अलविदा सुरेशजी

सामाजिक सञ्जालका भित्तामा बुधवार अपरान्हदेखि कुँदिएको छ, एक श्यामश्वेत तस्वीर । र, त्योसंगै छन्, सम्वेदनाका अक्षरहरु । अपत्यारिलो । तर स्वीकार्नै पर्ने सत्य । रहेनन्, सुरेश हमाल ।
सामाजिक सञ्जाल कहिले काही अखबार भन्दा पहिले बिस्मित तुल्याउने यस्तै खवर लिएर आउछ । मृगौला प्रत्यारोपणका लागि बरेलीको भोजीपुरास्थित राममूर्ति मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएका थिए, उनी । ४८ वर्षको उमेरमा उनले त्यही प्राण त्यागे ।
कैलालीको तत्कालीन लालबोझी गाविसमा जन्मिएका हमालको बाल्यकाल भजनी नगरपालिका–५ अन्तर्गत पर्ने लालबोझीमै बित्यो ।
बाल्यवयमा समानान्तर ढंगले हुर्कियो, उनीभित्र फुटवल र तेक्वान्दोको मोह । उनी फुटवलका क्रेजी थिए । खेले तेक्वान्दो । भए प्रशिक्षक । र खेलाए, केही वर्ष तेक्वान्दो । त्यहीबीचमा शिक्षक भए । विद्यार्थीलाई पढाए । एक समय आयो, उनले सबैचिज छोडे । र, रोजे फुटवल । भजनीमा हिमालयन फुटवल क्लवको स्थापना गरे । केही वर्ष जिल्ला स्तरीय फुटवल प्रतियोगितामा सहभागी भए ।
क्षमता र कौशल भएर पनि सुदूर पश्चिमका खेलाडीहरुले राष्ट्रिय स्तरमा खेल्ने मौका नपाएको देख्दा उनको मन कुडिन्थ्यो । अर्कोतिर, ए डिभिजनका क्लवहरुसंग भिड्न प्रशिक्षण उनको मनमा खट्किन्थ्यो ।
उनको सोचाईको दायरा फराकिलो थियो । उनी भजनीमै अलमलिएनन् । गाउँ गाउँबाट खेलाडीहरु छानेर टीम बनाए । प्रशिक्षण दिए । र, त्यसपछि फुटवलप्रेमी युवाहरुसंग मिलेर गठन गरे, ए डिभिजन स्तरको क्लव । नाम दिए, सुदूरपश्चिम ११ स्पोर्टस क्लव । उनी त्यतिमै रोकिएनन् । २०७३ सालमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप आयोजना गर्ने घोषणा गरे । उनले नारा दिए ,‘सुदूर पश्चिम प्रदेशको पहिचान : फुटवल विकासको अभियान ’ । असंभव ठानिएको ए डिभिजन स्तरीय प्रतियोगिता सुदूरपश्चिमको खेल मैदानमा भव्य रुपमा आयोजना गरेर सबैलाई चकित पारे ।
‘देशका सबै क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका गोल्डकप प्रतियोगिता भइरहेका छन् । सुदूरपश्चिममा मात्र भएको छैन । जसका कारण क्षमता भएका हाम्रा खेलाडीले राष्ट्रिय स्तरमा मौका पाइरहेका छैनन्,’ हमालले प्रतियोगिता गर्नुको उद्देश्य प्रष्ट्याउदै पत्रकार सम्मेलनमा भनेका थिए, ‘जिल्लामै खुम्चिएका सुदूरपश्चिमका खेलाडीलाई राष्ट्रिय स्तरको एक्सपोजर दिन प्रतियोगिता गर्न लागेका हौं ।’
उनकै नेतृत्वमा २०७३ देखि सुदूरपश्चिमका खेलाडीहरुले घरेलु मैदानमा ए डिभिजन क्लवहरुसंग खेल्ने अवसर पाए । त्यस्तो अवसर २०७९ मा आयोजित छैटौं खप्तड गोल्डकप प्रतियोगितासम्म पाईरहे ।
सुदूरपश्चिम ११ स्पोर्टस क्लवका खेलाडीहरुले २०७६ मा चौथौं खप्तड गोल्डकपको उपाधी उचालेर भने, ‘मैदान र समयले होईन, हाम्रो टीमको ‘स्पिड र स्प्रिट’ले नतिजा निर्धारण गर्छ ।’
घरेलु मैदानबाट खेलाडीहरुले सन्देश दिए, सुदूर पश्चिमलाई कम नआँक्नु ।
यो, त्यही प्रतियोगिता थियो । जसमा सुदूर पश्चिमका खेलाडीहरुले देखाए, खेलको अन्तिम समयसम्म पनि नथाक्ने क्षमता । जुन सुकै दिशाबाट प्रहार गरेको बललाई गोलमा परिणत गर्ने कौशल । हमालको कुशल नेतृत्वबाट यो नतिजा संभव भएको थियो ।
त्यसअघि २०६८ सालमा धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा काठमाडौंको कुनै पनि श्रेणीको लिग नखेलेका सुदूरपश्चिमका खेलाडीले स्वर्ण पदक दिलाएका थिए ।
५० को दशकमा तेजेन्द्र थापा र ईश्वर चौधरीहरु फुटवलमा चम्किएका थिए । त्यसपछि सुस्ताएको फुटवलमा उनले उर्जा भरे ।
७० को दशकपछि जियारत शेख, बिजय सिंह ठकुरी, चेतन थारु, गजेन्द्र शाही, म्याक्स चौधरी, कृष्ण क्षेत्री,नरेन्द्र चौधरी, माधव भण्डारी, बिक्रम सिंह ठकुरी, दीपेन्द्र मलासीहरुले ए डिभिजन क्लवहरुलाई चुनौती दिए । सुदूर पश्चिम फेरि एक पटक फुटवलका माध्यमबाट चिनिन थाल्यो । यो सबै उनको अथक परिश्रमको प्रतिफल थियो ।
