Close This

धनगढीको विकासका साक्षीहरु

सोमबार पौष २५, २०७९/ Monday 01-09-23
Paschim Today

दीर्घराज उपाध्याय,
साथमा बीर बहादुर सिंह

धनगढी,२५ पुस । पाँच दशकअघिसम्म मलेरिया र औलो प्रभावित क्षेत्रका रुपमा चिनिने र मान्छेहरु बस्न डराउने धनगढी पाँच दशकको अबधिमा सुदूरपश्चिम प्रदेशको राजधानी मात्र बनेन । सुदूरपश्चिमका पहाडसंगै नेपालका अन्य भूभागका बासिन्दाका लागि समेत सुरक्षित र आकर्षक व्यवसायीक केन्द्रसमेत बनेको छ ।

पाँच दशकअघि सुनसान धनगढी यतिबेला सुदूरपश्चिमकै गुल्जार शहर बनेको छ । यहाँ व्यापार र बसाई सराई गरेर अन्यत्रबाट मान्छेहरु आउने क्रम तिब्र भएकै कारण धनगढी नेपालको महंगो शहर समेत भएको छ । यहाँको आकाशिएको जग्गाको मूल्य कोभिड १९ बाट समेत प्रभावित भएन ।

पाँच दशकअघि सडकको ट्रयाक समेत नभएको धनगढीको मूल सडक यतिबेला सय फिट चौडा हुदैछ । धनगढी-अत्तरीया जोड्ने सडक ६ लेनको भईसक्यो ।पाँच दशकअघि एउटा मेडिकल पसल र विद्यालय नभएको धनगढीमा हरेक वर्ष सुबिधा सम्पन्न अस्पताल र विद्यालयहरु खुल्नेक्रम जारी छ । सुबिधा सम्पन्न मेडिकल कलेज सञ्चालनमा आउने क्रममा छ ।

आजको अंकमा उहिलेको धनगढी कस्तो थियो ? आजको धनगढी बन्न कति दशक लाग्यो ? धनगढीको विकास क्रमलाई नजिकबाट हेरेका ती पाका मान्छेहरुसंग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौ, जो धनगढीका विकासका साक्षी हुन् ।

तिनै मध्येका एक हुन्, डा. शिवदत्त जोशी । ५५ वर्षअघि वि.स.२०२४ सालमा धनगढीमा डा. जोशीले खोलेको मेडिकल यो क्षेत्रकै पहिलो निजी मेडिकल थियो ।

वि.स.१९८८ साल मंसिर २३ गते बैतडीको शेरामा जन्मिएका जोशी कैलाली कञ्चनपुरका शिक्षा,स्वास्थ्य, राजनीति र यहाँको विकासका साक्षी हुन् । र हुन् उनी राणा शासन,पञ्चायती व्यवस्था, प्रजातन्त्र, गणतन्त्र र हरेक परिवर्तनका साक्षी । उनले राणा शासन देखे । २००७ साल देखे । २०१५ को मुलुकको पहिलो संसदीय निर्वाचनलाई नजिकबाट महशुस गरे । २०३६ को जनमत संग्रह अझै बिर्सिएका छैनन । २०४७ को प्रजातान्त्रिक आन्दोलन उनको आँखामा अझै ताजै छ । त्यसपछि १० वर्षे सशस्त्र संघर्ष, २०६२/६३ को जनआन्दोलन त पनि उनले नजिकबाट हेरे ।

भारत सरकारले प्रदान गर्ने कोलम्बो प्लानको छात्रबृतिमा उनी चार वर्षे आयुर्वेदाचार्य व्याचलर अफ मेडिकल सर्जरी(एएमबीएस) पढाई पुरा गरेका जोशीले सरकारी जागीर छोडेर निजी मेडिकल खोलेका थिए । उनी यतिबेला ९१ वर्षका भए । हामीले केही समयअघि उनीसंग यहाँको ईतिहास र उनकै बारेमा कुराकानी गरेका थियौ । उनीसंगै धनगढीका विकास नजिकबाट देखेका व्यक्तिहरुसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।

डा. शिवदत्त जोशी, जोशी मेडिकल  

उहिलेको धनगढी

राणा शासन कालमा कैलाली र कञ्चनपुर एउटा गोश्वारा थियो । जिल्ला भईसकेका थिएनन । कैलाली कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो । त्यही कारण त्यतिबेलाको प्रशासनिक केन्द्र बेलौरी थियो । वि.स.१९९७ मा सदरमुकाम धनगढी सारियो । र धनगढीमा बेलौरीबाट सरकारी कार्यालयहरु पनि सार्नेक्रम त्यही बेला शुरु भयो ।

