Close This

‘म पृथ्वीनारायण शाह’

बुधबार पौष २७, २०७९/ Wednesday 01-11-23
विश्वविमोहन श्रेष्ठ

जोडेर धेरै मनहरू
फोडेर धेरै किल्लाहरू
यो देश बनाउने
अपराधी मै हुँ
गुमनाम तिमीलाई
नाम दिएर
स्वाभिमान तुल्याउने
अपराधी पनि मै हुँ । 

जजस्ले आँखा लगाए
यो माटोमाथि 
गर्दन रेटेर तिनीहरूको खुँडा पखाल्ने पनि मै हुँ
हो, यो देश बनाएर अपराध गरेको भन्छौ भने
त्यो अपराधी पनि मै हुँ
हो, यो देश बनाउने अपराधी मै हुँ ।

तिमीले उठाएको त्यो रातो झण्डा फहराउने
अपराधी मै हुँ 
तिम्रो धमनीमा हरदम बहने
चेतनाको ज्वाला मै हुँ
बारबार झुकाएर आफ्नो शिर तिम्रो शिर उठाउने 
अपराधी पनि मै हुँ
यो गुम्बा बनाउने मै हुँ 
यो गिर्जा ठड्याउने मै हुँ
मस्जिद, मन्दिर पुज्ने मै हुँ ।

चर्केर चिराचिरा भएको पीडालाई पखालेर 
सग्लो देश बनाउने अपराधी पनि मै हुँ
हो, जजस्ले घात गरे यो माटोमाथि 
ती फिरङ्गीलाई लखेट्ने अपराधी पनि मै हुँ
थाकेर लखतरान हर साँझ तिम्रो नानीसँग
कोक्रोमा निदाउने त्यो निशा पनि मै हुँ
हर बिहान झुल्केर घामसँग 
तिम्रो अनुहारमा पोखिने 
उज्यालो पनि मै हुँ ।