडिराखेको छ।