Close This

देव बहादुर बमको संघर्षको कथा : मजदुरदेखि नवजीवनको अध्यक्षसम्म

शनिबार चैत ११, २०७९/ Saturday 03-25-23
Paschim Today

दीर्घराज उपाध्याय
सपना नदेख्ने मान्छे बिरलै हुन्छन । र, ती मध्ये बिरलैले सपना पुरा गर्छन । किनकी सपना देख्ने सबैसंग त्यसलाई पुरा गर्ने योजना र त्यो योजनालाई साकार पार्ने दृढ ईच्छाशक्ति हुदैन । देव बहादुर बमसंग सपना थियो । र, त्यो सपना पुरा गर्ने योजना थियो । र, योजनालाई मूर्त रुप दिने दृढ ईच्छाशक्ति थियो । एउटा सामान्य मजदुरबाट उनलाई त्यही दृढ संकल्प र ईच्छाशक्तिले देशकै पहिलो बैकिङ कारोवार गर्ने देशकै ठूलो सहकारी मध्यको एक नवजीवनको अध्यक्ष बनायो । 

२०२८ साल चैत ६ गते डोटीको सिमचौर गाँउ विकास समिति–२ काटै (हाल बोगटान फुड्सिल गाँउपालिका– १) मा हर्क बहादुर बम र रम्भादेवी बमका साहिला सन्तानका रुपमा जन्मिएका देव बहादुर बम सानैदेखि मिहिनेती थिए । उनका दुई दिदी, दुई बहिनी र दुई भाई थिए । कतिपय मान्छे आफू जन्मिएको परिवेश, भूगोल र परिवारलाई लिएर गुनासो गर्छन । कस्तो गरीव परिवारमा जन्म भयो ? कस्तो बिकट भूगोलमा जन्मिए ? र, कतिपय मान्छेहरु अरुको आस र अपेक्षा गर्छन । आफू मिहिनेत गर्दैनन । सपना देख्दैनन । ति मान्छेहरु सधै दुःखी हुन्छन । उनी अपवाद थिए । उनले आफू हिड्ने बाटो आफै बनाए । र आफैले बनाएको बाटोमा हिडे । र, गन्तव्यमा पुगे ।

उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । पहाडमा विद्यालय थिएन । उनी ठूलो बुवासंगै कैलालीको सत्ती झरे । त्यही पाँच कक्षासम्म पढे । त्यसपछि काकासंग धनगढी आए । उनलाई ६ कक्षादेखि क्याम्पससम्म काकाले पढाए । उनले अभाव झेले । कष्ट झेले । तर उनी बिचलित भएनन । उनले हार कहिल्यै स्वीकार गरेनन । र, हार खाएर उनी कहिल्यै भागेनन । उनी समस्या र विपक्षीसंग जहिल्यै जुधे । उनी दिउसो विद्यालय जान्थे । साँझ गौरीफन्टाबाट चिनी ल्याएर धनगढी बेच्थे । तीन रुपैया गौरीफन्टाबाट ल्याएको चिनी धनगढीमा पाँच रुपैयामा बेच्थे । त्यही मार्जिनमा उनको जिन्दगी चलेको थियो । 

भनिन्छ, जिन्दगी कहिल्यै सोझो रेखामा हिड्दैन । उनको जिन्दगीको त रेखा नै बांगो थियो । बिल गेट्सको भनाई छ, गरीव भएर जन्मिनु तिम्रो दोष होईन । तर गरीव भएर मर्नु तिम्रो दोष हो । उनले जहिल्यै यो भनाई आत्मसात गरे । उनी गरीवीमा जन्मिए । तर उनले त्यही गरिवीमा टेकेर संघर्ष गरे । र, अघि बढे । 

