काठमाडौँमा बङ्गलादेशी नागरिकको हत्या, एक जना पक्राउ

बुधबार श्रावण १५, २०८२/ Wednesday 07-30-25
Paschim Today

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१२ स्थित नरदेवीमा बङ्गलादेशका नागरिकको हत्या भएको छ । बुधवार बिहान ३ बजेतिर ५५ वर्षीय सुब्रत पालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

मृतक नरदेवीमा सुनका गहना बनाउन काम गर्थे । हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर–२ घर भएका ४२ वर्षीय श्याम कालिकोटे छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ परिसरको संयुक्त टोलीले आरोपीलाई गोङ्गबुबाट पक्राउ गरेको हो । आरोपीले फलामले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

नरदेवीमा फ्ल्याट लिएर बस्दै आएका बङ्गलादेशी नागरिकका सहयोगीले उनी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।