हिमालयन बैंक र नवजीवन सहकारी विजयी

शनिबार चैत १८, २०७९/ Saturday 04-01-23
Paschim Today

धनगढी,१८ चैत । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा हिमालयन बैंक विजयी भएको छ । शनिबार धनगढीमा भएको फाइनलमा खेलमा हिमालयनले एसबीआइ बैंकलाई ४–० गोलअन्तरले हराएको हो ।

हिमालयनका किशोर पनेरुले दुई तथा जीवन शाही र शौरभ थापाले एक/एक गोल गरेका थिए । नेपाल बैंकले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, एसबीआइ बैंकलगायत नौ वटा टीमको सहभागिता रहेको थियो । 

संघकै आयोजनामा शनिबार भएको ब्याडमिन्टन प्रतियोगितामा नवजीवन सहकारी संस्था लिमिटेडका चेतराज पाण्डेय र जितबहादुर थापाको टीमले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै कृषि विकास बैंकका दीपक कुँवर र दिलबहादुर चौधरीको टीमले द्धितीय र राष्ट्रिय वाणिज्य बैंकका प्रभुराज जोशी र केशव गिरीको टीमले तृतीय स्थान हासिल गरेको छ । ब्याडमिन्टन प्रतियोगितामा विभिन्न छ वटा बैंकका १० वटा टीमको सहभागिता रहेको प्रतियोगिताका रेफ्री प्रकाश सिंहले जानकारी दिए ।

संघले आफ्नो ३३ औँ वार्षिकोत्सवको अवसरमा फुटसल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । विजयी टीम तथा खेलाडीलाई यही चैत २२ गते औपचारिक कार्यक्रमका बीच नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिने नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दिपेन्द्रबहादुर भण्डारीले बताए । सबै बैंकबीच एकता र समन्वय बढाउन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए ।

प्रतियोगिताहरुमा फियोन कृषि विकास बैंकका सुदूरपश्चिम अध्यक्ष नारद बोगटी, फियोन नेपाल बैंकका प्रदेश अध्यक्ष पदमराज जोशी, फियोन राष्ट्रिय समिति सुदूरपश्चिम अध्यक्ष दीर्घबहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।