कैलाली र कञ्चनपुर गोश्वाराको जनसंख्या ५० हजार जति थियो । २०१५ सालको निर्वाचनमा यहाँबाट लोकेन्द्र बहादुर शाहले चुनाव जिते । २०१९ सालमा जिल्ला बिभाजन भयो । कैलाली र कञ्चनपुर अलग भए । 

२०२० सालतिर धनगढीमा पाँचवटा मात्र घर पक्की थिए । जताततै जंगल थियो । अस्पतालका दुई वटा साना पक्की भवन थिए । गोश्वारा, अञ्चलाधिशको आवास, कारागार, वन बिभागको एउटा घर र माल अड्डा(मालपोत कार्यालय) का गरी जम्मा पाँच वटा पक्की घर थिए । केही फुसका घर थिए । जताततै जंगल । रुख काटेर चार खामा गाड्यो । माथि फुसले छायो । घर तयार भयो । घरको छाना नाम मात्रको हुन्थ्यो । भित्ता हुन्थेन । बिजुली वत्तीको त कसैले कल्पना पनि गर्थेन । मट्टितेल हालेर टुकी बाल्यो । बिजुली पनि होला भन्ने सोचेका पनि थिएनन । अहिलेको व्यस्त धनगढीको मुल सडकमा त्यतिबेला दिउसो एक्लो हिड्न डर हुन्थ्यो । अस्पताल नाम मात्रको थियो । जहाँ उपचारका लागि जानु भनेको मर्नु थियो । उपचार गर्न ल्याईएकाहरु पनि अन्तिम अवस्थामा ल्याइएका हुन्थ्यो । अस्पतालमै अधिकांशको मृत्यु हुन्थ्यो । मृत्यु भएपछि गाड्न धेरै टाढा पनि लग्थेनन । जताततै लाश गाडिएका हुन्थे । अहिलेका कतिपय वस्ती उहिले चिहानघर थिए । गाँउबाट लडियामा बिरामी आउथे । जमिन्दारहरु हात्तीमा चढ्थे । उनीहरुको सामान लडियामा आउथ्यो । मोहना नदी तर्न हात्ती पर्खिनु पथ्र्यो । हात्तीको तर्ने बेला मोहना पुग्नुपथ्र्यो । जो त्यो बेला पुग्यो, उ हात्तीमा तरेर पारी जान्थ्यो । बर्खामा मोहना नदी तरेर पारी जान सकिदैनथ्यो ।

धनगढी बजार अहिले जस्तो थिएन । सडकको ट्रयाक खोलिसकेको थिएन । बाटोमा जताततै खाल्डाखुल्डी । बर्खामा हिलो । हिउँदमा धुलो । जताततै जंगल भएका कारण धनगढीकै एक ठाउबाट अर्को ठाउ जादा डर हुन्थ्यो ।

धनगढीको पुरानो बजार हालको मस्जिद र शिवमन्दिर क्षेत्र हो । मस्जिदको गल्लीमा मुसलमान व्यापारी थिए । र शिवमन्दिरको गल्लीमा हिन्दु व्यापारी । पछि त्यहाँबाट बजार विस्तार हुदै गयो । उनी भन्छन्, अहिलेको चौराहा त त्यतिबेला केही थिएन ।  धनगढीमा मान्छे थिएनन । मान्छे नभएपछि व्यापार हुने कुरै भएन । एक जना भारतीय व्यापारीको सानो पसल थियो, उनी ३० को दशक सम्झना सुनाउछन्, उनले बरेलीबाट चामल, आटा र अरु सामान ल्याउथे । उनले पसल खोले सामान पाईन्थ्यो, नत्र पाईदैन थियो । शिव मन्दिरको छेउमा एक लालाको पसल थियो । जो हप्तामा एक दिन लखनउ जान्थे । र त्यहाँबाट ल्याउथे,दुई टोकरी फलफुल र तरकारी । धनगढीमा त्यही एउटा पसल थियो । तरकारी र फलफुल पाउने । तरकारी पनि हप्तामा एक दिन मात्र खान पाईन्थ्यो । 

