Close This

‘सुदूरपश्चिममा गठबन्धनको अवस्था बलियो छ’

बुधबार कार्तिक ३०, २०७९/ Wednesday 11-16-22
Paschim Today

चुनावको मौन अवधि सुरु हुन केही समयमात्र बाँकी रहँदा राजनीतिक दलहरु मतदाता रिझाउने अन्तिम कसरतमा छन् । विभिन्न ठाउँमा गठबन्धनको चुनावी कार्यक्रममा सहभागी भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग सुदूरपश्चिममा गठबन्धनको अवस्थालगायत विषयमा गरिएको संक्षिप्त कुराकानी :

चुनावी अभियानमा तपाइ केही ठाउँमा घुमेर पनि आउनु भयो, सुदूरपश्चिममा गठबन्धनको अवस्था कस्तो पाउनु भएको छ ?
सुदूरपश्चिममा गठबन्धनको अवस्था बलियो बनेको छ । नौवटै जिल्लामा गठबन्धन एकरुपताका साथ आफ्ना एजेण्डासहित अगाडि बढेको छ । यसले पनि सुदूरपश्चिममा गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ मजबुद परिणाम निकाल्न सक्ने देखिन्छ । नागरिकहरु बीचमा पनि गठबन्धनका नेता, कार्यकर्ता त्यसरी प्रचारमा गइरहेका छन् । विगतमा सुदूरपश्चिममा विकास हुन नसकेको अवस्थामा एकरुपताका साथ समग्र विकास गर्ने कुरा छ । सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारले पाँच वर्षसम्म गरेका कामहरु गाउँगाउँमा पुगेका छन् । कतिपय अधुरा कामहरु पूरा गर्नु छ । यी सबै अवस्था हेर्दा सुदूरपश्चिममा गठबन्धन निकै मजबुद देखिन्छ ।

निर्वाचनप्रति मतदातामा कत्तिको उत्साह देखिन्छ ?
मतदाता उत्साहितनै पाएको छु । विगतमा उम्मेदवार र दलहरुले निर्वाचनमा विभिन्न नारा र एजेण्डा लिएर जाने तर पछि त्यसअनुसार परिणाममुखी काम नभएको विषय उठीराखेको छ । त्यो सबैले सुनेका पनि छौँ । उम्मेदवारका प्रतिवद्धता र पार्टीका घोषणापत्र कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने नागरिकको आवाज छ । निर्वाचनका बेला जे बोलिन्छ, त्यो पूरा गर्नुपर्छ भन्ने जनतामा बुझाइ छ । यसले नागरिक सचेत भएको पनि देखिन्छ । जसले काम गरेर देखाएको छ, जसले आफ्ना एजेण्डा राख्न सक्छ, त्यसलाई मतदाताले विश्वास गरेका छन् । काम गर्नसक्नेलाई मत दिनुपर्छ भन्ने बुझाइ छ । अहिले गठबन्धनप्रति मतदाताले यस्तो आशा गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएकाहरुबाट गठबन्धनलाई कत्तिको चुनौती छ ?
स्थानीय तहको निर्वाचनमा केही ठाउँमा स्वतन्त्रप्रतिको आकर्षण बढेको हो । त्यो आधारमा अहिले पनि स्वतन्त्र र स्वतन्त्रको नाममा पार्टीबाट असन्तुष्टहरुले उम्मेदवारी दिएको देखिन्छ । केही विसुद्ध स्वतन्त्र पनि उठेका छन् । स्थानीय तहमा केही ठाउँमा स्वतन्त्र जित्नु र अहिले पनि केही ठाउँमा स्वतन्त्र उठ्नुले राजनीतिक नेतृत्वप्रति कहीँ आशंका पनि देखिन्छ । आफूले जनताको बीचमा ल्याएका कुराहरु विगतमा पूरा नभएका कारणले त्यसप्रतिको कहीँ न कहीँ आक्रोश देखिन्छ । त्यसमा स्वतन्त्रहरुले खेल्न खोजिराखेको स्थिति छ । तर संघर्ष गरेर इतिहास बनाएका पार्टीले गर्न नसकेको काम स्वतन्त्र व्यक्तिले गर्न सक्छ भन्ने हुँदैन । स्वतन्त्रले सार्ने सेन्टीमेन्टल कुराले केही ठाउँमा भ्रम पार्न खोजेको देखिन्छ । तर स्वतन्त्रले गठबन्धनको जितमा त्यतिधेरै अफ्ठेरो पार्दैनन् जस्तो लाग्छ ।
गठबन्धनमा एउटा पार्टीको मत अर्को पार्टीलाई नजाने संभावना कत्तिको देख्नु भएको छ ?
स्थानीय तहको निर्वाचनमा समयमा गठबन्धन नभएकाले त्यसको केही असर परिणाममा पनि देखियो । मनोनयन दिने समयसम्म पनि तालमेलको कुरा भइरहेको थियो । चुनावी तयारी गरिसकेको अवस्थामा पछि हट्दा केही न केही समस्या परेको हो । अहिले त्यस्तो अवस्था छैन । समयमै तालमेलका कुराहरु भए । सिट बाँडफाँडमा कहीँ असन्तुष्टि त छ तर पार्टीको निर्णय सबैले मानेर जानुपर्छ । इमान्दारितापूर्वक लागेमा गठबन्धनमा एकअर्काको मत जाने संभावना छ । अहिले निर्वाचनका सबै कार्यक्रम सँगै भइरहेकाले एकअर्कालाई मत नजाने अवस्था त्यतिधेरै आउँदैन । यसमा जिल्ला, केन्द्रको पार्टी नेतृत्व सचेत भएर जानुपर्छ ।

सुदूरपश्चिममा गठबन्धनले कस्तो नतिजा ल्याउला ? 
स्थानीय चुनावको मतपरिणा हेर्ने हो भने संघका १६ र प्रदेशका ३२ वटै क्षेत्रमा हामी अगाडि छौँ । अधिकांश ठाउँमा धेरै मतअन्तरले गठबन्धन अगाडि छ । केही ठाउँमा थोरै मतले अगाडि छ । त्यस्तो ठाउँमा गडबड पनि हुनसक्छ । तर गठबन्धन मजबुद बन्दा धेरै ठाउँमा जित्नसक्ने अवस्था छ । शतप्रतिशत नहुन पनि सक्छ तर अधिकांश ठाउँमा गठबन्धनले जित्छ । प्रदेशमा गठबन्धनले दुई तिहाइको बहुमत ल्याउनसक्ने अवस्था छ । संघमा पनि अधिकांश ठाउँमा जित्नसक्ने अवस्था छ ।

सुदूरपश्चिममा पाँचै वर्ष मेरो नेतृत्वमा, माओवादीको नेतृत्वमा सरकार चल्यो । अहिले माओवादी, काँग्रेस र समाजवादीको संयुक्त सरकारले गरेका कामहरु पनि जनताको बीचमा रहेकाले त्यो आधारमा पनि गठबन्धन मजबुद तरिकाले चल्न सक्छ भन्ने बुझिन्छ । हामीले सडक, स्वास्थ्य, सिँचाइलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेका छौँ । प्रदेश सरकारले गरेका कामका आधारमा पनि गठबन्धन जित्नसक्छ । तर सरकारले गरेका कामहरु हामी जनतामाझ कति लैजान सक्छौँ भन्ने पनि हो । प्रदेश सरकारले गरेका कामहरु गठबन्धनका सबै दलले जनताको बीचमा व्यापकरुपमा लैजानसके बढीभन्दा बढी सिट जित्न सकिन्छ ।