एक दिन प्रयोग गरिने शक्ति

आइतबार असोज ३०, २०७९/ Sunday 10-16-22
अर्जुनबहादुर देउवा

करिब ५ वर्षपछि पुनः देश निर्वाचनमय भएको छ । यसै वर्षको वैशाख ३० गते भएको स्थानीयतहको निर्वाचनपछि पुनः मङ्सिर ४ गते प्रदेशसभा र सङ्घीय संसद्को लागि निर्वाचन हुँदैछ । ५ वर्षमा एक पटक हुने यस निर्वाचनमा १ दिनको लागि राजनीतिक शक्ति जनताको हातमा आएको हुन्छ । एक वर्षमा ३६५ दिन हुन्छन् । ५ वर्षमा ३६५×५=१८२५ दिन हुन्छन् ।

यी १८२५ दिनमध्ये जनता (मतदाता) ले निर्वाचित गरी पठाएका जनप्रतिनिधिहरूले १८२४ दिन शक्तिको प्रयोग गर्दछन् भने मतदाताले शक्ति प्रयोग गर्ने दिन जम्मा १ रहेको हुन्छ । यही १ दिन नेताको हातबाट जनताको हातमा शक्ति स्थानान्तरित भएको हुन्छ ।

१ दिनको लागि स्थानान्तरित शक्तिको सही र विवेकसम्मत सदुपयोग भएन भने बाकी १८२४ दिन मतदाताले पछुताउनु र थिचोमिचोमा बस्नु बाहेक अरू विकल्प रहँदैन । त्यसैले वैशाख ३० गतेपछि पुनः मङ्सिर ४ गते एक दिनको लागि तपाई हाम्रो हातमा स्थानान्तरित भएर आउँदै गरेको उच्चतम राजनीतिक शक्ति वा अधिकारको सही ठाउँ र सही व्यक्तिको लागि प्रयोग गर्न सकिएन भने फेरी पनि आफ्नो कर्मलाई धिक्कार्दै थप १८२४ दिन थिचोमिचो, अन्याय, अत्याचार, नातावाद, कृपावाद, भ्रष्टाचार, दुराचार सहेर बस्नुको विकल्प हुँदैन किनभने त्यो एक दिनको शक्ति प्रयोगबाट हामीले आफ्नो अमूल्य मत मार्फत १८२४ दिन आफूमाथि शासन गर्ने अधिकार पुनः नेताहरूलाई सुम्पी सकेका हुन्छौ ।

५ वर्षको अवधिमा एक पटक मात्र तपाई हाम्रो हातमा आएको यो अधिकार वा शक्तिलाई कसैको मोलाहिजामा लागेर वा कुनै पनि प्रकारको लोभ लालचमा फसेर वा नातागोता हेरेर वा पार्टीको चिन्ह र झण्डामात्र सम्झेर प्रयोग गरेछौ भने फेरि पनि हाम्रो हातबाट ठुलो भूल हुनेछ । नेताले सत्ता र स्वार्थको लागि पार्टीको नीति, नियम, सिद्धान्त कुल्चेर जे पनि गर्न पाउने अनि मतदाताले पार्टी आस्थाका आधारमा मात्र मत हाल्ने प्रवृत्तिले हामी कहिल्यै पनि सुशासन र जनताको सरकार पाउने छैनौ । अहिले नेपालको राजनीतिमा भ्रष्टाचारी, दलाल, बिचौलिया, गुण्डा, तस्कर, घुसखोर, माफिया, कमिसन खोर प्रवृत्ति भएकाहरू हाबी भइरहेका छन् । सङ्ख्यात्मक रूपमा बढी र घटी भए पनि प्रत्येक राजनीतिक दलभित्र यस्ता भ्रष्ट मनोवृत्तिका उम्मेद्वारहरु रहेका छन् ।

