कञ्चनपुरमा क्याप्टेन वेद उप्रेती एभियसन म्युजियम सञ्चालनमा

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको भीमदत्तनगरपालिका– ३ भाँसीमा शनिवारदेखि क्याप्टेन वेद उप्रेती एभियसन म्युजियम सञ्चालनमा आएको छ ।क्याप्टेन वेद उप्रेतीको स्वामित्वमा रहेको क्याप्टेन्स स्काई कम्पनी मार्फत उक्त म्युजियम सञ्चालनमा आएको हो ।
क्याप्टेन उप्रेतीकी आमा सरस्वती उप्रेतीले रिबन काटेर शनिवार म्युजियमको उद्घाटन गरेकी हुन् । आईतवारदेखि म्युजियम सर्वसाधारणका लागि खुला गरिनेछ ।उनले काठमाण्डौंबाट ल्याएको कस्मिक एयरको फोकर १०० विमानलाई एभियसन म्युजियम बनाएको बताए ।
करिब सात कठ्ठा जग्गामा फैलिएको म्युजियम सञ्चालनका लागि डेढ करोड रुपैयाँ लगानी गरिएको उप्रेतीले बताए । ‘यही कञ्चनपुरमा म हुर्किए । यहीको सिद्धनाथ विज्ञान क्याम्पसबाट आईएस्सीको पढाई पुरा गरे,’ उनले भने, ‘त्यही भावनात्मक सम्बन्धका कारण मुनाफा भन्दा पनि कञ्चनपुरको पर्यटनको विकासका लागि म्युजियम स्थापना गरेको हु ।’
क्याप्टेन उप्रेतीले एभियसन म्युजियमलाई आकर्षणको केन्द्र बनाउन भारतबाट दुई वटा ऊट पनि ल्याउन लागिएको सुनाए । भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले कञ्चनपुरमा एभियसन म्युजियम स्थापना गरेकोमा क्याप्टेन उप्रेतीप्रति आभार व्यक्त गरे । उनले एभियसन म्युजियमको सञ्चालनले कञ्चनपुरको पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ पत्रकार चित्रांग थापा, पूर्व प्रमुख जिल्ला बन अधिकृत रमेश चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूर पश्चिम इन्चार्ज ज्ञानेन्द्र महताले कञ्चनपुरमा एभियसन म्युजियम स्थापना गरेकोमा क्याप्टेन उप्रेतीलाई धन्यवाद दिए ।
तपाईको प्रतिक्रिया