Close This

नेपाल डे परेडमा सुदूर पश्चिमको संस्कृतिको भव्य प्रदर्शन

सोमबार जेठ ८, २०८०/ Monday 05-22-23
Paschim Today

न्यूयोर्क, २१ मे ।

अमेरिकाको न्यूयोर्कमा बिगतका वर्षमा झै यस वर्ष पनि २१ मेमा नेपाल डे परेड आयोजना गरिएको छ । अमेरिकामा रहेका नेपालीहरुले भव्यताका साथ मनाउदै आएको डे परेडमा यस पटक पनि नेपालको संस्कृति, पहिचान र भेषभुषा झल्काउने झाँकी प्रदर्शन गरिए ।

सात वटै प्रदेशका संस्कृति र पहिचान झल्काउने झाँकीहरु प्रदर्शन गरिएको नेपाल डे परेडमा सुदूर पश्चिम प्रदेशको संस्कृति, भेषभुषा, बाजा, डेउडा र पर्यटकीय गन्तव्यहरुको प्रदर्शनीले सबैलाई आकर्षित गरेको थियो । डे परेडमा सुदूर पश्चिम प्रदेशको उत्कृष्ट प्रदर्शन र सहभागिता रहेको थियो ।

न्यूयोर्कको म्यानह्याटन ३८ स्टिट म्याडिसन एभिन्युबाट शुरु भएको परेड २३ स्ट्रिटको म्याडिसनमा समापन भएको थियो ।

नेपाल डे परेडमा  सुदूर पश्चिमका खप्तड, बडिमालिका, रामारोशन,शुक्लाफाँटा, अपि हिमाल, उग्रतारा, शैलेश्वरी, त्रिपुरा सुन्दरी, घोडाघोडी, कर्णाली नदीको पुल लगायतका पर्यटकीय गन्तव्यहरुका तस्वीरहरु सहित सुदूरपश्चिमको पहिचान झल्काउने भेषभुषाले सजाइएको ट्रकले म्यानह्याटन ३८ स्टिट म्याडेसनदेखि २३ स्ट्रिटको म्याडिसन परिक्रमा गरेको थियो ।

सुदूरपश्चिमेली पहिरन गामन  र सुदूर पश्चिमको भेषभुषामा सजिएका सुदूर पश्चिमका महिलाहरुले गौरा प्रदर्शन गरेका थिए । नेपाल डे परेडमा सुदूरपश्चिमको डेउडा, हुडके, छलिया, दाहिना–दमाउ बाजाले सबैलाई आकर्षित गरेका थिए । डे परेडमा छलिया नाँच गणेश प्रसाद ओझाले प्रदर्शन गरेका थिए । महासचिव रईभान महराले गौरा माता, दाहिना दमाउ बाजा र डेउडा प्रदर्शन गरेका थिए ।

आयोजक संस्था गैर आवासीय नेपाली संघ अमेरिकाले नेपाल डे परेडमा सुदूरपश्चिम समाज न्यूयोर्कका अध्यक्ष राम बहादुर देउवा, पूर्व अध्यक्ष गणेश बिष्ट र जीवन बमलाई अतिथिको आसन ग्रहण गराएको थियो ।

संयोजक देउवाले नेपाल डे परेडमा सुदूर पश्चिमको प्रदर्शन उत्कृष्ट रहेको बताए । उनले  डे परेडमा सहभागी हुने सम्पूर्ण सुदूर पश्चिमेलीहरु र डे परेड भव्यतापूर्वक सफल पार्न सहयोग गर्ने सबैलाई   धन्यवाद दिए ।

नेपाल डे परेड २०२३ लाई भव्यतापूर्वक सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशका तर्फबाट प्रदर्शन गरिने झाँकी तथा सांस्कृतिक कार्यक्रमका लागि बिभिन्न समितिहरु गठन गरिएका थिए ।

नेपाल डे परेडका लागि सुदूर पश्चिम प्रदेशका लागि सुदूर पश्चिम प्रदेश समाज न्यूयोर्कका अध्यक्ष राम बहादुर देउवालाई संयोजकको जिम्मेवारी दिईएको थियो ।

नेपाल डे परेडका लागि सुदूर पश्चिम समाजले सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी समाजका महासचिव रईभान महरालाई दिएको थियो ।  उपाध्यक्ष दान सिंह बिष्टलाई झाँकी व्यवस्थापन समितिको संयोजक र अर्का उपाध्यक्ष नविन ओझालाई आर्थिक समितिको संयोजक तोकिएको थियो। प्रचार प्रसार समितिको संयोजक महासचिव धिरेन्द्र चन्द र स्वयमसेवक परिचालन समितिको संयोजक गणेश बिष्ट  रहेका थिए ।