यिनै भ्रष्टहरू अनेक प्रकारका हतकण्डा अपनाएर, ललिपप देखाएर, पैसाको लोभ लालच देखाएर तपाई हाम्रो मत बटुल्न आइपुग्नेछन् । यस्तो अवस्थामा मतदाताले थोरै पनि विवेक प्रयोग गर्न सकेनन् भने त्यो देशको लागि र स्वयं मतदाताको लागि दुर्भाग्य साबित हुनेछ । कुुनैपनि प्रकारको प्रलोभन र प्रभावमा परेर फेरि पनि तिनै भ्रष्टहरूलाई जीताउनुु भनेको मतदाता आफू पराजित हुनु हो । आफू मात्र हैन आफ्ना सन्ततिलाई पनि पराजित बनाउनु हो । अतः विकृत राजनीतिलाई चुनावको माध्यमद्वारा शुद्धीकरण गर्ने यो मौकाबाट हामी किमार्थ चुक्नु हुँदैन ।

मतदान गर्दा हामी चुुक्यौभने आफू त सुशासनबाट वञ्चित हुन्छौ नै आफ्ना सन्ततिलाई पनि भविष्यका अवसरबाट वञ्चित गराउने छौ । अतः आफ्नो र आफ्ना सन्ततिको भविष्य निर्माता छान्दा विवेकशील बन्नु जरुरी छ । अहिले देशको नीति निर्माता छान्दै गर्दा कक्षा १० मा पढ्दै गरेका हाम्रा सन्ततिहरू आगामी ५ वर्षभित्र कक्षा १२ पास गरी स्नातक तहमा पढिरहेका हुनेछन् , कक्षा १२ मा अध्ययनरत युवाहरू स्नातक पास गरिसकेका हुनेछन् भने स्नातकमा अध्ययनरत सन्ततिहरू स्नातकोत्तर तहको डिग्री हासिल गरेर रोजगारको लागि भौँतारिरहेका हुनेछन् । एक छिन कल्पना गर्नुस् त भोलि डिग्रीको सर्टिफिकेट हातमा लिएर आफ्नो योग्यता, क्षमता र दक्षता अनुसारको अवसरबाट तपाइका सन्ततिहरूले वञ्चित हुनुपरेछ भने ? अर्थात् राज्यबाट सिर्जना हुने अवसरमा तपाइको सन्ततिभन्दा अयोग्य, कमसल र क्षमताविहीन व्यक्तिले नेताको चाकरी, चिनजान र भनसुनकै आधारमा हालिमुहाली गर्ने अवसर प्राप्त गर्न सफल भयो तर योग्य, दक्ष तथा क्षमतावान् व्यक्तिले त्यो अवसरबाट वञ्चित हुनुपरेछ भने ? सार्वजनिक सेवामा प्रवेश गरेका योग्य र क्षमतावान् व्यक्तिहरूले अयोग्य र असक्षम व्यक्तिको अन्डरमा रहेर काम गर्नुपर्ने परिस्थिति सिर्जना भएछ भने ? यसको दोष कसलाई दिने ? के राजनीतिक दल र तीनका नेतालाई धारे हात लगाएर अनि उनीहरू प्रति सामाजिक सञ्जालमा विष वमन गरेर मात्र हामी पानीमाथिको ओभानो रहन सक्छौ र ? कदापि रहन सक्दैनौ ।

किनकि राज्यमा त्यस्तो बेथिति र विसंगतीपूर्ण वातावरण सिर्जना गर्नमा तपाई हामी मतदाताको पनि भूमिका रहेको हुनेछ । नीति निर्माण र निर्णायक तहमा पुग्ने जनप्रतिनिधि छान्दा दलीय अन्धभक्त भएर वा सानोतिनो व्यक्तिगत स्वार्थ र प्रलोभनमा परेर जस्तोसुकै भ्रष्ट, दलाल, तस्कर, गुण्डा, नाफाखोर, बिचौलिया, कमिसन खोरलाई छान्ने अनि देशमा योग्यता र क्षमता प्रणालीमा आधारित सुशासनको अपेक्षा गर्ने ? न्यायालयभित्र निष्पक्षताको आशा गर्ने ? प्रहरी प्रशासनबाट अपराध नियन्त्रणको भरोसा गर्ने ? शैक्षिक क्षेत्रमा योग्यता प्रणालीको सपना देख्ने ? यो त बिउँ रोप्दा कोदो छर्ने , बाली काट्दा लहलह झुलेका धानका बालाको अपेक्षा गरेजस्तो मूर्खतापूर्ण कार्य भएन र ? सबै नीतिको राजनीति अर्थात् सबै क्षेत्रलाई प्रभावित गर्ने नीति नै राजनीति हो ।

