Close This

चिफ सर : सबैका सल्लाहकार र प्रमुख अतिथि 

आइतबार फागुन २१, २०७९/ Sunday 03-05-23
Paschim Today

दीर्घराज उपाध्याय ।
फूल्दै गरेका केश । बृद्ध हुदै गएको काया । होचो कद, त्यसमाथि निहुरिएको शरीर । सुस्त तर एकनासको गति । ज्ञानको फराकिलो दायरा, जसका कारण समाजमा उनको कद सबैभन्दा उचो छ ।  कसैलाई उछिन्ने दौडमा उनी कहिल्यै भएनन । तर सबैले सम्मान र श्रद्धा गर्नेमा सदैव अग्रपंक्तिमा रहे । यसमा उनलाई कसैले उछिन्न सकेन । धनगढीमा कुनै पनि कार्यक्रमका लागि प्रमुख अतिथिको खोजी हुदा, पहिलो उच्चारण हुने नाम हो, प्रा.डा. हेमराज पन्त ।

सल्लाहकार त कतिसंस्थामा छन्, उनैलाई थाह छैन । सल्लाहकारमा नाम राखिसकेपछि तपाईलाई संस्थाको सल्लाहकार बनाएको छु भन्नेहरुसंग उनले कहिल्यै गुनासो गरेनन । र, सल्लाहकार राखेकोमा फुर्किने उनको स्वभाव छैन । उनी सबैका सल्लाहकार । सबैका प्रमुख अतिथि । उनका अगाडि कुनै बिशेषण र उपमा थपिरहन पर्दैन । सर्वस्वीकार्य र सबैले श्रद्धाले उच्चारण गर्ने नाम हो प्रा.डा.हेमराज पन्त ।

सुनिरहु लाग्ने उनका बौद्धिक तर्क । र, तथ्यमा आधारित आकाँडाहरु । घत लाग्दा अन्तर्राष्ट्रिय उदाहरणहरु । र त, उनी जव बोल्न थाल्छन । सब चुप लाग्छन । त्यतिबेला कसैले कसैलाई चुप लाग्न भनिरहनु पर्दैन ।

जव, क्याम्पस हातामा उनी प्रवेश गर्थे । चिफ सर आउनु भयो, कसैले सुनायो कि, बाटो छेकेर क्याम्पस हाताभित्र हल्ला गरिरहेका विद्यार्थीहरु निमेषमै गायव भईसकेका हुन्थे । उनी ग्यालरीको वल्लो कुनामा हुदा पल्लो कुना सुनसान भईसकेको हुन्थ्यो । गब्बर आउदा रामपुर जसरी सुनसान हुन्थ्यो । उनी शोलेका गब्बर भने होईनन । न त उनको चरित्र र चित्र त्यो गब्बरको जस्तो छ । कहाँ गब्बर ? कहाँ चिफ सर ? शान्त र सौम्य उनी । अराजक, हिंस्रक र मैमत्त गब्बर । 

उनले विद्यार्थीलाई कहिल्यै थर्काएनन । कहिल्यै पिटेनन । न त उनको डर लाग्दो जिउडाल थियो । न त उनले बाटोमा को छ भनेर कहिल्यै नियाले । तर उनले ननियालेको बाटो र ग्यालरीमा कोही विद्यार्थी हुदैनथे ।

ज्ञानको अथाह भण्डार । उनी आफैमा विश्वविद्यालय हुन् । बिज्ञानदेखि अध्यात्म । पुरातन मान्यता देखि नविनतम सूचना प्रबिधिका बारेमा असिमित जानकारी उनीभित्र खाँदिएको छ ।  पीएचडी गर्नेहरुको भीडमा उनी अपवाद छन् । यहाँ कसलाई फुर्सद छ, कसले पिएचडी ग¥यो ? कुन विषयमा ग¥यो ? उसको त्यो पिएचडी स्वयम उसको जीवन र समाजका लागि के काम लाग्यो ?  ज्ञान बिनाको पिएचडी । सुवास बिनाको फुल जस्तै हो । चिफ सरको पिएचडीको सुवास समाजलाई सुगन्धित गरिरहेको छ, निरन्तर । नामको अगाडि डाक्टर झुण्डाउने रहरले उनले पीएचडी गरेका होईनन । न त उनलाई नामका पछाडि पिएचडी राखेर कसैलाई देखाउनु थियो ।