उनले फुटवल खेल र खेलाडीका लागि घरखेत बेचे । भन्नेले त उनलाई बेबकुफ भन्लान । मूर्ख भन्लान । पागल भन्लान । सुरेश हमाल जस्ता केही बेबकुफ र पागल भएकै कारण सुदूरपश्चिमको खेलकुदमा प्राण थियो । सास फेर्नुलाई मात्र बाँचेको ठान्ने हो भने त लाटोकोसेरो पनि बाँचेकै छ ।
उनी प्रतियोगिता आयोजनाका क्रममा भेट्न आउथे । भेटमा जहिले फुटवलका कुरा गर्थे । एउटा प्रतियोगिताको ऋणको बोझबाट मुक्त भईसकेकका हुन्थेनन् । उनी अर्को प्रतियोगिता आयोजनाका लागि जुटिसकेका हुन्थे ।
सोध्न मन थियो, सुरेशजी तपाईका निजी सपना र रहर छन् कि छैनन ? कि तिनलाई पनि मिसाई दिनुभयो, फुटवलमै ।
आफ्ना सबै रहर, सपना र आकांक्षाहरु पुरुषको खुशीमा मिसाई दिने त्यो सामथ्र्य र महानता श्रीमती बाहेक कसैमा हुदैन् । उनकी श्रीमतीले पनि चुपचाप त्यही गरिन होलिन् । र त, उनी एकपछि अर्को प्रतियोगिता गर्न उनलाई हौसला मिलिरह्यो ।
जसको दिमागमा फुटवल थियो । मनमा फुटवल प्रेम । र थियो, जसको आँखामा फुटवलको सपना । अस्पतालको शैयाबाट उठेको दिन जो पुग्थ्यो, फुटवलको मैदानमा । जसले आराम गरेन् । जसले आफ्ना बारेमा सोचेन । सन्तान र परिवारलाई झै माया ग¥यो, फुटवल खेल र खेलाडीलाई । हताश भएर रोजेन, जसले आत्महत्याको बाटो । उनी थिए, यस्तै ।
उनीसंग सबै थोक थियो । जागीर । पर्याप्त जग्गा जमीन । धनगढीमा घर । व्यवसायबाट मनग्गे आम्दानी । आफ्नो परिवारका लागि मात्र सोचेको भए उनी आलिशान जीवन बाँच्न सक्थे । उनलाई नपुगेको केही थिएन ।
प्रतियोगिताका रुपमा शुरु भएको खप्तड गोल्ड सुदूरपश्चिमका लागि पर्व बनिसकेको छ । कोरोनाका कारण एक वर्ष गोल्डकप रोकियो । त्यस बाहेक कुनै परिस्थितिले उनलाई प्रतियोगिता सञ्चालन गर्न रोक्न सकेनन् । उनलाई हृदयघात भयो । त्यो हृदयमा फुटवल धड्किन छोडेन ।
उनले नभेटेको नेता कमै होलान् । उनले नधाएको मन्त्रालय सायदै होलान् । फुटवलको विकासका लागि हात फैलाए । उनी फुटवल प्रतियोगिता आयोजना गर्न घरखेत बन्धकी राख्थे । राज्य, खेलमा होईन, कमिसनमा संलग्न हुन्थ्यो । यही थियो, उनी र सरकारबीचको भिन्नता ।
उनले सुदूर पश्चिमको फुटवलको विकासका लागि आफ्नो सबै चिज न्यौछावर गरे । खेलाडीलाई घरमा आश्रय दिए । ऋण लाग्यो । घर बेचे । डेरामा सरे । खेलाडीहरुलाई आफूसंगै डेरामा राखे । र, प्रशिक्षण दिईरहे । आफू अभावमा बाँचे । खेलाडीमा उर्जा भरिरहे । हो, उनले खेलाडीलाई कहिल्यै निराश हुन् दिएनन् ।
उनको मृत्युले परिवारले प्रियजन गुमाएको छ । खेलाडीहरुले अभिभावक, हौसला र आँट । सुदूरपश्चिमले फुटवललाई औंधी माया गर्ने एक अथक योद्धा गुमाएको छ ।
जसले सुदूर पश्चिममा फुटवलको विकासका लागि आफ्नो जीवन समर्पित ग¥यो । उसको जीवन बचाउन राज्यले कुनै पहल गरेन । यो दुर्भाग्य हो ।
उनको लाशमाथि झण्डा ओढाएर सुदूर पश्चिम प्रदेश सरकारले झारो नटारोस । मृत्युपछि समवेदना व्यक्त गरेर औपचारिकता पुरा नगरोस ।
खेलाडीहरुले भोकै प्रशिक्षण गर्नु नपरोस । उपचार नपाएर कुनै खेलाडीको मृत्यु नहोस । भट्किनु नपरोस रोजगारीका लागि । हुनु नपरोस, पलायन । राज्यले खेलकुदका नाममा छुट्याएको बजेटमा कमिसन मात्र नखोजोस ।
सातौं अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिता आयोजना गर्ने हमालको अधुरो धोको सरकारले पुरा गरोस । र, उनकै स्मृतिमा यो प्रतियोगितालाई निरन्तरता देओस ।
भोलिका दिनमा खप्तड गोल्डकप भन्दा बढि धनराशीको प्रतियोगिता हुन सक्लान । तर फुटवलको विकासका लागि आफ्नो जीवन र सर्वस्व न्यौछावर गर्ने उनी जस्ता पागल सायदै कोही जन्मिने छन् । अल विदा सुरेशजी ।
तपाईको प्रतिक्रिया