यही मूलनीति तर्जुमा गर्ने स्थानमा योग्य, सक्षम, त्यागी, निष्ठावान्, इमानदार, स्वच्छ छवि भएको उम्मेदवारलाई हराई कमिसन खोर र तस्करलाई जितायौंभने भोलि उनीहरूले तपाई हामीले चाहेको सुशासन दिन सक्छन् ? जनता र मतदाताको पक्षमा काम गर्न सक्छन् ? देश र जनताको हितमा कानुन निर्माण गर्न सक्छन् ? जनहितकारी नीति तथा कार्यक्रम ल्याउन सक्छन् ? कदापि सक्दैनन् र ल्याउँदैनन् । किनभने उनीहरूले आफ्नै स्वार्थ समूहको पक्षपोषण हुने गरी यी सबै कार्यहरू गर्नेछन् । तपाइ हामी फेरी पनि हिस्स बुढी, फिस्स दाँत भने झैँ हुनेछौ । सतिले श्रापेको देश भन्दै आफ्नो कमजोरी लुकाउने प्रयत्न गर्नेछौ । त्यसैले यदि देशमा शान्ति, सुशासन, समृद्धि, उन्नति, प्रगति, रोजगारी, सामाजिक सुरक्षा प्राप्त गर्ने अभिलाषा छ र निष्पक्ष तथा पारदर्शी न्याय प्रणाली स्थापित भएको देख्ने चाहना छ भने १८२५ दिन मध्ये १ दिन तपाई हामी मतदाताको हातमा आएको शक्तिको विवेकपूर्ण र सही सद्उपयोग भएकै हुनु पर्दछ ।

अन्यथा समृद्ध नेपाल र सुखी नेपाली भनिने मीठो नारा तपाई हामी मतदाताको लागि केवल मृगतृष्णा मात्र साबित हुनेछ । हामीले विगतमा आँखै अगाडी देख्यौ , अझ कतिपयले भोग्यौ पनि राज्यका हर क्षेत्रमा केन्द्रदेखि स्थानीय तहको एउटा सामान्य कार्यालयसम्म बेथिति, विसङ्गति, कमिसन, भ्रष्टाचार, आग्रह, पूर्वाग्रह, दुराग्रहले कतिसम्म जेलेको छ भन्ने कुरा । हर कार्यालयमा घुसखोर, हर अफिसमा कमिसन खोर, हर क्षेत्रमा बिचौलिया, हर मन्त्रालयमा दलाल हुँदाहुँदै तपाइ हामीले निर्वाचित गरी पठाएका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीसम्मका सुन्नै नसकिने काण्डहरू छताछुल्ल भएर सार्वजनिक भएका छन् । 

राज्यको उच्च ओहदामा पुग्न मन्त्री निवास वा प्रधानमन्त्री निवासमा कसले कति ब्रिफकेस पु¥यायो त्यसको आधारमा निर्णय हुन थाल्यो । न्यायधिश नियुक्ति, संवैधानिक निकायका नियुक्ति, मन्त्रालयका सचिवको नियुक्ति , विश्वविद्यालयका पदाधिकारीको नियुक्ति, सुरक्षा निकायका प्रमुखहरूको नियुक्ति, सरकारी संस्थान तथा कम्पनीका प्रमुखहरूको नियुक्ति मात्र हैनन् विद्यालयका करार शिक्षकको नियुक्तिसम्ममा समेत भागवण्डा, नातावाद, कृपावाद र घुसखोरीले पहिलो प्राथमिकता पाउन थाल्यो । बनेका नीति नियमको धज्जी उडाइयो भने बनाएका नीति नियमहरू आफू अनुकूल हुने गरी प्वालै प्वाल राखेर बनाइयो । यस्तो बेथितिमा कुन योग्य मान्छे बस्न चाहन्छ यो देशमा ? कुन उद्यमशील युवा रुचाउँछ उद्यमशील गर्न ? कुन दक्ष जनशक्ति मन पराउँछ काम गर्न ? जहाँ पनि र जे गर्दा पनि घुस र कमिसन नखुवाईकन फायल अघि बढ्दैन । अनि कसरी हुन्छ देशको विकास ? कसरी बन्छ नेपाल समृद्ध ? कसरी हुन्छन् नेपाली सुखी ? यस्तो बेथिति के आकाशबाट खसेको हो र ? के धर्तीबाट उब्जिएको हो र ? अवश्य हैन ।

