सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवस मनाइयो

शनिबार माघ ७, २०७९/ Saturday 01-21-23
Paschim Today

धनगढी,७ माघ । सुदूरपश्चिम प्रदेश सभाको छैटौं स्थापना दिवस शनिबार मनाइएको छ । प्रदेश सभा सचिवालयले एक समारोहको आयोजना गरी दिवस मनाइएको हो ।

२०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सभाको स्थापना भएको थियो । प्रदेश सभा स्थापना भएको छ वर्ष पुगेको छ । प्रदेश सभाबाट कानुन निर्माण र जनसरोकारका विषय जनताको प्रतिनिधिबाट राख्ने कार्य हुँदै आएको छ । समारोहमा प्रदेश सरकारकामन्त्री, निवर्तमान मन्त्री, प्रदेश सभा सदस्य, निवर्तमान प्रदेश सभा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, प्रदेश सभा दिवसको अवसरमा शुभकामना दिदैं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समग्र विकासका लागि प्रदेश सभाले साझा थलोको रुपमा काम गर्ने गरेको बताएका छन् । उनले प्रदेश सभाले सत्तापक्ष र प्रतिपक्ष सबैका लागि साझा थलोको रुपमा काम गर्ने गरेको बताएका छन् । दिवसको अवसरमा उनले सम्पूर्ण प्रदेशवासी जनसमुदाय तथा देश र विदेशमा रहने सम्पूर्णलाई शुभकामना व्यक्त गरेका छन् ।  प्रदेश सभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेशको स्थापना अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अमूल्य योगदान दिने सबैप्रति मुख्यमन्त्री रावलले सम्मान प्रकट गरेका छन् ।

प्रदेश सभासदको सर्वोच्च निकाय प्रदेश सभाले नीतिगत रुपमा प्रदेशमा आवश्यक कानुनको तर्जुमा गरी कानुनी प्रदेशको रुपमा प्रदेशलाई स्थापित गर्ने गरेको उनको भनाइ छ । प्रदेश सभाले प्रदेशमा सुशासनको प्रत्याभूति गराउने, प्रदेश सरकारलाई आवश्यक निर्देशन दिने, जनताका इच्छा आकांक्षालाई पूरा गर्न सरकारसंग आवश्यक समन्वय गर्ने लगायतको कार्य गर्ने गरेको मुख्यमन्त्री रावलको ठम्याइ छ ।

‘पार्टीगत सिद्धान्त र विषयगत प्राथमिकता फरक फरक भएतापनि सुदूरपश्चिम प्रदेशको दिगो एवम् सर्वाङ्गीण विकासका विषयमा सम्पूर्ण नेतृत्वकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सरोकारवालाहरु एकजुट भइ हातेमालो गर्दै अगाडि बढ्नु समयको माग र प्रमुख आवश्यकता रहेको छ’, मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

उनले न्यूनतम साझा कार्यक्रमहरुको निर्माण गरी प्रदेशमा औद्योगिकीरण, रोजगारीका अवसरको सृजना, विकास निर्माण, सुशासनको अनुभूति, स्वाबलम्बन तथा आत्मनिर्भर प्रदेश स्थापनाका लागि प्रतिवद्धतासमेत जाहेर गर्नु भएको छ । स्वदेशी तथा विदेशी लगानीलाई सुरक्षा र आकर्षणको प्रत्याभूति गर्ने मुख्यमन्त्रीको भनाइ छ ।

‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवश्यकताको व्यवस्था लगायत प्रदेशको विविध सामाजिक, आर्थिक र भौतिक विकासका सम्पूर्ण प्राथमिक विषयहरुमा प्रतिपक्ष दलहरुलाईसमेत साथमा लिइ सामाजिक न्यायमा आधारित लोककल्याणकारी प्रदेशको रुपमा सुदूरपश्चिम प्रदेशलाई स्थापित गर्ने प्रतिवद्धता जाहेर गर्दछु’, मुख्यमन्त्रीले भनेका छन् ।

प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले यस अभियानमा सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा गर्दै उनले यो कार्यकालमा प्रदेश सभाले ऐतिहासिक सफलता हासिल गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । साथै, पहिलो प्रदेश प्रमुख, पहिलो प्रदेश सभाका सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, निवर्तमान सरकारसहित सबैमा मुख्यमन्त्री रावलले धन्यवाद ज्ञापन गरेका छन् ।