तरकारी झै दुध पनि दुर्लभ थियो । धनगढीमा एउटा गोरे होटल थियो । डडेल्धुराबाट झरेका गोरेले एउटा भैसी पालेका थिए । दुध दही त्यतिबेला कोही खादैनथे । दुध खाए मलेरिया हुन्छ भन्ने डर थियो । दुध चियाका लागि मात्र प्रयोग हुन्थ्यो । र चियाका लागि दुध किन्नु परे गोरेको घरमा पुग्थे । दुध किन्ने त थपिए । तर गोरेको भैसी थपिएन । पछि धनगढीमा उनकै सिको गरेर अरुहरुले पनि भैसी पाल्न थाले । जसलाई गोरेले नै पहाडबाट धनगढी ल्याएर बसाएका थिए । यसरी धनगढीमा भैसी पाल्ने र दुध बिक्री गर्ने चलनको शुरुवात भयो । 

जुगेडा, फुलवारी पनि घनघोर जंगल थियो । लालझाडी चारकोशे झाडी । धनगढीमा वस्ती बस्न शुरु भयो,२०२४/२५ सालतिर । २०३६ सालतिर पहाडमा भोकमरी भयो । धमाधाम मान्छेहरु तराई झर्न थाले । पूर्वबाट पनि आए । आसाम र बर्माबाट लखेटिएर नेपालीहरु आए । त्यसपछि जंगल फाड्ने क्रम तिब्र भयो । पुनर्वास गरिएका जनतालाई सरकारले दुई वर्षसम्म पौष्टिक आहार दिएर पाल्यो । 

उहिले पैसाको महत्व 

उहिले मान्छेसंग साईकल हुन्थेन । रेडियो सिमित व्यक्तिसंग हुन्थ्यो । रेडियोका लागि पनि लाईसेन्स लिनुपथ्र्यो । त्यतिबेला टिभीको त कसैले पनि कल्पना गरेका थिएनन । तर मान्छेले अहिले मोटरसाईकल,कार, हेलिकोप्टर हुदै प्लेन समेत किनि सकेका छन् । ५० को दशकमा मैले टेलिभिजन किने । महाभारत र रामायण हेर्न मेरो घरमा सिनेमा हलमा झै भीड लाग्थ्यो । छिमेकी र बजारका मान्छे महाभारत र रामायण हेर्न आउथे । 

२०२४/२५ सालतिर डेढ सय रुपैयामा एक तोला सुन पाईन्थ्यो । २०३० सालसम्म ८० रुपैयामा एक हजार ईटा पाइन्थ्यो । प्रति क्विन्टल सरियाको मूल्य ८० रुपैया पथ्र्यो । र, सिमेण्टको प्रति १५ रुपैयामा पाईन्थ्यो । २०१८ सालमा १० बिगाहा जग्गा मैले पाँच हजार रुपैयामा किनेको हूँ । अहिले धनगढीमा जग्गाको मूल्य छोई नसक्नु छ ।  

जमिन्दारको बोलवाला

४० को दशकसम्म कैलालीका बिभिन्न भागमा जमिन्दारको शासन चल्थ्यो । जमिन्दारले जे चाह्यो, त्यो गर्थे । नियम,कानुन, प्रहरी, प्रशासन उनीहरुका अगाडि नाम मात्रका थिए । यद्दपि केही जमिन्दारहरु राम्रा पनि थिए । धनगढीमा डिल्लीराज भण्डारी,श्रीपुरमा चेतराज पन्त,बसौटीमा देशराज महतो, छिमानन्द महतो कहलिएका जमिन्दार थिए । कतिपय जमिन्दारको नाम उनी बिर्सिसके । अधिकांश जमिन्दारसंग हात्ती थिए । उनीहरु कही जानु पर्दा हात्तीमा जान्थे । कतिसम्म भने, देशराज महतो र छिमानन्द महतो दुधुवा नेशनल पार्कमा जादा रेल रोकिन्थ्यो । देशराजले उर्दी गर्थे, गार्ड से कहेदेना रेल दो घण्टा लेट चलेगी । यस्ता थुप्रै किस्सा छन्, जमिन्दारहरुका ।  देशराज महतोको चर्चा लखनउसम्म हुन्थ्यो । धनगढी र आसपासका थारु गाँउहरुमा महाजन हुन्थे । हरेक गाँउमा एक महाजन । जो भारतीय मुसलमान थिए । उनीहरु व्यापारका लागि वस्ती–वस्तीमा पसेका थिए । वर्षभरी उनीहरुले जमिन्दार तथा किसानलाई भने जति सामान दिन्थे । र एकै पटक पैसा उठाउथे । पैसा दिन नसक्नेले उनीहरुलाई आफ्नो जमीन दिन्थे । त्यो जमिन अरुलाई बेचेर उनीहरु आफ्नो पैसा असुल गर्थे । ती महाजनहरु भूमि सुधार लागु भएपछि फिर्ता भए । 