तपाई हामीले निर्वाचित गरिपठाएका राजनीतिक दलका नेताहरूले नै भित्र्याएका हुन यी सबै बेथिति र विसङ्गति । त्यसैले अब मतदान गर्दा विवेकी बनौँ , बिचार पु¥याऔं, हाम्रो हैन राम्रो मान्छेलाई चुनौँ । सबैलाई उस्तै नदेखौँ । इतिहास हेरौँ, विगतमा कसले कस्तो भूमिका निर्वाह गरेको थियो ? विगतमा परीक्षण भइसकेका र नभएकाहरूलाई एउटै डालोमा नराखौँ । सकिन्छ असल मान्छेलाई चुनौँ, सकिँदैन खराब मा पनि कम खराबलाई चुनौँ । कम खराब र असल मान्छे देशको नीति निर्माण तहमा पुग्न सकेछन् भने तिनीहरूले कम से कम अहिलेको भन्दा बढी थप बेथिति निम्त्याउने छैनन् । भएको बेतितीलाई सकेसम्म न्यूनीकरण गर्नेछन् । आगामी निर्वाचनसम्म अहिलेको बेथिति कम भएको हुनेछ । यसपालिको निर्वाचनबाट खराब मा पनि कम खराबलाई चुनेछौ भने अर्को पटकको निर्वाचनमा असल मान्छे चुन्न सकिने मार्ग तयार हुनेछ । अर्को पटक चुनेका असल प्रतिनिधिहरूले अवश्य पनि देश र जनतालाई मन मुटुमा राखी आवश्यक विधि, नीतिको तर्जुमा गरी देशलाई साँच्चिकै उन्नत, समृद्ध र सुखी बनाउनेछन् । तब मात्र तपाई र तपाइका सन्ततिले निष्पक्षता, पारदर्शिता, सुशासन तथा सामाजिक मान प्रतिष्ठा र इज्जतका साथ शिर ठाडो गरेर यसै देशमा जीवन निर्वाह गर्न सक्नेछन् । 

मङ्सिर ४ मा गरिने मतदान एक छाक मासु भात खुवाएको बदलामा गरिने मतदान हैन, २/४ रुपैयाँको आर्थिक प्रलोभनमा परेर खाएको घुसको बदलामा गरिने मतदान हैन, होटेल र भट्टीमा पसी सेवन गरेको मदिरापनको गुन तिर्न गरिने मतदान पनि हैन, उम्मेदवारसँगको नाता सम्बन्ध हेरेर गरिने मतदान पनि हैन, पार्टीसँगको साइनो र चिन्ह सम्झेर गरिने मतदान पनि हैन यो त स्वच्छ सफा मनले देशको माटो र सन्तानको भविष्य सम्झेर गरिने महान् दान हो । सही उम्मेदवारलाई गरेको दानले मात्र पुुण्यप्राप्ति हुनेछ , पापबाट मुक्त भइनेछ , भ्रष्टाचार र कुशासनबाट मोक्ष प्राप्ति हुनेछ । अन्यथा सत्ता र स्वार्थको लागि नेताहरू बेथितिको आहालमा चुर्लुम्म डुबेजस्तै तपाई हामी पनि पापको आहालमा डुबेकै मानिनेछौ । असल मान्छे तपाइको नातागोताको नभए पनि, तपाईको जातिको नभए पनि, तपाईँको क्षेत्रको नभए पनि , तपाई संलग्न पार्टीको नभए पनि असल असल नै हुन्छ । खराब मानिस जतिसुकै र जुनसुकै तरिकाले तपाइको निकटको किन नहोस्, खराब खराब नै हुन्छ । खराबबाट असल कामको आशा राख्नु र असल बाट खराब कामको आशंका गर्नु भनेको हाम्रो संकिर्ण मानसिकता, साँगुरो सोच र व्यक्तिगत स्वार्थ सिवाय केही होइन । असलले कहिल्यै पनि थिति बिगार्ने प्रयास गर्दैन बरु व्याप्त बेथितिलाई आवश्यक सुधार सहित थिति र पद्धतिमा बदल्ने प्रयास गर्नेछ । विधि र पद्धतिमा आधारित शासन व्यवस्था नै अहिलेको आवश्यकता हो । राज्य संयन्त्रलाई सिस्टमभन्दा बाहिरबाट सञ्चालन गर्ने परिपाटीको अन्त्य हुनै पर्छ ।