चैतन्य अर्थात ज्ञानको उच्चतम बिन्दु । सबैले ठान्छन, उनी त्यो उच्चतम बिन्दुमा छन् । चिफसरलाई सबै कुराको ज्ञान छ, भन्नेहरु पनि छन् । तर उनीभित्र सिक्ने र नयाँ कुरा जान्ने हुटहुटी सधै भईरहन्छ । उनको बुझाईमा सिकाई पिएचडीपछि सकिने वा त्यसपछि आवश्यक नहुने चिज होईन । र त, उनी समय मिल्यो कि, नयाँ पुस्तक र गुगलमा घोत्लिन्छन । युक्रेन र रसियाको युद्ध कुन स्तरमा पुग्यो ? के गर्दैछन्, ओबामा र क्लिन्टनहरु ? सुदूर पश्चिमका मुख्यमन्त्री के गर्दैछन् ? यी सबै चिजको सुक्ष्म जानकारी राख्छन् ।

संघीयताले नागरिकको जीवनस्तर, चेतना र विकासमा फरक पा¥यो कि पारेन ? शासन र व्यवस्था बदलियो । नागरिकको अवस्था बदलियो कि बदलिएन ? उनको चासो छ ? र लेख्छन्,– हरी शाई आए पनि पातै टिप्नु, परी शाई आए पातै टिप्नु ।कक्षामा उनी गुरु हुन् । कक्षा बाहिर गुरुभन्दा साथी जस्ता । जसलाई लिएर डर होईन । भरोसा बढि हुन्छ । ज्ञानको अजस्र स्रोत के हो ? अध्ययन, अध्ययन अनि अध्ययन । उनलाई अध्ययनले नै यो स्तरको मान, सम्मान दिलाएको हो ।

समयको महत्व र व्यवस्थापन उनीबाट सिक्ने कुरा हुन । उनी क्याम्पसमा जहिल्यै समयमा पुगे । कक्षा कोठामा बिद्यार्थीहरुलाई उनले कहिल्यै कुराएनन । ६० को दशकमा बजारमा भर्खर ल्यापटप आएको थियो । धेरैले ल्यापटप देखेका थिएनन । उनले चलाउन थालिसकेका थिए । युवा प्राध्यापकहरु हातले लेखेर प्रश्न पत्र ल्याउथे । उनी भने ल्यापटपमा टाईप गरेर प्रश्न पत्रहरु प्रिन्ट गर्थे । नयाँ प्रबिधि र सिक्ने कुरामा उनको उमेरले कहिल्यै रोकेन ।

उमेर त संख्या मात्र हो । सबैभन्दा महत्वपूर्ण कुरा त मान्छेको ईच्छाशक्ति हो । जागीरबाट अवकाश लिएको चार वर्ष भईसक्यो । उनले पढाउन अझै छोडेका छैनन । उमेरले सात दशक छुदैछ । तर उनको उर्जा कुनै युवा भन्दा कम छैन । जोश र जागर उस्तै छ । सिक्ने र नयाँ कुरा जान्ने हुटहुटी उस्तै छ ।  जव फुर्सदमा हुन्छन । उनी पुस्तकका माझ भेटिन्छन ।

कैलाली बहुमुखी क्याम्पस र चिफ सर एक अर्काका पर्याय हुन् । सुदूरपश्चिमका विद्यार्थीका लागि यो क्याम्पस मात्र होईन । यही गुरुकुल हो । यही तक्षशिला । अनि यही विश्वविद्यालय । हावर्ड र अक्सफोर्ड पनि यही हो । चार दशक भन्दा बढि लामो ईतिहास बोकेको सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले यो अबधिमा कमाएको ख्याति उनकै कुशल नेतृत्वको देन हो । जहाँ १० हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । जसले लाखौ विद्यार्थीलाई सर्टिफिकेट होईन, जीवनोपयोगी र अन्तर्राष्ट्रिय  स्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा प्रदान गरेको छ । देशकै उच्च ओहोदामा मात्र नभएर संसारका बिभिन्न देशमा कैलाली बहुमुखी क्याम्पसबाट दिक्षित विद्यार्थीहरुले यश र कृति फैलाएका छन् ।