अंग्रेजले सुदूरपश्चिमको जोगबुढासम्म रेलको लिक पु¥याएका थिए । यहाँको सालको काठ ओसार्न रेलको लिक बिछ्याईएको थियो । धनगढीमा पनि रेलको लिक थियो । भारतबाट अंग्रेजीहरु लखेटिएपछि यहाँको रेलको लिक हटाईएको थियो ।

सामाजिक संघसंस्थाको स्थापना

मेरो नेतृत्वमा नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा २०२७ सालमा भयो । जसको सभापति २०३७ सम्म रहे ।  २०४२ सालमा अपांग संघ खुल्यो । खेमराज शाही त्यसको पहिलो सभापति रहे । शाही जिल्ला पञ्चायतका सदस्य थिए । सामाजिक संस्थामा पञ्चायती व्यवस्थाका सहयोगी बाहेक अरुले नेतृत्व गर्न पाउथेनन । उनको पृष्ठभूमि पञ्चायती व्यवस्थाको सहयोगी थिएन । २०५० सालमा मेरो नेतृत्वमा नेत्रज्योती संघको स्थापना भयो ।

धनगढीमा शैक्षिक संस्थाको शुरुवात

२० को दशकसम्म धनगढीमा विद्यालय खुलिसकेका थिएनन । दुई वटा भाषा पाठशाला थिए । एउटा भाषा पाठशाला हालको नैनादेवी मन्दिरको छेउमा थियो । मन्दिर छेउमै रुख थियो । त्यही रुखको मुन्तिर फुसको छानो थियो । विद्यालय भने पनि भाषा पाठशालाको हविगत यस्तो थियो । 

२०३३ सालमा धनगढीमा पहिलो निजी विद्यालय ऐश्वर्य विद्या निकेतन सञ्चालनमा आयो । २०३७ सालमा कैलाली बहुमुखी क्याम्पस स्थापना भयो । कोषाध्यक्ष थिए, तोलाराम दुगड । दुगड यहाँका ठूला गल्ला व्यापारी थिए ।

सुनिल भण्डारी

नेता, नेपाली काँग्रेस

म उर्माको बिउसाहामा २००५ सालमा जन्मिए । बिउसाहा र धनगढीमा हाम्रो परिवारको जमिन्दारी थियो । बिउसाहाबाट भैसी र गोरु गाडा र लहरुमा धनगढी आउथ्यौ । घोडा चढेर हामी कैयौ पटक धनगढी आयौ । धनगढी आउदा बाटोमा घनघोर जंगल पथ्र्यो । बाटोमा जंगली जनावर र डाकाको डर हुन्थ्यो । अहिले जस्तो बाटो बनिसकेको थिएन । जंगलको भित्रभित्रै जहाँबाट हिड्यो । पछि त्यही बाटो बन्थ्यो ।

२०२० सालसम्म धनगढी जंगलले घेरिएको थियो । यो बजारका रुपमा बिकसित भईसकेको थिएन । दिउसै एक्लो हिड्न डर लाग्थ्यो । घरहरु पनि खासै थिएन । केही फुसका घरहरु थिए । अस्पताल, सिडिओ अफिस लगायत ३/४ वटा पक्की घर थिए । बेलौरी र भजनीमा बजार थियो । चौमाला,मालाखेती, सत्ती, मुडामा मण्डी थिए । २०१५ सालसम्म अघि कैलाली र कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो । ७५ वटा जिल्लामा बनाएपछि मात्र कैलाली र कञ्चनपुर अलग भयो । र, कैलालीको सदरमुकाम धनगढी भयो । र, बेलौरीका सरकारी कार्यालयहरु धनगढी सारिए । त्यसअघि धनगढीमा हटिया चल्थ्यो । नुन, गुड, कासका भाडा, कपडाको हाट लाग्थ्यो । पहाडबाट पनि सामान किन्न हटियामा आउथे ।