विद्यालयस्तरमै आफ्नो खर्च आफै जुटाउने बानी परेका उनी क्याम्पस जान थालेपछि गर्जो टार्ने भन्दा माथि सोच्न थालिसकेका थिए । पढाईसंगै उनी गाडीको खलासी भए । खलासी हुदा उनका हातमा औजारहरुमा अभ्यस्त हुन थाले । त्यसले उनलाई मेकानिक बनायो ।हातमा सीप । मनमा आत्मविश्वास । त्यही सीप र आत्मविश्वासले उनलाई मालिक बन्ने सपना देखायो । त्यो सपना पुरा गर्न उनी दिल्ली पुगे ।  १० हजार भारु लगेर दिल्ली गएका उनले त्यहाँबाट टुल्स किनेर ल्याए । र, शुरु गरे दीपक अटो मोवाईल्स । त्यसपछि उनले दुई लाख रुपैयामा ऋण लिएर लुब्रिकेन्टको  व्यापारमा हात हाले ।

बाल्यावस्थामा उनीसंग साईकल चढ्ने पैसा थिएन । उनी विद्यालय पैदल जान्थे । तर रातदिन मिहिनेत गरेर उनले जग्गा जोडे । घर बनाए । गाडीहरु जोडे । उनको स्वामित्वमा अहिले ८ वटा गाडी छन् । र, आफू पनि गाडीमा चढ्छन । उनले भाईहरुलाई पढाए । र, आफूसंगै व्यवसायमा डो¥याए । आज भाईहरु समेत व्यवसायमा जमेका छन् ।

२०५१ सालमा कैलालीको सहजपुरबाट बिहा गरेका उनका दुई छोरी एक छोरा छन् । जेठी छोरी संगिता जन्मिएको दिन उनको जिन्दगीको सबैभन्दा ठूलो खुशीको दिन थियो । संगिता एमबीए गरेर शिखर ईन्स्योरेन्समा छैठौ तहमा जागीरे छन् । माहिली छोरी साम्राज्ञी बम होटल म्यानेजमेण्टको पढाई पुरा गरेर दुबईमा काम गर्न थालेकी छन् । कान्छो छोराले १२ कक्षा पास गरेको छ ।
गुरुबाट प्रभावित भएर कम्युनिष्ट बने
विद्यालयमा उनलाई माया गर्ने शिक्षक थिए, महेश्वर पाठक । जसले उनलाई ६ देखि १० मा भूगोल र अर्थशास्त्र पढाए । पाठक सर कम्युनिष्ट बिचारधारा बोक्थे । पाठक सरबाट प्रभावित भएर उनी पनि कम्युनिष्ट भए । नेकपा एमालेको मजुदर संगठन नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)को जिल्ला, प्रदेशदेखि केन्द्रमा बिभिन्न भूमिका र पदमा रहेर उनले काम गरे । मजदुरहरुको हकहीत र अधिकारका लागि उनी सधै लडे । उनको नामले पनि मालिकहरु तर्सिन्थे । श्रमिक सहकारी प्रबद्र्धन कमिटिको अध्यक्ष भए । जस अन्तर्गत ७०० भन्दा बढि श्रमिक सहकारी छन् ।व्यवसायिक प्रयोजन र जिफन्ट मार्फत उनले संसारका बिकसित ३१ देशको भ्रमण गरिसेकका छन् । 
सिण्डिकेट आन्दोलनको नेतृत्व
सेती महाकाली ट्रक यातायात व्यवसायी संघका उनी संस्थापक मध्यका एक हुन् । पहिलो कार्यकाल उनी त्यसको सदस्य भए । दुई कार्यकाल उपाध्यक्ष । अनि एक कार्यकाल अध्यक्षको जिम्मेवारी निर्बाह गरे । उनी संस्थागत हीतका लागि जहिल्यै अग्रपंक्तिमा रहेर लडे । सिण्डिकेट आन्दोलनमा उनी निकै आक्रामक थिए । यद्दपि फर्केर हेर्दा उनी अहिले आफैले नेतृत्व गरेको त्यो आन्दोलनलाई कानुनको बर्खिलाप थियो भन्ने स्वीकार गर्छन ।  

