Close This

साइपाल : सुदूरको सुन्दर गन्तव्य 

शनिबार पौष २३, २०७९/ Saturday 01-07-23
बसन्तप्रताप सिंह 

बझाङ,२३ पुस । ‘इट्स इनक्रेडिबल ब्युटिफुल बट मस्ट टेक्निकल’ लगातार १४ दिनको प्रयास पछि साइपाल हिमाल आरोण गर्न असफल भएका स्पेनका आरोही डा. जर्ज इगोचेएगाले गत कार्तिकको अन्तिम हप्ता पत्रकारसंग भने ‘इट इज च्यालेन्ज फर द वल्र्ड’ । डा. जर्ज विश्व हिमाल आरोहणको क्षेत्रमा प्रख्यात नाम हो ।

उनी संसारका आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुुक रेकर्डधारी मध्ये एक हुन । उनी संगै साइपाल पुगेका स्पेन, अमेरिका, इटाली, क्यानाडा लगायतका देशका आरोहीहरु साइपाल चढ्न नसके पनि यस क्षेत्रको सुन्दरताले आफूहरुलाई लठ्याएको बताए । ‘यहाँको सुन्दरता शब्दमा बयान गर्न सकिदैन’ स्पेनका चिकित्सक समेत रहेका हिमाल आरोही जेफ हवेनले भने, ‘यती चै ढुक्कले भन्न सकिन्छ कि यति सुन्दर हिमाल विश्वमा कमै होलान ।’

साइपाल हिमाल आरोहणका दृष्टिले धेरै कठिन भए पनि यसको आर्कषक बनावट जोकोहीलाई पनि मन्त्रमुग्ध पार्ने खालको भएको त्यहाँ पुगेकाहरु बताउछन । आधार शिविर सम्म पुग्ने मार्गमा रहेका झरनाहरु, तालतलयैया तथा नदीनालाहरु, विभिन्न खालका रंगिविरंगी फुलले ढाकेका पाटनहरु र भौगोलिक तथा जैविक विविधताको अनुपम संयोजनले यो क्षेत्र आरोहीका लागि मात्र नभएर पदयात्रीका लागि समेत नौलो अनुभव दिलाउने खालको रहेको छ ।

 

बझाङ सदरमुकाम चैनपुरबाट १८ किलोमिटर जिपको यात्रा पछि लगातार चार देखि पाँच दिन सम्मको पैदलयात्रामा साइपाल हिमालको आधार शिविर सम्म पुग्न सकिन्छ । सेती नदीको किनारै किनार साइपाल गाउँपालिकाको धलौन सम्म पुगे पछि समुन्द्र सतह देखि ३ हजार तिन समय मिटरको उचाईमा रहेको रस्यालेक पार गर्नु पर्छ । त्यहाँबाट २ घण्टाको ओरालो झरे पछि सेतीको मुख्य सहायक नदी घाटगंगाको किनारै किनार साइपाल बेसक्याम्प सम्म पुग्न सकिन्छ । समुुन्द्र सतह देखि करिब ४ हजार मिटरको उचाईमा रहेको आधार शिविरबाट आँखै अगाडी साइपाल हिमाल र यो श्रृङखलामा रहेका दर्जनौ साना चुचुराहरुको दर्शन गर्न पाइन्छ ।

उचाईका हिसाबले पनि धेरै नभएको र बाटो पनि निकै सजिलो भएका कारण यो क्षेत्र हिमाल आरोहीका लागि मात्र नभएर भ्रमणको आनन्द लिन ईच्छुक जो कोहीका लागि पनि आर्कषक गन्तव्य हुन सक्ने यहाँ पुग्नेहरु बताउछन । सदरमुकाम चैनपुर देखी साइपाल हिमालको आधार शिविर सम्म पुग्ने बाटोमा पहिन विभिन्न दर्शनिय ठाउँ र गन्तव्यहरु छन । जिल्लाकै आर्कषक झरना मध्येको एक ढाँकी छडा झरना पनि यही बाटोमा पर्दछ । यस बाहेक किनाडा झरना, दोतले झरना, औलागाड झरना पनि यो पदयात्रा मार्गका आर्कषण हुन । डाँफे, मुनाल जस्ता चराचुरुङी तथा नाउर र झारलका बथानहरुको प्रत्यक्ष अवलोकन गर्ने मौका यो बाटो हिड्नेले सजिलै पाउने गरेको यस क्षेत्रका बासिन्दाहरु बताउछन । हिमाली क्षेत्रमा पाईने विभिन्न खालका जडिबुटी र बनस्पतिहरुले पनि यो यात्रालाई थप रोमाञ्चक बनाउने गरेका छन ।

