Close This

कक्षा १२ मा एनजी आएकाले ग्रेड वृद्धि परीक्षा दिन पाउने

शुक्रबार बैशाख २२, २०८०/ Friday 05-05-23
Paschim Today

काठमाडौं, २२ वैशाख । कक्षा १२ मा जति विषयमा ‘नन ग्रेडेड’ अर्थात एनजी प्राप्त गर्ने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । दुई विषयभन्दा बढीमा एनजी प्राप्त गर्ने विद्यार्थीले त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णय भएको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लेटर ग्रेडिङ निर्देशिका २०७८ लाई संशोधन गरेर जति विषयमा एनजी आएको छ त्यत्तिकै विषयको मात्र परीक्षा दिनुपर्ने बताए ।

‘यसअघि दुई विषयभन्दा बढीमा एनजी आएका विद्यार्थीले पुरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, संशोधन गरेर जति विषयमा एनजी आएको त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्ने निर्णय गरिएको हो,’अध्यक्ष शर्माले भने । यसअघि बढीमा दुई विषयमा नन ग्रेडेड प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । दुई विषयभन्दा बढीमा नन ग्रेडेड प्राप्त गर्नेहरुले सबै विषयको परीक्षा दिनुपर्ने हुन्थ्यो । नयाँ निर्णयबाट गत वर्ष दुई विषयभन्दा बढीमा नन ग्रेडेड प्राप्त गरेका ५५ हजार भन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिने बाटो खुलेको हो ।

‘गत वर्ष मौका परीक्षा दिएरपछि ५५ हजारभन्दा बढी विद्यार्थीले एनजी ग्रेड कटाउन सकेका थिएनन् । उनीहरू सबै विषयको परीक्षा दिन लगायो भने ड्रप आउट हुने खतरा बढेर गयो । त्यसैले यो निर्णय गरिएको हो,’ अध्यक्ष शर्माले भने । गत वर्षदेखि लागू भएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार दुई विषयभन्दा बढीमा नन ग्रेडेड आएको खण्डमा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो ।

गत वर्षदेखि कार्यान्वयनमा आएको उक्त प्रावधान अनुसार यो वर्ष ५५ हजार बढी विद्यार्थी सबै विषयको परीक्षा दिनुपर्ने थियो । यस्तो अवस्थामा धेरै विद्यार्थीहरू सबै विषयको परीक्षा दिन सकिने अवस्थामा नरहेपछि उक्त निर्णय गरिएको उनको भनाई छ ।