Close This

एसइईका विद्यार्थीहरूका लागि नेपाल टेलिकमले ल्यायो नयाँ अफर

बिहीबार चैत २३, २०७९/ Thursday 04-06-23
Paschim Today

काठमाडौँ,२३ चैत । नेपाल टेलिकमले एसइईका विद्यार्थीहरूका लागि एसइई २०७९ अफर उपलब्ध गराउने भएको छ। यसअन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ।

२०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ।

उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ। सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन्।

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपयोग गर्न सकिने व्यवस्था गरिएको छ। नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु. १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ।

साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएससहितको सुविधा प्रयोग गर्न सक्नेछन्।

यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ। यसअनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र (एडमिट कार्ड) वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।

यस अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ।

रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ।