Close This

‘इन्फोटेकमा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी दिइनेछ’

मंगलबार फागुन १६, २०७९/ Tuesday 02-28-23
Paschim Today

कैलालीको धनगढीमा आजदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन हुने भएको छ। कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा आजबाट २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी हुँदै छ। आज हामी यी नै विषयमा रहेको कम्प्युटर एशोशियसन नेपाल कैलालीका अध्यक्ष यज्ञराज ओझासँग कुराकानी गरेका छौँ ।  प्रस्तुत छ ओझासँग गरिएको कुराकानी :

क्यान ईन्फोटेक ( सूचना प्रविधि प्रदर्शनी) २०२३ मेला किन ? यो सञ्चालनको उद्देश्य के हो ?

– फागुन १६ गतेदेखि २० गतेसम्म क्यान इन्फोटेक सूचना प्रविधि मेला आयोजना हुन गइरहेको छ । यसमा ७० वटा स्टलहरू रहेको छ । यसमा नयाँ नयाँ टेक्नोलोजीहरूको प्रदर्शनी रहनेछ । 

विगतको प्रदर्शनी भन्दा यो पटक के फरक कुरा छ ?

– विगतमा हामीले २०१६ मा आयोजना गरेको हो । २०२३ सम्म आउँदासम्म केही टेक्नोलोजीमा धेरै परिवर्तन भएको छ । विगत लामो समयसम्म हामीले प्रदर्शनी गर्न पाएनौँ । अहिले यो प्रदर्शनीमा नयाँ टेक्नोलोजीहरूको पनि प्रदर्शन हुन्छ । विगतभन्दा यस पटक दर्शक बढाउने भनेर हामीले प्रचारप्रसार गरेका छौँ । टेक्नोलोजीको कुरालाई जोडेर अहिले मान्छेमा इच्छा पनि जागेको छ । त्यस कारण पहिलाको भन्दा सहभागिता र प्रदर्शनी हेर्न आउने दर्शकहरूको सङ्ख्या पक्कै पनि बढी रहनेछ भन्ने विश्वास छ । 

प्रदर्शनी र मेलाहरू व्यवसायीक उद्देश्य वा आर्थिक लाभका लागि आयोजना परिपाटी छ । यो प्रदर्शनी पनि त्यस्तै हो वा यो सञ्चालनको उद्देश्य फरक छ ?

– हैन, क्यान, कम्प्युटर एशोसिएसन महासङ्घ जुन छ, त्यो भनेको व्यावसायिक हकहितका लागि काम गर्ने संस्था हो । र, यो प्रदर्शनी व्यवसायको प्रवर्द्धन त एउटा हो नै, त्यसको साथसाथै सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ नयाँ प्रविधिको बारेमा जानकारी दिने हो । यो प्रदर्शनी गरेर हामीले आर्थिक लाभ लिने होइन । यो क्यान इन्फोटेकका लागि जति पनि स्पोन्सर छ, त्यसबाट उठेको पैसा यदि बचत हुन्छ भने कुनै विद्यालयमा हामीले आइटी सम्बन्धी प्रोजेक्ट सुम्पिनेछौँ । बजेटको हिसाबले हेर्ने हो भने यो आयोजना गर्नका लागि हाम्रो झन्डै ४० लाख रुपियाँ खर्च हुन्छ । यसमा हामीलाई कम्पनीहरूले साथ दिन्छ । अहिले नेपाल सरकारका कम्पनीहरू पनि हामीसँग आबद्ध छन् । नेपाल टेलिकम पनि हामीसँग आबद्ध छ । सरकारले पनि हामीलाई साथ दिएको छ । 

प्रदर्शनीबाट सूचना प्रविधि विषय लिएर अध्ययनरत विद्यार्थीहरू, सूचना प्रविधिका क्षेत्रमा रुचि राख्ने व्यक्तिहरू र यसैसँग सम्बन्धी व्यवसायीहरूले के लाभ लिन सक्छन् ?

– यो प्रर्दनीभित्र हाम्रो व्यावसायिक स्टलहरू पनि रहेको छ । व्यावसायिक स्टल भनेको कसैलाई ल्यापटप, टेक्नोलोजीबारेमा जानकारी दिइनेछ । साथै विभिन्न कम्पनीहरूले आफ्ना सामग्रीहरू अफरमा लगाएर, एक्सट्रा छुट दिएर बिक्री गर्नेछन् । ग्राहकले पाउनु पर्ने जुन छुट हो, त्यो अरू बेलाको भन्दा पनि यो बेला एक्सट्रा छुट पाउनेछन् । त्यसैले इन्फरमेसन टेक्नोलोजीको जति पनि सामग्री किन्नु पर्नेछ भने यो प्रदर्शनीको स्टलबाट खरिद गर्दा बजार मूल्यभन्दा सस्तो पर्नेछ ।  यो हाम्रो दोस्रो संस्करण हो । यसअघि २०२० मा आयोजना गर्ने भनेर तयारी गरेका थियौँ । तर, कोभिडको कारण त्यो गर्न सकिएन । अब यो दुई दुई वर्षको अवधिमा आयोजना गर्छौ । आगामी दिनमा यसलाई वार्षिक रूपमा आयोजना गर्ने हाम्रो कोसिस रहनेछ ।

क्यान कैलाली सूचना प्रविधिका क्षेत्रका व्यवसायीहरूको छाता संस्था हो ? यसले आफ्ना व्यवसायीहरूको हकहित र अधिकारका क्षेत्रमा मात्र काम गर्छ कि ? सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्छ ? यसको स्थापनाको उद्देश्य के हो ?

– हैन, क्यान महासङ्घ हुन त व्यावसायिक हकहितका लागि सङ्गठित भएको संस्था हो । उद्योग वाणिज्य महासङ्घ जस्तै हाम्रो यो पनि कम्प्युटर व्यवसायीहरूको छाता सङ्गठन हो । कम्प्युटर व्यवसायमा आबद्ध कुनै पनि व्यवसायीको पीडमर्का वा समस्याका बेला सहज होस भनेर सङ्गठित बनेको यो संस्था हो । तर, नेपाल सरकारले धेरै कुराहरू क्यान महासङ्घसँग समन्वय गरेर कार्यहरू गर्ने गर्दछ । त्यसैले व्यवसायीका लागि भएको संस्थामध्ये उद्योग वाणिज्य महासङ्घपछि क्यान महासङ्घ नै सामाजिक उत्तरदायित्वमा अगाडि आएको छ । जस्तै, आइटी पढ्ने विद्यार्थीको छात्रवृत्तिको कुरा होस वा अन्य कुरामा पनि क्यानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । 

अन्त्यमा, प्रदर्शनी हेर्न आउनेहरूलाई के भन्न चाहनुहुन्छ ?

– जुन मिहिनेत गरेर हामीले यो प्रदर्शनीको सुरुवात गरेका हौँ, पहिलो संस्करण हामीले हाम्रो शुभेच्छुकहरूको सहयोगले अहिले हामीले दोस्रो संस्करण आयोजना गर्न सकेका हौँ । यो प्रदर्शनीमा अहिले आएका ल्याटेस्ट प्रविधिहरू यो ठाउँमा हामीले आफ्नै प्रदेशमा देख्न पाउनेछौँ। त्यसैले सबै महानुभावहरूलाई मेरो के अनुरोध छ भने, आएर प्रदर्शनीको अवलोकन गरिदिनुहोस् र सूचना प्रविधि सम्बन्धी केही कुरा खरिद गर्नु पर्नेछ, भने यहाँबाट खरिद गर्नुहोस् ।