Close This

न्यूयोर्कमा जमेका कैलालीका जीवन

शनिबार बैशाख २, २०८०/ Saturday 04-15-23
Paschim Today

दीर्घराज उपाध्याय ।

मान्छे कुन भूगोलमा जन्मियो ? बिकट वा सुगम ? कस्तो परिवारमा जन्मियो ? सम्पन्न वा बिपन्न ? यी कुराले कुनै अर्थ राख्दैन । हो, जन्मिनु कसैको बशमा हुदैन । जिन्दगी कस्तो बनाउने ? यो कुरा भने त्यो व्यक्तिले देख्ने सपना र उसको ईच्छाशक्तिमा निर्भर हुन्छ । आफू पछि पर्नुको दोष कतिपय मान्छेहरु आफू जन्मेको भूगोल, परिवेश र परिवारलाई दिन्छन । तर बुद्धिमान मान्छे भने हरेक चुनौतीलाई अवसरमा परिणत गर्छ । उसले कसैप्रति गुनासो गर्दैन । बस्, कर्ममा विश्वास गर्छ । र, त्यही कर्मले आफ्नो अलग पहिचान बनाउछ । तिनै मध्यका एक हुन्, जीवन अर्थात जंग बहादुर बम ।

२०२६ साल भदौ १९ गते डोटीको चवरा चौताराको खतेडीमा जन्मिएका उनी पदम सिंह बम र पद्मा देवीका ११ सन्तानमा छैठौ थिए । उनीपछि तीन भाई र दुई बहिनी जन्मिए । पहाडबाट तराई झर्ने लहर चलेको थियो । उनका बुवा २०३१ सालमा तराई झरे । पाँच वर्षको उमेरमा उनी पनि बुवासंगै तराई झरे । प्रतापपुरमा स्थायी बसोबास गरेका उनका बुवाले उनलाई त्यहीको विद्यालयमा भर्ना गरे । तीन कक्षा पास भएपछि उनलाई थप पढाउन टीकापुर लगे । त्यतिबेला टीकापुर आवासिय मावि (हालः विरेन्द्र बिद्या मन्दिर) मा चार कक्षामा भर्ना भए । त्यहीबाट उनले २०४३ सालमा एसएलसी पास गरे ।

उनका बुवामा सन्तानहरुको सुखद भविश्यका लागि पढाउनु पर्छ भन्ने चेत थियो । बुवाको त्यही चेतले उनले पढ्न पाएका थिए । एसएलसी पास गरेपछि उनी पढ्न काठमाण्डौं गए । त्यतिबेला सुदूर पश्चिमबाट काठमाण्डौं जाने बाटो थिएन । कर्णालीमा पुल थिएन । पूर्व पश्चिम राजमार्ग बनिसकेको थिएन । उनी बर्खाको समयमा टीकापुरबाट मोहना नदी तरेर भारतको तिकुनिया पुगे । त्यहाँबाट नानपारा, रुपेहेडिया हुदै नेपालगञ्ज । राति ११ बजे नेपालगञ्ज पुगे । जीवनमा पहिलो पटक टांगा चढे । नेपालगञ्जबाट बस चढेर काठमाण्डौं । चामल, दाल, नुन तेल घरबाट बुवाआमाले पठाईदिन्थे । कोठा भाडाको रकम भने होम ट्युसन पढाएर जुटाउथे । आर्मी र प्रहरी अफिसरका छोराछोरीलाई घरमै गएर पढाउन थालेपछि उनलाई आर्थिक समस्या भएन । आफू पढ्दा पढ्दै उनले दुई भाईलाई पनि पढाउन काठमाण्डौं लगे । र, आफूसंगै राखेर पढाए ।

भनिन्छ, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ । उनको उद्देश्य एउटै थियो–पढ्नु, पढ्नु मात्र पढ्नु । उनी ईञ्जिनियर बन्न साईन्स पढ्न चाहन्थे । तर भर्ना भए, मीन भवन क्याम्पसमा । त्यहीबाट उनले प्रमाण पत्र र स्नातक पढे । र, १९९४ मा त्रिभुवन विश्वविद्यालयबाट फाईनान्समा स्नातकोत्तर पुरा गरे । उनले पढाई त्यतिमै रोकेनन । प्राईभेटबाट बीएल गरे ।

