Close This

क्यालिफोर्नियामा युवा सम्मेलन हुने

बुधबार माघ ११, २०७९/ Wednesday 01-25-23
Paschim Today

टेक्सस (अमेरिका),११ माघ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा तेस्रो युवा सम्मेलन क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा यही फेब्रुअरी २५ मा हुने भएको छ  ।

युवा वर्गलाई गैर आवासीय नेपालीको अभियानमा जोड्न र युवा सरोकारका मुद्दाहरुसँग एनआरएनएको सम्बन्ध स्थापित गर्ने अभिप्रायले संघले युवा सम्मेलन गर्दै आएको छ ।

युवाको नयाँ सोंच, योजना र उर्जालाई एकत्रित गरी मातृभुमी नेपालको विकास र समृद्दिमा समेत उपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा समेत छलफल हुने यस सम्मेलनले अमेरिकाभर नै छरिएर रहेका युवालाई एउटै संजालमा जोड्नका लागि काम गर्ने संघका युवा संयोजक तथा सम्मेलनका समेत संयोजक रहेका त्रिभुवल पाण्डेले जानकारी दिए ।

सम्मेलनलाई सफल पार्नका लागि संघका अध्यक्ष बुद्धिसागर सुबेदीको नेतृत्वमा ११ सदस्यीय सम्मेलन संचालन समिति निर्माण गरिएको तथा विभिन्न समितिहरु बनाईएको सचिव अनुप खनालले बताए ।

सचिव खनालका  अनुसार सम्मेलनमा प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई आमन्त्रण गरिएको छ । सम्मेलनमा विभिन्न विषयका विज्ञहरुको समेत सहभागिता रहने बताईएको छ ।

संघले विभिन्न समयमा युवा लक्षित कार्यक्रम गर्दै आएको छ ।

संघका उपाध्यक्ष एवं युवा विभाग प्रमुख सुमन थापाले युवा सम्मेलन निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।