Close This

माओवादी नेताहरुको प्रतिक्रिया : चुनावमा कांग्रेसले धोका दियो

शुक्रबार मङ्सिर ९, २०७९/ Friday 11-25-22
Paschim Today

काठमाडौं, ९ मंसिर । सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ ।

चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा माओवादीलाई मज्जाले हराएको भन्दै आक्रोस पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सापकोटाले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताए ।

माओवादीसहित अरु दलले मत दिएपनि कांग्रेसले नदिँदा एमाले बलियो भएको सापकोटाले बताए । ‘हामीले कांग्रेसलाई मत दियौं, हामीलाई कांग्रेसले मत दिएन । गठबन्धनमा कांग्रेसले धोका दियो’  सापकोटाले भने, ‘गठबन्धन गरेर माओवादीलाई तात्विक रुपमा खास्सै फरक परेन । हाम्रो काँधमा चढेर कांग्रेस ठूलो भयो ।’ यस्तै माओवादी नेता गणेश साहले गठबन्धनको खास्सै औचित्य नदेखिएको बताए । अब गठबन्धन गरेर चुनाव जितिन्छ भन्ने गलत सावित गरेको साहले बताए ।

यस्तै माओवादी केन्द्रीय सदस्य दिनेश महर्जनले गठबन्धनमा कांग्रेसले धोका दिएकाले अबको ५ वर्ष माओवादी सरकारमा जानै नहुने बताए । ‘हामी सत्तामा बसियौ सरकारको नेतृत्व पनि गर्यौं’ महर्जनले भने, ‘अहिलेको चुनावमा जनताले प्रतिपक्षमै बस भनेर जनमत दियो ।  अबको ५ वर्ष सत्तामा नगएर पार्टी निर्माणमा लाग्नुपर्छ ।’

माओवादी चुनावी परिणामबाट सानो आकारमा तेस्रो शक्तिमा खुम्चिएपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ । अब पार्टीलाई कस्तो बनाउने र कस्तो नीति अख्तियार गर्ने भन्ने विषयमा नेताहरूले आ–आफ्नै सुझावहरू दिन थालेका छन् । गत बिहीबार पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले फेसबुकमार्फत पार्टीलाई बलियो बनाउन नौ बुँदे सुझाव दिएका छन् । अबको प्रतिकूलतामा चुनाव लडेर जित्न जमिनमा दाह्रोसँग खुट्टा टेक्नुपर्ने टिप्पणी गरे ।