पढ्ने हुटहुटीले उनलाई कहिल्यै छोडेनन । त्यही हुटहुटीले उनी स्टुडेण्ट भीसामा सन २००१ मा अमेरिका पुगे । ईन्टरनेशनल कुकिङमा ग्रयाजुयट गरे । एकातिर पढाई । अर्कोतिर काम । आराम गर्ने उनको बानी थिएन । न्यूयोर्कको लक आईल्याण्डमा साढे पाँच वर्ष काम गरे । वेटरबाट काम शुरु गरेका उनी त्यहाँबाट एक्जुकेटिभ सेफ भएर निस्के । त्यसपछि उनले क्राउन प्लाजा होटलमा सुपरभाईजर सेफका रुपमा काम गरे ।

सधैभरी अरुका लागि कति काम गर्ने ? जागीरले जिन्दगीलाई निर्बाहमुखी मात्र बनाउछ भन्ने उनको बुझाई थियो । त्यही बुझाईले उनलाई व्यवसाय शुरु गर्न प्रेरित ग¥यो । जागीरकै क्रममा उनले साझेदारीमा रेष्टुरेण्ट व्यवसायमा हात हाले । तिब्बतीय मुलका अमेरिकन साझेदार थिए । रेष्टुरेण्टमा दुई लाख डलर लगानी गरेका थिए । रेष्टुरेण्ट घाटामा गएपछि सन २०१२ मा साझेदारले साथ छोडे । लगानी डुब्यो । तर, उनी बिचलित भएनन । त्यसपछि उनले एक्लै रेष्टुरेण्ट चलाए । र, घाटामा गएको रेष्टुरेण्टलाई नाफामा लगे ।

२०१२ ज्याक्सन हाईटमा फ्रेण्डस कर्नर क्याफे खोले ।  त्यसपछि ज्याक्सन हाईटमै अर्को रेष्टुरेण्ट खोले–स्पाईसी तिब्बत । पुरानो साझेदार यसमा जोडिए । उनी व्यवस्थापन हेर्छन । साझेदार काम गर्छन । २०१७ मा उड साईटमा काठमाण्डौं फ्युजन किचेन सञ्चालनमा ल्याए । त्यसको छेउमै शुरु गरे, जुजु मःम (फ्रोजन मम) । र, २०२३ मा उनले ज्याक्सन हाईटमा रोयल व्यञ्जन प्यालेस एण्ड बार खोले । जहाँ एकै पटक १२० जना बस्न मिल्छ । उनका रेष्टुरेण्टहरुमा तिब्बतीयन, नेपाली र भारतीय खानाका परिकार पाईन्छन । ६० प्रतिशत खानाका परिकार भने भारतीयमुलका ग्राहकहरुलाई लक्षित गरी बनाउछन । एक पटक हाम्रो रेष्टुरेण्टमा आएको ग्राहक फर्केर फेरि आउछ, उनी त्यसको रहस्यको गाँठो फुकाउछन्, म आफै मेन सेफ हु । ग्राहकहरुको रुचि र स्वाद अनुसार कस्तो परिकार पस्किने मैले बुझेको छु ।

यो अबधिमा पाँच वटा रेष्टुरेण्ट खोले । एउटा बिक्री गरे । यतिबेला अमेरिकाको न्यूयोर्कमा उनको स्वामित्वमा चार वटा रेष्टुरेण्ट सञ्चालनमा छन् । एउटा साझेदारीमा र तीन वटा एकल स्वामित्वमा छन् । जसमा उनले करीव २० लाख डलर लगानी गरेका छन् । जहाँ ३२ जनाले रोजगारी पाएका छन् ।

 