कैलाली बहुमुखी क्याम्पस, जसले उनलाई नाम दियो । पहिचान दियो । सम्मान दियो । उनी त्यसलाई अथाह प्रेम गर्छन । प्रेमिकालाई भेट्न नपाउदा युवा वयमा हुने बेचैनी र छटपटी उनलाई यो उमेरमा हुन छोडेको छैन । हो, उनी कैलाली बहुमुखी क्याम्पसलाई प्रेमिकालाई झै उन्मुक्त भएर प्रेम गर्छन । र त, स्नातकोत्तरका विद्यार्थीहरुलाई पढाउने बहानामा क्याम्पस गईरहन्छन ।

बिज्ञापनको जमानामा उनी यस्ता ब्राण्ड हुन्, जसलाई कुनै बिज्ञापन र मार्केटिङको जरुरत कहिल्यै भएन ।कोकको युगका लाल दन्त मञ्जन र वासिङ पाउण्डर निरमा जस्ता सदाबहार ब्राण्ड हुन्, उनी । जसको नामै काफी छ ।

हिन्दी फिल्ममा अमिताभको एउटा चर्चित डायलग छ, जहा हम खड़े हो जाते हैं लाइन वही से शुरू होती है । उनी उभिएपछि त लाईन नै रहदैन । लाईनमा लागेका मान्छेहरु उनको वरीपरी झुम्मिसकेका हुन्छन ।
सिलगढीमा जन्म, काठमाण्डौंमा पढाई
डोटीको सिद्धेश्वर गाँउ पञ्चायतको उच्चाकोट (हाल शिखर नगरपालिका–९) उनको पुख्र्यौली गाँउ हो । आयुर्वेदाचार्य खगेन्द्रनाथ पन्त र नन्दादेवीका माहिला सन्तानका रुपमा २०११ साल फागुन २१ गते जन्मिएका हुन् । 

राणाकालीन त्यो समय, जतिबेला डोटीमा विद्यालय खुलिसकेका थिएनन, उनको परिवारमा पढ्नुपर्छ चेत त्यहीबेला थियो । त्यही चेतले उनका बुवा खगेन्द्र नाथ पन्त अध्ययनका लागि भारतको बरेली गए । त्यहीबाट स्नातक गरे । र, सन १९३६ मा बनारस विश्वविद्यालयबाट आयुर्वेदाचार्यको पढाई पुरा गरे । त्यसको ९ वर्षपछि भारत अंग्रेजबाट मुक्त भएको थियो । 

उनी जन्मिएको वर्ष उनका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख थिए । उनका बुवाको सरुवा डडेल्धुराको रुपाल भयो । र, त्यहाँबाट डडेल्धुरा सदरमुकाम । जहाँ जहाँ उनका बुवाको सरुवा हुन्थ्यो । उनी पनि संगै जान्थे । प्रारम्भिक शिक्षा डडेल्धुरामा पुरा गरेका उनले ८ कक्षासम्मको पढाई भने उच्चाकोटकै सिताराम हाईस्कुलबाट पुरा गरे ।

प्रारम्भिक शिक्षा डडेल्धुराको सदरमुकाम र पछि रुपालमा भए । २०१८ सिताराम हाईस्कुलबाट ८ कक्षा पास भएपछि उनी बुवासंगै काठमाण्डौं गए । र, तत्कालिन दरवार हाईस्कुल (हाल भानु मावि) बाट २०२८ सालमा एसएलसी पास गरे । २०३१ सालमा आईकम त्रिचन्द्र कलेजबाट पुरा गरेका उनले शंकरदेव क्याम्पसबाट बीकम गरे । २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाई पुरा गरे । जागीरे जीवनको उत्तरार्धमा नरदेवी आयुर्वेदिक विद्यालयको प्राचार्य भएका उनका बुवाले सिंह दरवार बैद्यनाथ खानाको प्रमुख कविराजका रुपमा २०२८ सालमा अवकाश पाए । 