हठि । दुस्साहसी । आफ्ना कुरा अरुलाई सुनाई छाड्ने । र, आफ्ना कुरा मनाई छाड्ने । अलि जिद्दी जस्ता । अलि कठोर जस्ता । उनलाई नजिकबाट चिन्नेहरु उनलाई त्यतिमै सिमित राख्दैनन, उनी जति कठोर छन्, त्यति सरल र नरम पनि छन् । बस्, उनीसंग कस्तो अपेक्षा गर्ने त्यो अर्को मान्छेको व्यवहारमा भर पर्छ । उनी कस्ता भने, पानी जस्ता । बोत्तलमा राखे बोत्तल जस्ता । गिलासमा राखे, गिलास जस्ता ।

रिसाएर बोलचालै बन्द भएकाहरुसंग पनि केही समयमै उनको प्रियकर सम्बन्ध भईसकेको हुन्छ । उनी भन्छन्, कुनै संस्थागत मुद्दा र विषयमा भएको बिबाद सधै भरी सम्झिने बानी छैन ।

तर उनलाई कोही मान्छे मन परेन त परेन । मन नपर्ने मान्छे प्रति उनी पूर्बाग्रह राख्छन्, यस्तो गुनासो गर्नेहरु पनि नभएका होईनन ।  
जुन संस्थाले ऋण दिएन, त्यसैको नेतृत्व
उनी वर्कसप चलाउथे । त्यही बेला नवजीवन सहकारी संस्थाबाट उनले एक लाख रुपैया ऋण लिन खोजे । उनले ऋण पाएनन । अढाई दशकपछि ऋणका लागि नपत्याउने त्यही सहकारीको अध्यक्षमा निर्बाचित भए । यद्दपि उनी सहजै र सामान्य मिहिनेतबाट भने नवजीवनको अध्यक्ष बनेका होईनन । उनी पहिलो पटक २०६८ सालमा सञ्चालक समिति सदस्य पदमा निर्बाचित भएका थिए । त्यसयता उनी बिभिन्न भूमिका र पदमा रहेर काम गरे । उनी यसअघि उपाध्यक्ष थिए । गत वर्ष भएको निर्बाचनमा भने तीन वर्षका लागि अध्यक्षमा निर्बाचित भए । उनले अध्यक्षका रुपमा नवजीवनबाट पाउने भत्ता भने दृष्टि फाउण्डेसनलाई सहयोग गर्दै आएका छन् । 

No photo description available.

उनलाई झस्काउने दुई घट्ना
उनी दुई पटक दुर्घटनामा परे । दुई पटक नै उनी बालबाल जोगिए । ती दुई दुर्घटनाले उनलाई बेला बेला झस्काईरहन्छ । एक पटक उनले चलाएको मोटरसाईकल नाईट बससंग ठोक्किदा उनी गम्भीर घाईते भए । नाईट बसले कुल्चिएर मोटरसाईकल कच्याककुचुक भयो । उनी मुस्किलले बाँचे । दुईटै खुट्टा र एउटा हात भाँचिएर दुई महिना अस्पतालको शैयामा बिताए ।

२०६५ सालमा उर्लिदो मोहना नदी तर्न साथीसंगै हाम फालेका उनी अचानक भुमरीमा फसे । साथीहरुले सोचे उनी अव निस्किदैनन । तर उनले मृत्युलाई जिते । मुस्किलले भुमरीबाट निस्किएर नदी पार गरे । उनी यी दुई घट्ना कहिल्यै    बिर्सिदैनन । 

यदि तपाईसंग जित्ने आकांक्षा छ भने आधा जीत भईसकेको हुन्छ । यदि छैन भने आधा हारिसक्नु भएको छ, –डेविड एम्ब्रोजको यो भनाईसंग उनको जीवन र संघर्षको कथा मेल खान्छ । मैदानमा एक्लै भए पनि उनले जहिल्यै जित्ने आकांक्षा राखे । त्यही आकांक्षाले उनलाई सधै जित दिलायो । उपलब्धी दिलायो । सफलता दिलायो । 

No photo description available.