अमेरिका पूँजीवादी देश हो । अर्काको काम गरेर पैसा त बन्दैन । गर्ने भनेकै व्यापार हो । केही वर्ष अर्काको व्यवसायमा काम गर्ने हो । सीप सिक्ने । अनुभव लिने । अनि आफ्नै व्यापार शुरु गर्ने । अमेरिका प्रवेशसंगै उनले मनमनै यो कुरा सोचिसकेका थिए ।
अमेरिकामा कामले कोही सानो अनि ठूलो हुदैन । हरेक कामको सम्मान छ । र, काम गर्न कोही संकोच मान्दैनन पनि । रेष्टुरेण्ट शुरु गर्दा उनी वेटर आफै थिए । सेफ आफै । भाडा आफै माझ्थे । र, लेखापाल पनि आफै थिए । उत्कृष्ट आतिथ्यता र व्यबहार, गुणस्तरीय र स्वादिष्ट परिकार उनले यी कुरामा कहिल्यै कमि हुन दिएनन । यही कारण उनले रेष्टुरेण्ट व्यवसायमा फर्केर कहिल्यै हेर्नु परेन ।

वेटरबाट चार वटा रेष्टुरेण्टको मालिक
अमेरिका सुनेको । तर नटेकेको । सपनाको देश । तर सपनामा पनि नदेखेको । जहाँ आफ्नो भन्नु कोही थिएन । न त चिनेका साथी भाई नै थिए । काठमाण्डौंबाट अमेरिका उड्नु अघि उनका एक जना साथीले न्यूयोर्कमा रहेका आफ्ना साथीसंग कुरा गराई दिएका थिए । र, तिनले अमेरिकामा खाने,बस्ने व्यवस्था मिलाईदिने बाँचा गरेका थिए । तर त्यस्तो बाँचा गर्ने साथी बिमानस्थलमा लिनसम्म आएनन ।

उनी कहाँ जाने ? के गर्ने अन्यौलमा थिए । जसोतसो एयरपोर्टबाट बाहिर निस्किए । साथीले दिएको नम्बरमा फोन गरे । तर त्यहाँ फोन उठाउने व्यक्तिले ती साथी अन्यत्र गईसकेको सुनाए । उनले आफ्नो समस्या सुनाएपछि भने फोन उठाउने व्यक्तिले बोलाए । र, बस्ने व्यवस्थासंगै काम दिलाए ।

उनी ईण्डियन रेष्टुरेण्टमा हेल्परको काम गर्न थाले । दिनमा १२ घण्टा र सातामा ६ दिन काम गर्थे । त्यस वाफत २५० डलर पाउथे । रेष्टुरेण्टको हेल्परबाट अमेरिकामा काम शुरु गरेका उनी दुई दशक लामो मिहिनेतबाट चार वटा रेष्टुरेण्टका मालिक बनेका छन् ।

सामाजिक कार्यमा सधै अगाडि
अमेरिकामा सबै खाले राजनीतिबाट टाढा रहेका उनी सामाजिक कार्यमा भने सबैभन्दा अगाडि छन् । नेपालमा होस वा अमेरिकामा, जव कोही आपत, विपतमा पर्छन । उनी न त्यसको जात सोध्छन । न त भूगोल । बस्, खुलेर सहयोग गर्छन ।अमेरिकामा भएपनि उनको मन भने नेपालमै हुन्छ । बाढी, पहिरोबाट होस वा कोभिडबाट, जव सुदूरपश्चिम विपत्तिमा    देख्छन । कोही ऋणले थला परेको होस वा आर्थिक अभावले उपचार गर्नबाट बञ्चित भएको होस । उनले भ्याएसम्म सहयोग गर्छन ।
आफू कोभिडले थला परेर तंग्रिन पाएका थिएनन । कोभिडले आक्रान्त नेपालको अवस्था देखेपछि उनी चुप लागेर बस्न सकेनन । डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरे । कोभिडको दोस्रो लहरमा अक्सिजनको अभावले छटपटाएर मान्छेको मृत्यु भएको समाचार सुनेर बेचैन भए । र, अक्सिजनका लागि थालिएका अभियानहरुमा सहयोग गरे ।
हालै भब्यता साथ सम्पन्न टीकापुर साहित्य महोत्सव सफल बनाउन शुरुमै एकलाख रुपैया सहयोग गरी आर्थिक श्रोत जुटाउने कार्यको शुभारम्भ बमले नै गरेका हुन् ।

