Close This

यू–१९ क्रिकेट अनुराग सिंहको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

सोमबार मङ्सिर ५, २०७९/ Monday 11-21-22
Paschim Today

कञ्चनपुर,५ मंसिर । काठमाडौँमा हुने वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले अनुराग सिंहको कप्तानीमा १८ खेलाडीको नामावली सार्वजनिक गरेको प्रादेशिक जिल्ला क्रिकेट सङ्घका कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । टिममा कैलास ऐर (उपकप्तान), सुनिल चन्द (विकेटकिपर), दीपक बोहरा (ए) दीपक बोहरा (बी), मिलन बोहरा, आकाश चन्द, गजेन्द्र बोहरा, हेमन्त धामी, अशोक धामी, नरेन साउँद, युवराज खत्री, विशाल ऐर र विपिन धामी रहेका छन् ।

वैकल्पिक खेलाडीमा सञ्जय बोहरा, वीरेन्द्र वम, दिनेश ओड र प्रदीप चन्द रहेका छन् । टोली प्रशिक्षकमा धीरेन्द्र चन्द रहेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घ अध्यक्ष वीरेन्द्र चन्दले बताए। 

“छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले टिम घोषणा गरेको हो”, उनले भने, “मङ्गलबार टोली काठमाडौँ प्रस्थान गर्नेछ ।” गत कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ८ गतेदेखि काठमाडौँमा वाईवाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।