२००७ सालअघि हाल मस्जिद रहेको क्षेत्रमा केही पसलहरु थिए । जसमध्ये एउटा पसल काशेपुरेको थियो । भारतको काशीपुरबाट आएको हुनाले उसलाई काशिपुरे भनेर चिन्थे । स्थायी पसलहरु थिएनन । भारतको बिभिन्न शहरबाट व्यापारीहरु खेती काट्ने सिजनमा आउथे । र, उनीहरु सामानसंग तोरी साटेर लग्थे । भारतको बरेली लगायतका क्षेत्रबाट आउने महाजनहरुले खेतीका लागि पहिले नै लगानी गर्थे । र, खेती काट्ने समयमा उनीहरु गाँउमै आईपुग्थे । र, लगानी वाफतको अन्नबाली उठाउथे ।

गौरीफन्टामा राम अवतारको मिल थियो । तिकुनियामा त्यस्तै अर्को मिल थियो । यहाँका किसानहरु त्यही गएर धान गहुँ बेच्थे ।

कैलाली नाला र मोहना नदीमा पुल लिएन । २०१० सालपछि मोहना नदीमा पुल बनेको हो । सीमावर्ती भारतीय बजार गौरीफन्टासम्म भारतीय रेल चल्थ्यो ।

धनगढीमा सरकारी विद्यालयहरु थिएनन । जमिन्दार र हुने खाने परिवारका सन्तानहरु पिलिभित, बरेली, लखनउ, नैनिताल पढ्न जान्थे ।

धनगढीमा २००७ सालअघि नै ब्रिटिस ट्याक्टर भित्रिए । हाम्रो परिवारसंग पनि मार्सल भन्ने ट्याक्टर थियो । मोटरसाईकल २०२० सालपछि धनगढी देखिन थाले । जिल्ला विकास समितिसंग एउटा मोटरसाईकल थियो । तर कसैलाई चलाउन आउदैनथ्यो । त्यो मोटरसाईकल कर्मचारीसंग मागेर मैले चलाएको छु ।

२०२० सालअघिको धनगढी र अहिलेको धनगढीको तुलना हुदैन । धनगढीले विकासमा ठूलो फड्को मारेको छ ।

ओमप्रकाश अग्रवाल, बरिष्ठ उद्योगपति

बि.स २००९ साल कार्तिकमा झापामा मेरो जन्म भएको हो । हाम्रो परिवार व्यापारको सिलसिलामा २०३७ सालमा धनगढी आएको हो । त्यति बेला धनगढीमा सानो बजार थियो उद्योगधन्दा थिएनन । अहिलेको जस्तो सडक थिएन । सवारी साधनहरु छिटफुटमा देखिन्थे । त्यति बेला यहाँ खासै उब्जनी हुदैन्थ्यो । बाहिरबाट किनेर ल्याएर खानु पथ्र्यो । त्यो बेला धनगढीमा त्यति बजार नहुँदा सामानहरु किन्न पनि भारत जानुपथ्र्यो । त्यो बेला यता उता जान सवारी साधनहरु पनि थिएनन । जता गए पनि हिँडडुल गरेर पुग्नु पथ्र्यो । अहिले सबैका घर घरमा ठूला ठूला गाडीहरु छन  । ठूला ठूला घरहरु बनेका छन् । करिब ४० वर्ष अघिको धनगढी र अहिलेको धनगढीमा धेरै फरक छ । अझै भन्ने हो भने जुन ४० वर्षसम्म विकास हुनुपर्ने हो त्यो अझै भने हुन सकेको जस्तो लाग्दैन् । सीमावर्ती भारतीय बजारहरु भन्दा धनगढीको विकास तिब्र गतिमा भएको छ । त्यतिमात्र होईन, धनगढीका मान्छेहरुको जीवनशैली छिमेकी भारतका शहरका उच्च स्तरको छ ।