मरी लानु के छ ? धन थुपारेर कसले संगै लगेका छन् र ? उनी थुपार्ने दौडमा कहिल्यै सामेल भएनन । र त, उनी कमाईको निश्चित अंश सामाजिक कार्य र असहायहरुका लागि सहयोग गर्न कहिल्यै कञ्जुस्याई गर्दैनन ।

गत वर्ष टीकापुरमा शव बाहन र कटाँसेमा एम्बुलेन्सका लागि सहयोग गरे । टीकापुरमा रक्त सञ्चार केन्द्र सञ्चालनका लागि पनि उनले सहयोग गरे । डा. भगवान कोईरालाले सात वटै प्रदेशमा शुरु गर्न लागेको बाल अस्पतालका लागि उनी र उनकी पत्नीले ११ हजार डलर सहयोग गरिन । हात खुट्टा भाँचिएका, मृगौला पिडित, कलेजोको समस्या भएका थुप्रै असहाय व्यक्तिहरुलाई उनले सहयोगसंगै काउन्सिलिङ पनि गरेका छन् ।

प्रचारमा रमाउनेहरुको भीडमा उनी पृथक छन् । सहयोग गर्छन । प्रचार रुचाउदैनन । लोप्रोफाईलमा बस्छन । निष्काम कर्मयोगी । जो फलको आशा गर्दैनन । बस्, कर्म गरी रहन्छन ।

पत्नी पार्वतीको सहयोग र साथले यो सफलता हात पारेको उनी सगर्व बताउछन् । उनकी पत्नी पेशाले नर्स हुन् । अस्पतालमा काम गर्छिन । कलेजमा पढाउछिन् । सामाजिक र व्यवसायिक कार्यमा उनलाई सदैव हौसला दिन्छन । डिसेम्बरमा नर्सिङको पढाई पुरा गरेकी छोरी सुरभीले आमालाई पछ्याएकी छन् ।

ईञ्जिनियरिङ बन्न थाहन्थे, सेफ बने

उनका बुवा पहाडका मुख्या थिए । प्रतापपुर झरेपछि उपप्रधान भए । गाँउमा बिभिन्न किसिमका मुद्दा मामिला आउथे । त्यसैले छोरा पढेर वकिल बनोस भन्ने चाहन्थे । तर उनको रुचि ईञ्जिनियरिङमा थियो । पढे फाईनान्स । समय र व्यवसायले उनलाई भान्छाको ईञ्जिनियरिङमा अब्बल बनायो । जसले उनलाई नाम, दाम र पहिचान दियो ।

जिन्दगी त्यो होईन, मान्छेले जे सोच्छ । एउटा सोच्छ, अर्कै हुन्छ । रोजाई एउटा हुन्छ, हात पर्छ, अर्कै । तर जे छैन । त्यसमा दुःखी हुने । यो मानवीय स्वभाव हो । उ आफूसंग नभएको चिजको खोजीमा भौतारिन्छ । उनी अपवाद थिए । आफूसंग जे छ, त्यसैमा सन्तुष्ट भए । आफ्नो काममा रमाए । र, त्यसैलाई जीवन पद्धति बनाए । कतिपय अवस्थामा उनी आफूले नचाहेको बाटोमा हिडे । तर, त्यो बाटोको मालिक उनी आफै भए  । र, आफ्नै मर्जीमा उनले गन्तव्य बनाए ।

जे काम गर्छौ । मन लगाएर गर । जुन काममा मन छैन । त्यो नगर । आफूले गर्ने कामलाई माया गर । दुईटा डुंगामा खुट्टा राख्दै नराख । यी उनका सफलताका मन्त्रहरु हुन् ।

(पश्चिम टुडेमा प्रकाशित कुनै पनि सामग्री अनुमती बिना साभार गन मनाही छ । )