हिमाली जनजीवन, देउडा संस्कृती, र यहाँको प्राकृतिक वातावरणलाई समेत जोडेर साइपाल सर्किट (पदयात्रा मार्ग) को विकास गर्न सके यसले सुदूर पश्चिमको समृद्धिका लागि ठुलो भूमिका खेल्न सक्ने पर्यटन क्षेत्रका जानकारहरु बताउछन । २८ पटक भन्दा बढी नेपाल आए पनि पहिलो पटक साइपाल क्षेत्रमा पुगेकी आठ हजार मिटर भन्दा माथिका सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला स्पेन कै एडुुर्ने पासावनले यहाँको वातावरणले आफुलाई लोभ्याएको बताएकी थिइन । ‘नेपालमा अन्त कतै नभएको प्राकृतिक सुन्दरता यहाँ भेटें’ उनले भनिन ‘सबै भन्दा महत्वपुर्ण कुरा यहाँका स्थानियले अहिले सम्म पनि नेपालीपन जोगाएर राखेका छन ।

खेतीपाती लगाउने परम्परागत तरिका, लवाई खवाई, स्वार्थ विनाको आत्मियताले मलाई यो क्षेत्र खास नेपाल जस्तो लाग्यो’ उनले यस क्षेत्रको जानकारी गराउन सके यहाँ आउनका लागि विश्व जगत लालायित हुने वताएकी थिइन । साइपाल हिमाल आरोहणको कथालाई आधारबनाएर डकुमेन्ट्री फिल्म निर्माण गरिरहेका रारा फिल्मसका प्रमुख भोजराज भाटले साइपाल हिमाल र यहाँ सम्म पुग्ने पदमार्गको सुन्दरता विश्वजगतलाई पुलकित पार्ने खालको रहेको बताए । पाँच पटक भन्दा बढी साइपाल आधार शिविर र आसपासका ठाउँको यात्रा गरिसकेका उनले भने ‘साइपाल लुकेको सुनको टुक्रा हो । यसको प्रचार प्रसार र प्रर्वद्धन गर्न सके विश्वभरका पर्यटकहरुको आर्कषणको केन्द्र बन्नेमा कुनै शंका छैन’ उनले धेरै सम्भावना हुदा हुदै पनि सरकारी क्षेत्रको उपेक्षाका कारण साइपाललाई विश्वले चिन्न नसकेको बताए ।

विश्वकै सुन्दर गन्तव्यमा दर्ज हुने सम्भावना भएको भए पनि सरकारले यसको प्रर्वद्धनमा भुमिका नखेलेको आरोप लागि रहेको प्रदेश सरकारले भने यसलाई उच्च प्राथमिकतामा राखेको बताएको छ । सुदूरपश्चिम प्रदेशकी उद्योग, वन तथा पर्यटन मन्त्री माया भट्टले साइपालको प्रर्बद्धनका लागि बृहत योजना ल्याउने तयारीमा आफूहरु लागिरहेको बताईन । उनले भनिन ‘साइपाल यस प्रदेशको मात्र नभएर देश कै ठुलो गन्तव्य हुने सम्भावना भएको हिमाल हो । यस क्षेत्रको पर्यटन विकास र प्रबृद्धनको लागि हामीले अध्ययन गरिरहेका छौ’ उनले साइपाल क्षेत्रको बृहत्तर पर्यटन विकासको लागि प्रदेश सरकारले योजना ल्याउने बताईन ।

आरोहणमा विश्वलाई चुनौती

पर्यटक लोभ्याउने खालको सुन्दर र मायावी शक्ती भएको साइपाल हिमाल आरोहणको लागि भने निकै कठिन भएको कुरा विख्यात आरोही जर्जले बताईरहदा उनको भनाईमा सही थाप्दै आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला स्पेन कै एडुुर्ने पासावनले भनिन ‘दक्षिणी मोहडाबाट साइपाल आरोहण असम्भव नै छ भनेर त भन्दिन । तर यो काम धेरैको वस भन्दा बाहिर छ’ उनले साइपाल हिमाल आफुले चढेका सबै हिमाल भन्दा कठिन भएको पाएको बताईन । कुराकानीका क्रममा यि दुबै आरोहीले साइपालको असफल आरोहण आफुहरुको लागि मात्र नभएर विश्व आरोहण क्षेत्रकै चुनौती भएको बताए । आफ्नो आरोहण दलमा रहेका १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पा सहितका ५ जना अनुभवी शेर्पाहरुको र अन्य १० जना विदेशी आरोहीहरुले समेत साइपाल चढ्न नसके पछि यि चर्चित आरोहीले यस्तो बताएका थिए । सात हजार ३१ मिटर अग्लो यो हिमालको दक्षिणी मोहडाबाट आरोहणको असफल प्रयास गर्ने यो टोली पहिलो भने होइन ।