घुसखोरी र आर्थिक लेनदेनका आधारमा राज्य संयन्त्रमाथि हुने हस्तक्षेपको अन्त्य हुनै पर्छ । नातावाद र कृपावादमा आधारित नियुक्ति पद्धतिलाई निर्मूल बनाउनुपर्छ । व्यक्तिगत र पार्टीगत स्वार्थको लागि गरिने राज्य संयन्त्रको दोहन बन्द हुनै पर्छ । जनताको ढाड सेखि स्वार्थ समूहको पक्षपोषण गर्ने परिपाटिको अन्त्य हुुनैपर्छ । यी सबै बेथितिको अन्त्यको लागि स्वच्छ, सफा, इमानदार, निस्वार्थ भावना भएको उम्मेदवार चाहिन्छ । भ्रष्टाचार गर्नुलाई आमाको रगत खाए सरहको पाप लागोस् भन्ने सोच भएको उम्मेदवार चाहिन्छ । कसैको मोलाहिजा, घुस कमिसन, आर्थिक प्रलोभन, व्यक्तिगत स्वार्थको प्रभावमा परेर काम गर्नुलाई अक्षम्य अपराध र पतित कार्य भनी सम्झिने उम्मेदवार चाहिएको छ । ‘राजनीति के जोगी बन्नलाई गर्ने हो र !’ भन्ने भाष्यलाई बदली ‘यदि म एक जना जोगी बन्दा मेरो देश समृद्ध र हराभरा हुन्छ भने म किन जोगी नबन्ने ?’ भन्ने भाष्य स्थापित गर्ने सोच भएको उम्मेदवारको खाँचो छ । यी र यस्तै सोच अनि गुण भएका उम्मेदवारलाई आगामी मङ्सिर ४ गते छान्न सकेछौ भने मात्र समृद्ध नेपाल र सुखी नेपाली बन्न सक्नेछन् ।

 माथि भनिएका सबै गुण सबै उम्मेदवारमा नहोलान् तर केही न केही गुण प्रत्येक व्यक्तिमा हुन्छन् नै । ती मध्ये बढी गुण भएको, सामूहिक सोच भएको, आग्रह पूर्वाग्रह नभएको भए पनि अरूभन्दा कम भएको, जनताका सबै प्रकारका समस्या बुझेको र समाधान पहिल्याउन अपनाउनु पर्ने प्रक्रिया र चाल्नुपर्ने कदमको बारे ज्ञान भएको, विकासका योजना छनौट गर्ने विधि र प्रक्रिया बारे जानकार भएको, देशमा प्रचलित नियम कानुन मध्ये कुन जनताको हितमा छन् र कुन नियम कानुनले जनतालाई अप्ठेरो पारिरहेछ भन्ने कुराको बोध भएको, आफ्नो विचार अरूमाथि लाद्ने भन्दा पनि अरूको राय सल्लाह धैर्यपूर्वक सुनी उपयोगी सुझाव ग्रहण गर्न सक्ने क्षमता भएको, सभ्य बोली र शिष्ट व्यवहार प्रदर्शन गर्न सक्ने प्रवृत्ति भएको उम्मेदवारलाई छनौट गर्न सकेछौ भने मात्र तपाई हामीले ५ वर्षमा एक दिन हाम्रो हातमा आएको शक्ति वा अधिकारको सही सदुपयोग गरेको ठहर्नेछ । अन्यथा देशलाई सतिले हैन तपाई हामीले श्रापेका हुनेछौँ । चेतना भया !

(लेखक देउवा डोटी बहुमुखी क्याम्पसमा प्रध्यापक हुन् । )