Close This

तोसिमालाई बधाई दिँदै पम्फाले भनिन्, ‘सकारात्मक कार्यमा मेरो सहयोग रहनेछ’

बिहीबार मङ्सिर ८, २०७९/ Thursday 11-24-22
Paschim Today

काठमाडौं, ८ मंसिर । नेकपा माओवादी केन्द्रकी उपमहासचिव तथा तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीलाई बधाई दिएकी छन् । उनले कार्कीलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएकी छन् ।

उनले हरेक सकारात्मक कार्यक्रममा आफ्नो सहयोग रहने र जनताको साथमा रहने पनि प्रतिबद्धता जनाएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकी तोसिमा कार्कीलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ।

संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, समावेशी, समानुपातिक प्रतिनिधित्व लगायतका परिवर्तनलाई थप संस्थागत गर्दै जनताको आर्थिक उन्नति र देशको समृद्धिको लागि गरिने हरेक सकारात्मक कार्यमा मेरो सहयोग रहनेछ । निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्ति, गठबन्धनमा सहभागी दल, नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, प्रतिनिधि, पर्यवेक्षक साथै पत्रकार लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

मलाई विश्वास गरेर मत दिनुहुने जनताप्रति आभारी छु। यो निर्वाचनमा जनताले दिएको मतको हार्दिक सम्मान गर्दछु साथै ललितपुर -३ र सिङ्गो नेपालको विकास र जनताको समृद्धिको लागि सदैव यहाँहरूको साथमा हुनेछु।’