गत कार्तिक महिनामै अमेरिकी नागरिक र्फोरेस्ट सि कोट्सको नेतृत्वमा रहेको टोलीले पनि साइपाल आरोहण गर्न नसकी फर्किएको थियो । आरोहण दलका सदस्य मध्ये ट्यालेर जोन र वेनार्ड स्ट्राग्लेवस्की ६ हजार ७ सय मिटर सम्म पुगेको थिए । यो टोलीले २५ दिन सम्म साइपाल चढ्ने प्रयास गरेको थियो । यस अघी पनि थुप्रै पटक साइपाल हिमाल आरोहणको प्रयास भएको रेर्कडहरु भेटिन्छ । सन् १९५३ मा अष्ट्रियन नागरिक डा. हर्बट टीचीले पहिलोपटक दक्षिणी मोहडा (बझाङतिर) बाट साइपाल चढ्ने पहिलो प्रयास गरेका थिए । उनी सफल हुन सकेनन् । १९५४ मा अष्ट्रियाकै डा. रुडल्फ जोनासले पनि साइपाल आरोहणको असफल प्रयास गरेका थिए । यतिसम्म कि, उनका टीम सदस्य कार्ल रेइसले आरोहण प्रयास गर्ने क्रममा ज्यान समेत गुुमाउनुुप¥यो । सन् २०१० मा फ्रान्सेली प्रख्यात आरोही पाउलो ग्रोबरले उत्तरी मोहडाबाट चढ्ने प्रयास गरेका थिए तर प्रतिकूूल मौसमका कारण सफल हुुन सकेनन् । ६५०० मिटरको सानो चुुचुरोबाट फोटोग्राफी गरेर फर्किए । अहिलेसम्म साइपालको सबै भन्दा उचाइबाट लिइएको भनेर इन्टरनेटमा भेटिने तस्बिर पाउलो ग्रोबरकै टीमले खिचेका हुन् ।

तर विदेशी पर्वतारोहीको व्यक्तिगत रेकर्डमा साइपाल हिमाल उत्तरी मोहडाबाट जापानका कात्सुतोसी हिराबासी र नेपाली शेर्पा पासाङ फुुतुरले साइपालको सफल आरोहण गरेको कुराहरु इन्टरनेटमा भेटिन्छन, उनीहरुले २१ अक्टोबर १९६३ मा सफल आरोहण गरेका थिए रे । यद्यपि, नेपाल सरकारसंग यसको कुनै आधिकारिक तथ्यांक छैन । त्यसपछि पनि विभिन्न प्रयासहरु भएका छन । तर कोही पनि आरोहण गर्न सफल भएनन । ‘साइपाल हिमालको बनावट एकदमै कठिन खालको छ ।’ पेछोम्बे शेर्पाले भने ‘६० डिग्री भन्दा बढी भिरालोपन रहेको यो हिमाल चढ्न निकै ठुलो जोखिम छ ।’ निरन्तर जसो बहिरहने वेगवान हावा र अप्रत्यासित तरीकाले हुने मौसमको बदलीले पनि साइपाल हिमाल आरोहणलाई थप चुनौति पूर्ण बनाएको उनको निष्र्कष छ ।

अलग्गै साइपाल

नेपालको हिमालय श्रृङखला उत्तरी सिमास्तम्भको रुपमा रहेको छ । सुदूर पुर्वमा पर्ने कञ्चनजंघा देखि सुदूर पश्चिमको दार्चुलामा पर्ने अपि हिमालले नेपाल र चीनको तिव्बत दुबै देशलाई छोएर बसेका छन । यद्यपि साइपाल हिमाल यो विशाल हिमश्रृङखला भन्दा भिन्न भएर दक्षिण पश्चिम फैलिएको छ । साइपाल हिमश्रृङखला नेपालको अन्य हिमश्रृङखला भन्दा करिब ४७ किलोमिटर वर दक्षिण पश्चिम फैलिदै नेपालकै हुम्ला र बझाङ जिल्लाको सिमानाको काम गरेको छ । यस श्रृङखलामा भुजेडी, राइढुङ्गी, माँजा, रानीसैना, मडुङग्रा लगायतका एक दर्जन भन्दा बढी साना ठुला चुचुरा रहेका छन । स्थानियहरुले साइपाल र आसपासका चुचुराहरुमा लाँगा, वाँठपाला, भवानी लगायतका देविदेवताको वासस्थान रहेको विश्वासका साथ भक्ति पूर्वक पुजा आजा समेत गर्दछन ।