Close This

कैलालीमा ८१.९५ प्रतिशतले सेवन गरे हात्तीपाइलेको औषधि

बुधबार चैत १, २०७९/ Wednesday 03-15-23
Paschim Today

धनगढी,१ चैत । कैलालीमा ८१.९५ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन् ।फागुन ११ गते देखि सुरु भएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानमा कुल जनसङ्ख्याको सात लाख ५९ हजार ६१९ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मोहन्याल गाउँपालिकामा १९ हजार ७४२,चुरे गाउँपालिकामा १७ हजार ७७८, गोदावरी नगरपालिकामा ८३ हजार ८६६, गौरीगङ्गा नगरपालिकामा ५५ हजार ४०८ जनाले औषधि खाएका छन् ।

यसै गरी, घोडाघोडी नगरपालिकामा ६७ हजार ५५२, बर्दगोरिया गाउँपालिकामा ३४ हजार १०९, लम्कीचुहा नगरपालिकामा ७५ हजार १२, जानकी गाउँपालिकामा ३७ हजार ३९२ जनाले औषधि खाइसकेको जनाइएको छ ।

यस्तै, जोशीपुर गाउँपालिकामा ३१ हजार ६२०, टीकापुर नगरपालिकामा ८२ हजार २२, भजनी नगरपालिकामा ४४ हजार ५२०, कैलारी गाउँपालिकामा ४१ हजार १४१ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन् ।

दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको धनगढी उपमहानगर पालिकामा एक लाख ६९ हजार ४४७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन् । १० औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा फागुन ११ गते देखि ११ औँ पटकको अभियान हो ।

यसअघि फागुन २५ गतेसम्म मात्र अभियान सञ्चालन गरिने कार्यक्रम रहे पनि केन्द्रकै निर्णयअनुसार पाँच दिन थप भएर फागुन ३० गतेसम्म अभियान चलेको हो ।