राजकुमार अग्रवाल, बरिष्ठ उद्योगपति

१९९४ मा भद्रपुर जन्मिएका राज कुमार २०३६ सालमा धनगढी पुगे । उनले धनगढीमा सुरुमा ठेकेदारीको काम सुरु गरे । केहि वर्षपछि चित्रराज पन्तको जग्गा भाडामा लिएर धान चामलको गल्ला सुरु गरे । अहिले राज कुमारको नेतृत्वमा थुप्रै उद्योगहरु सञ्चालनमा छन् । राइस मिल मैदा मिल सञ्चालनमा छन् । सुरुमा धनगढी आउदा धनगढीमा सुनसान थियो । पुरै जंगलले घेरिएको थियो । कुनै पनि बाटोघाटो थिएन । साँझको समयमा एक्लै हिड्न समेत गाह्रो थियो । त्यतिबेला यहाँ घरहरु एकदमै कम थिए । त्यो बेला औलामा घरहरु गन्न सकिने अवस्था थियो । त्यो बेला धनगढीमा सेती अस्पताल मात्रै सञ्चालनमा थियो । कुनै पनि मेडिकलहरु थिएनन । डाक्टरपनि यहाँ आउन मान्दैनथे । सुदूरका नागरिकहरु बिरामी भएपछि भारतका विभिन्न सहरहरु जस्तै दिल्ली, लखनउ, पलिया लगायतका ठाँउहरुमा जानुपथ्र्यो । यहाँ बत्ती, खानेपानीको कुनै पहुँच थिएन । त्यो समयमा पुरै दुख कष्टकर थियो । त्यो बेला गौरीफन्टा नाकामा रेल पुग्थ्यो । तर अहिले रेल बन्द छ । तर अहिले धनगढीले विकासमा ठूलै  फड्को मारेको छ । धनगढी व्यापार व्यवसायको दृष्टिले राम्रो हो । विगत ३०/४० बर्ष अघि धनगढीमा व्यापारको प्रतिस्पर्धा थिएन । 

तारानाथ ओझा, समाजसेवी

डोटीको निरौलीबाट वि.स.२०१० सालमा तराई झरे । धनगढीमा आउला उनी ९ वर्षका थिए । त्यति वेला कैलाली जिल्ला जंगलनै भरिएको थियो । धनगढीको कुरा गर्नै हो भने धनगढीमा अहिलेको जस्तो बहुमूल्य सामान, अहिलेको जस्तो बस्ती थिएन् । त्यति बेला धनगढीमा तीन चार वटा मात्रै पसलहरु थिए  । जहाँ अहिले प्रदेश सभा भवन छ त्यहाँ पहिले भन्सार कार्यलय थियो । त्यति बेला नेपाली व्यापारी थिएनन । सबै भारतीय व्यापारी थिए । अहिले भन्सार कार्यालय पनि पुरै जंगलले भरिएको थियो ।  कपडाहरु किन्नको लागि भारतको बरेली, लखीमपुर जानु पर्दथ्यो । पलियामा राम्रो बजार थिएन । धनगढीमा एक दुई जीप र तीन चार जिमदारका ट्याक्टर मात्रै थिए । टाढा टाढा जान पनि हिडेर जानुपथ्र्यो । शिक्षण संस्थाको नाममा केहि थिएनन् । धनगढीमा एउटा आजात मेडि स्कुल थियो । त्यसमा २ जना शिक्षक थिए । त्यस्तै धनगढीमा राणाहरुले सञ्चालन गरेको भाषा पाठशालाहरु थिए । त्यसपछि धनगढीमा पञ्चोदय स्कुल स्थापना भयो । सुरुमा पञ्चोदय मावि अहिलेको त्रिनगर स्कुलमा रहेको थियो ।  पछि हसनपुर पञ्चोदय मावि लगियो र सो स्थानमा त्रिनगर स्कुल स्थापना भयो । स्वास्थ्यको अवस्था नाजुक थियो । धनगढीमा एउटै सेती अस्पताल थियो । त्यहाँ नेपालको कुनै पनि डाक्टर थिएन । सबै भारतबाट ल्याएर आमसर्वसाधारणलाई उपचार सेवा प्रदान गरिन्थ्यो । धनगढीमा पक्की घरको नाममा एउटा अस्पताल, अर्को बडा हामीले बस्ने घर थियो । यस्तै मालपोत कार्यालय मात्रै पक्की घर थिए  । अब पहिलेको र अहिलेको कुरा गर्ने हो भने आकाश पातालको फरक छ । यसरी यहाँको विकास हुन्छ भने सोचेका पनि थिएनौ । तर अहिले हेर्नुस् धनगढी ठूलो शहर भइसकेको छ ।

चक्रबहादुर सिंह, समाजसेवी

पूर्व अध्यक्ष, नवजीवन सहकारी संस्था,

म २००७ सालमा डोटीको तलहरा भन्ने स्थानमा जन्मेको हुँ । धनगढीमा २०२२ मा आएँ । तर, बसाइँ सराइँ २०२७/२८ सालमा भएको हो । पढाईको सिलसिलामा काठमाण्डौं थिए, त्यसै क्रममा जागिर सुरु गरे । र, जागिरको सिलसिलामा धनगढी आएको हुँ ।

