Close This

कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा

आइतबार बैशाख २४, २०८०/ Sunday 05-07-23
Paschim Today

काठमाडौँ,२४ वैशाख ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ४ लाख ६७ हजार ३८९ विद्यार्थीले फाराम भरेका छन् ।

परीक्षाको तयारी अन्तिम चरणमा पुगिसकेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा केन्द्र तोक्ने काम पुरा भएको बताए । त्यस्तै केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्ने लगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।टेक्निकल काम बाहेकका अन्य काम पुरा भइसकेको अध्यक्ष शर्माले बताए ।

यो वर्ष ५६ हजार भन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षा दिन लागेका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएका थियो त्यक्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।यसअघि ३ वा सोभन्दा बढी विषयमा नन ग्रेडेड अर्थात एनजी ल्याएका विद्यार्थीले यो वर्ष पुरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो ।

तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेको थियो। त्योसँगै परीक्षाका लागि ६ वटै विषयको फाराम भरेपनि जति विषयमा एनजी आएको छ त्यक्तिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा मन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय गरेको थियो ।

परीक्षा फाराम भर्दा ६ वटै विषय भरे पनि जुन विषयमा एनजी आएको छ ती विषयको मात्र परीक्षा दिनुपर्नेछ । यसअघि गत वर्षदेखि लागू भएको लेटर ग्रेडिङ सिस्टम अनुसार दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पुरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो ।

तर, गत वर्ष लिइएको ग्रेड वृद्धि परीक्षामा समेत सफल हुन नसकेपछि ५६ हजार विद्यार्थीले यो वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भएको थियो । यस्तो हुँदा ड्रप आउट हुने सम्भावना बढेपछि बोर्डको प्रस्तावमा शिक्षामन्त्री अशोक कुमार राईले निर्देशिका संशोधन गरेका हुन् ।