२०३१ सालमा १९ वर्षको उमेरमा सरस्वती ओझासंग बैबाहिक बन्धनमा बाधिएका उनका दुई छोरा र एक छोरी छन् । उनी भने तीन भाई, दुई बहिनी मध्य माहिलो थिए । जेठा दाई प्रेमराज पन्तले कोलम्बो प्लान अन्तर्गत भारतको चण्डिगढस्थित पञ्जाव विश्वविद्यालयबाट बिद्यावारिधी गरेपछि उनलाई पनि त्यही प्लान अन्तर्गत पिएचडी गर्ने ईच्छा थियो । स्नातकोत्तर अन्तिम वर्षको थेसिस बुझाउन बाँकी थियो । उनी बाथरुममा लडे । र, नराम्ररी घाईते भए । झण्डै दुई महिनाको उपचार र बेड रेष्टपछि उनी तंग्रिए । 

त्यहीबेला कैलालीमा कमर्स क्याम्पस खुल्यो । तर कमर्स पढाउने शिक्षक थिएन । गोरखापत्र दैनिकमा पटक पटक कमर्स पढाउने शिक्षकको आवश्यकता सम्बन्धि सूचना प्रकाशित भयो । तर कोही आएनन । उनी थेसिस पुरा नहुदा काठमाण्डौंमा फुर्सदमा थिए । त्यो सूचनाले उनलाई धनगढी तान्यो । थेसिस पुरा नहुदासम्म पढाउने सोचका साथ धनगढी आएका उनी  फर्केर काठमाण्डौं भने गएनन । काठमाण्डौ–नारायणघाट जोड्ने सडक थिएन । काठमाण्डौंबाट पोखरा, त्यहाँबाट पाल्पा हुदै भैरहवा पुग्नु पथ्र्यो । र, भैरहवाबाट भारतको बाटो भएर गौरीफन्टासम्मको यात्रा तय गर्नुपथ्र्यो । पूर्व पश्चिम राजमार्ग पनि बनिसकेको थिएन । कर्णालीमा पुल, त्यतिबेला कसले कल्पना गरोस ? भारतको बाटो भएर उनी चौथो दिन धनगढी आई पुगेका थिए ।

उनी २०३७ साल माघ १ गते देखि क्याम्पसमा पढाउन थाले । जहाँ आईकमको मात्र पढाई हुन्थ्यो । दुई सेक्सन थिए । र, विद्यार्थी थिए, १४५ । उनको मासिक पारिश्रमिक झण्डै हजार रुपैया थियो । २५ प्रतिशत दुर्गम र २५ प्रतिशत बिशेष भत्ता पाउथे । भत्ता समेत जोडेर उनले मासिक रुपमा झण्डै हजार रुपैया पाउथे ।

क्याम्पसको आफ्नो भवन थिएन । पञ्चोदय माविमा क्याम्पसको पढाई हुन्थ्यो । विद्यालयको पढाई बिहान हुँदा क्याम्पस दिउसो लाग्थ्यो । र, दिउसो विद्यालय लाग्दा क्याम्पसको पढाई बिहान हुन्थ्यो । दुई वर्षपछि २०३८ सालमा कैलाली बाणिज्य क्याम्पसको नाम परिवर्तन भएर कैलाली बहुमुखी क्याम्पस भयो । कुमाउ विश्व विद्यालयबाट २०४५ सालमा बिद्यावारिधी गरेका उनले त्यसका लागि सुदूर पश्चिमका २७ वटा साना उद्योगको अनुसन्धान गरी शोध पत्र तयार गरेका थिए । विद्यावारिधी गरेकै वर्ष २०४५ सालमा उनी क्याम्पस चिफका रुपमा नियुक्त भए । त्यसैदिनदेखि उनले नयाँ नाम पाए–चिफ सर । जुन पदमा २०६६ सम्म कार्यरत रहे । त्यही जिम्मेवारी उनको पहिचान बन्यो ।

जागीर र जिम्मेवारी एउटै कुरा हो, फरक कुरा हुन ? उनका लागि फरक कुरा हुन् । जागीरे मानसिकताले जिन्दगी त चल्छ । अरु केही थोक प्राप्त हुदैन । जिम्मेवारी निर्बाह गर्दा कहिल्यै काही जिन्दगीमा कठिनाई उत्पन्न हुन सक्छ । तर यश, कृति र पहिचान ईमान्दारीपूर्वक जिम्मेवारी निर्बाह गर्दा प्राप्त हुने चिजहरु हुन् । तर बिडम्बना यहाँ जिम्मेवारी बोध हुनेहरु अपवादमा पर्छन । चिफ सर अपवादमा पर्छन ।
समाज, राजनीति र अर्थशास्त्र 
स्मेकले पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन गर्दा त्यस परियोजनाबाट समाजमा पर्ने सकारात्मक तथा नकारात्मक असरका बारेमा अनुसन्धान गर्ने जिम्मेवारी दियो । उनी यसमा समाजशास्त्रीको भूमिकामा थिए । सुदूर पश्चिमको आर्थिक विकासको अध्ययन अनुसन्धानको प्रकृयामा पनि उनी अर्थशास्त्रीको भूमिकामा देखिन्छन । जव राजनीतिबाट विकास र समृद्धिको कुरा आउछ, उनी राजनीति शास्त्रीको भूमिकामा देखिन्छन ।