जतिबेला म यहाँ आए, धनगढी एकदम गाउँ जस्तो थियो । पक्की घर दुई÷तीन वटा देखिन्थे । बर्खा लागेपछि चिया खाने पसल पाइदैनथ्यो । एउटा गुरुजी भन्नेको पसल थियो, एउटा शर्माको । तिनीहरु प्नि चैत लागेपछि उठेर जान्थे । हिउँदको दिनमामात्रै अलिकति चहलपहल हुन्थ्यो । यहाँभन्दा बरु, मालाखेती, चौमालातिर बढी चहलपहल हुन्थ्यो । यहाँ खासै त्यस्तो केही थिएन ।

यहाँ बजार केही छँदै थिएन । अहिलेको सीडीओे कार्यालयको दक्षिणपट्टि सानो गोल बजार थियो । नेशनल ट्रेडिङको दुईटा दोकान थियो । त्यतिमात्रै थियो, अरु साना साना पसल थिए ।

मैले डोटीबाट इन्टर गरे । त्यसपछि काठमाण्डौं शंकरदेव क्याम्पसबाट ग्रेजुयसन पुरा गरे । जागिर खाए अनि जागिरकै क्रममा यहाँ आए । मैले कृषि विकास बैंकमा जागिर खाएँ । मैले बैंकमा ३० वर्ष काम गरेँ । अहिले रिटार्यड भएको छु ।

म धनगढी बस्न थालेपछि ‘डीडीआर’(धनगढी–डडेल्धुरा राजमार्ग) सुरु भयो । त्यहाँ धुलैधुलो हुन्थ्यो । बस रिक्सा भन्ने कुरा केहि पाइदैनथ्यो । यहाँबाट हिडेरै जानु पथ्र्यो । डोटीबाट छ/सात दिनमा हिडेरै हामी धनगढी पुग्थ्यौ । बजारमा पक्की घर छँदै थिएन । कच्ची बाटोमा पहिलो बाटो भनेकै धनगढी डडेल्धुरा राजमार्ग हो ।

त्यो बेला अस्पतालको नाममा यही सेती अस्पतालको पुरानो भवन थियो । अहिले भत्काएर नयाँ बनाइएको छ । अरु अस्पतालको नामै थिएन । गाउँतिर बंगाली डाक्टर भन्ने यस्तै, यस्तै बाहिरबाट आएकाले सेवा दिन्थे । म आउँदा २७ सालमा दुई वटा हाइस्कुल भइसकेको थियो यहाँ, त्रिनगर हाइस्कुल र पञ्चोदय । म आउने बेला त त्रिनगर मात्रै थियो । पञ्चोदय पछि स्थापना भएको हो ।

त्यो बेला कोही बिरामी भएमा उपचारका लागि पलिया जान्थ्यौंँ । त्यति बेलाको भनेको भारतको पलिया हो । किनभने, काठमाण्डौं जानू भनेको त गाह्रो कुरा थियो । अलि हुने खाने मान्छेहरु लखिमपुर, लखनऊसम्म जान्थे । खास भन्या लखनऊमा बढी जान्थे । गौरीफन्टासम्म रेल चल्थ्यो । रेलमा त्यहाँ जान्थ्यौँ । धेरै पछिबाट बस पनि चल्न थाल्यो । काठमाण्डौं जान हामीले डोटीबाट छ÷सात दिन पैदल हिडेर धनगढी पुग्ने । त्यसपछि धनगढीबाट गौरीफन्टा, पलिया, मैलानी, लखनऊ, गोरखपुर, गोण्डा हुँदै विरगन्ज । विरगन्जबाट त्यसपछि काठमाण्डौंमा । गौरीफन्टाबाट विरगन्जसम्म रेलमा जाने गर्दथ्यौंं ।