केन्द्रीय सरकारले सुदूरपश्चिमलाई विकासमा बिभेद गरेको आरोप वर्षौदेखि लाग्दै आएको छ । एक दशकअघि केन्द्रीय सरकारलाई सुदूर पश्चिमको विकासका लागि दवाव दिन धनगढीमा सर्बपक्षीय दवाव समूह गठन भयो । जसको नेतृत्व उनैले पाए । साझा र सर्वस्वीकार्य व्यक्तिको छवि बनाएका चिफ सर राजनीतिबाट टाढा रहेका कारण सबै राजनैतिक दलका लागि स्वीकार्य र आदरणीय रहे । 
विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारी
२०६८ सालमा सरकारले महेन्द्रनगरमा सुदूर पश्चिमाञ्चल विश्व विद्यालयको स्थापना ग¥यो । उनी त्यसको रजिष्ट्रार नियुक्त भए । उनले नियुक्तिका लागि कसैसंग आग्रह गरेका थिएनन । न त कुनै नेता कहाँ उनी धाएर आग्रह गरे । शिक्षाक्षेत्रमा पु¥याएको योगदान र उनको क्षमताको कदर गर्दै सरकारले रजिष्ट्रार नियुक्त गरेको थियो । सरकारले उनले कुशलतापूर्वक रजिष्ट्रारको भूमिका निर्बाह गरे  । कहि कतै बिबादमा आएनन । चार वर्षे कार्यकाल पुरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भए । र, फर्केर फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाले । २०७४ सालमा उनी रिटायर्ड भए उनले कामलाई कहिल्यै सानो ठूलो भनेनन । पदले उनमा कहिल्यै अहंकार पलाएन । र, नियुक्तिका लागि कहिल्यै कुनै नेता वा मन्त्री कहाँ धाएनन । न उनी नियमभन्दा बाहिर गए । न त नियमभन्दा बाहिर गएर कसैले दिएको दवाव स्वीकार गरे । द्धन्दकालमा उनलाई माओवादीले एक जना प्राध्यापकलाई सहायक क्याम्पस प्रमुख नियुक्त गर्न दवाव दिए । उनले त्यसलाई सोझै अस्वीकार गरे । सेनाले द्धन्दकालमा माओवादी निकट विद्यार्थीहरुको तस्वीर माग्दा उनले दिन मानेनन । 

शिक्षासंगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय उनी धनगढी जेसिजका संस्थापक मध्यका एक हुन् । उनी २०४६ सालमा धनगढी जेसिजको अध्यक्ष भए । जतिबेला धेरैले जेसिज बुझेकै  थिएनन । उनले आफूलाई जेसिजको अध्यक्षका रुपमा चिनाउदा चालकले गाडीको चेसिसको पनि अध्यक्ष हुन्छ भनेर सोधेको अझै बिर्सेका छैनन । २०६७ सालमा उनकै नेतृत्वमा लायन्स क्लव अफ धनगढी सिटीको जन्म भयो । जसका उनी संस्थापक अध्यक्ष हुन् । उनी जुन जुन संस्थामा रहे । कहिल्यै बिबादमा आएनन ।

उनले भिडलाई पछ्याएनन । न त भिडबाट प्रभावित भएर उनले कहिले निर्णय गरे । एउटा भनाई छ, भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ ।

तर उनले आफ्नो बाटो आफै बनाए । न उनी भिडसंग हिडे । न भिडको बाटो । सधै भिडभन्दा अलग रहे । र, बनाए अलग पहिचान र छवि ।

(पश्चिम टुडेमा प्रकाशित सामग्री अनुमती बिना साभार गर्न मनाही छ । )