अहिले त धनगढी त्यो बेलाको तुलनामा धेरै फरक भइसकेको छ । धनगढी यस्तो होला भन्ने हामीले त कल्पना पनि गरेका थिएनौं । यहाँ टाठाबाठाहरु मात्र बस्थे ।  त्यति बेला धनगढी यस्तो हुन्छ भन्ने थाहा भएको भए त । चटकपुरमा त्यो बेला दुई हजार रुपैयामा एक बिगाह जग्गा पाइन्थ्यो । त्यो बेला पहाडबाट झरेर यहाँ जग्गा किन्न सबै तयार हुदैनथे । मैले बुवालाई यहाँ जग्गा किनौ भन्दा, उहाँले मान्नु भएन । यहाँ धान फल्दैनथ्यो । पछि  मैले चौमालामा जग्गा किने । त्यति बेलाको धनगढी त कहाली लाग्दो भन्ने कि कस्तो भन्ने, खाली जमिन्दारहरु मात्र थिए । भारतीय मुसलमानहरु, जसलाई महाजन भन्थे । तिनीहरुले बेमौसममा किसानहरुलाई लगानी गर्थे । तेल, लुगाकपडा, मालपोतका लागि पैसा दिन्थे । अनि त्यो पैसाको सट्टा धान, तोरी, मटर, मसुर लैजान्थे । त्यतिबेला यहाँ गहूँको खेती नै हुदैनथ्यो ।

अहिले हेर्ने हो भने त धनगढीको धेरै कुरा मन पर्छ । यहाँ एउटा चार्म छ । हाम्रो नौ जिल्लाको मात्रै हैन, पूर्वका मान्छेहरु पनि यहाँ आइरहेका छन् । यहाँ गरिखानेहरुका लागि प्रशस्त अवसर छ । एउटा विकासोन्मुख शहर हो । र, अहिलेको आश लाग्दो कुरा बजार व्यवस्थित भइरहेको छ । बाटोघाटो बनिरहेका छन् । शिक्षाको व्यवस्था छ । स्वास्थ्यको पनि अहिले राम्रो व्यवस्था भइसकेको छ । यी सबै हिसाबले धनगढी राम्रो लाग्छ ।

अब धनगढीलाई व्यवस्थित बनाउन आवश्यक छ । डुबानको समस्याबाट धनगढीलाई मुक्त गर्नुपर्छ । गेंटामा स्वास्थ्यका लागि जुन संरचना बनेको छ, त्यसलाई प्रतिष्ठान सरह बनाएर चलाउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

लक्ष्मीराज पन्त, समाजसेवी

बुवा ब्रह्मदेव भन्सारको डिठ्ठा हुनुहुन्थ्यो । भन्सारको ठेक्का व्यक्तिलाई दिन्थ्यो । व्यक्तिले भन्सार कर उठाएर सरकारलाई पठाउथ्यो । म बि.स. १९९४ सालमा पिलिभित, बरेली, सिंगाहीमा पढे । आईएसम्मको अध्ययन गरे । कमैयाहरुलाई दाङ, देउखुरीबाट कमैया ल्याएर यहाँ जमिन्दारहरुले खेतीपातीको शुरुवात गरेका हुन् । धनगढीमा केही थिएन । सबैतिर जंगल थियो । अहिलेको घनावस्ती तारानगर, हसनपुरमा पनि त्यतिबेला घना जंगल थियो । धनगढीमा एउटा अस्पताल थियो । अहिलेको जस्तो बजार थिएन । मानव वस्ती पनि थिएन ।

२००७ सालपछि यहाँ चहल पहल शुरु भएको हो । त्यही बेला धनगढीमा गोमती स्कुलमा प्राथमिक तहको पढाई शुरु भएको हो । त्यतिबेला सम्म यहाँ विद्यालयहरु थिएनन । हामीले त्यतिबेला राईस मिल सञ्चालनमा ल्याएका हौ । व्यापार व्यवसायको शुरुवात पनि हामीले गरेका हौ ।

हाम्रो परिवारको श्रीपुरमा जमिन्दारी थियो । हाम्रो जमिन्दारी अन्तर्गत १७/१८ वटा गाँउ थिए । कैलालीमा हामी झरेको दुई सय वर्ष भयो होला । मेरो बाजे यहाँ आउनु भएको हो । हाम्रो पुख्र्यौली घर डोटीको जोरायल हो । जाडोमा तराई झथ्र्यौ । गर्मीमा पहाड जान्थ्यौ ।

जोरायलबाट ६/७ दिनमा यहाँ पुग्थ्यौ । सामान किन्न ब्रह्देव पुग्थ्यौ । ७० वर्ष पहिलेको धनगढी र अहिलेको धनगढीको विकास त आकाश पतालको फरक छ ।