Close This

टुँडिखेलको डेउडाको सन्देश

शुक्रबार भदौ ८, २०८०/ Friday 08-25-23
Paschim Today

दीर्घराज उपाध्याय ।
राजधानी काठमाण्डौंंस्थित टुँडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एमालेका नेता भीम रावल लगायत सुदूर पश्चिम प्रदेशका नेताहरुले डेउडा खेलेको तस्वीर बिहीवार दिउँसोदेखि भाईरल भएको छ । सामाजिक सञ्जाल र अनलाईनका भित्ताहरुमा त्यही तस्वीरको चर्चा छ ।

यद्दपि यो पहिलो दृष्य भने होईन । यसअघिका वर्षहरुमा पनि गौराको अवसरमा टुँडिखेलमा सबै दल, बिचार र आस्था बोकेका नेताहरुले यसरी डेउडा खेल्न थालेको वर्षौ भयो । देउवाका कटु आलोचक मानिन्छन, एमाले नेता रावल । केन्द्रमा एउटै लाईन(देउवा) मा भएपनि सुदूर पश्चिममा काँग्रेस प्रमुख सचेतक रमेश लेखक र परराष्ट्र मन्त्री एनपी साँउदको आफ्नै लाईन र समूह छन् । बिगतमा एउटै लाईनमा भएपनि एमाले नेता रावल र अछामका अर्का नेता शेर बहादुर कुवँरको पार्टी र लाईन नै फरक छ, यतिबेला । कुनै बेला रावल माओवादी अध्यक्ष प्रचण्डको चर्को आलोचक थिए । बैतडीबाट प्रतिनिधि सभामा निर्बाचित दामोदर भण्डारी त प्रतिपक्षी दल एमालेका नेता हुन् ।

तर जव डेउडाको कुरा आउछ, तव त्यहाँ न सत्ता पक्ष हुन्छ, न त प्रतिपक्ष । न त कुनै लाईनको कुरा आउछ । बिबिध बिचार, आस्था र लाईनलाई एउटै मालामा जोड्न सक्ने अद्भूत जादु छ, डेउडामा । र, गौराले हरेक वर्ष यो अवसर जुराउदै आएको छ ।

हो, हिजो टुँडिखेलमा सबै लाईनहरु भत्किए । सबै बिचार र आस्थाहरु किनारा लागे । र, जोडिए एउटै मालामा । यही हो, डेउडाको बिशेषता । संसारको जुन सुकै भूगोलमा पुगेपनि गौरा र डेउडा, त्यहाँ पनि यसैगरी बाँचेको छ ।

सुदूर र मध्यपश्चिम (हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिभाजित) मा समूहमा खेलिने खेल हो डेउडा । डेउडा ‘टीम वर्क’ को उच्चतम उदाहरण हो । यस क्षेत्रको सांस्कृतिक पहिचान मात्र होईन, डेउडा । यो थ्रुपै कोणबाट अर्थपूर्ण पनि छ ।

युद्ध होस वा प्रेम, कहिले एक कदम अघि बढ्दै गर्दा, कहिले आधा कदम पछि पनि सर्नु पर्ने हुन सक्छ । डेउडा यही नियममा बाँधिएको छ । एक कदम अघि । आधा कदम पछि । भनिन्छ, डेढ कदम चाल्नु पर्ने नियम भएकोले यसलाई डेउडा भनिएको हो । डेउडा सहभागीहरुको हात एक अर्काको भित्र घुसारिएको हुन्छ । हातमा हात मिलाएर अघि बढे असफल हुने डर हुदैन भन्ने सन्देश डेउडाले दिन्छ । एकतामा शक्ति हुन्छ । सम्बन्ध मजबुत हुन भावनासंगै हातहरु पनि मिल्न जरुरी छ । यसले यही संकेत गर्छ ।

डेउडा खेल्नेहरु हरेक पाईलाहरु न कोही पछाडि र न कोही अगाडि । न धनी । न गरीव । न दलित । न गैर दलित । सबैका पैतलाहरु संगसंगै अघि बढ्छन् । पछि सर्छन । सबैसंगै । सबै समान । न उछिन्ने प्रतिस्पर्धा । न पछि पर्ने डर । यति अनुशासित मान्छे कही हुदैन । जति गौरामा हुन्छन ।

हो, कतिपय अगुवा, नेता र नेतृत्वमा रहेका व्यक्तिहरुको आलोचना पनि व्यंग्यात्मक शैलीमा डेउडामा गरिन्छ । सुन्नेलाई न रीस हुन्छ । न त प्रतिशोध । डेउडाको अर्को सुन्दर पक्ष हो, यो ।

डेउडाको अर्को बिशेषता हो, यो गोलाकारमा खेलिन्छ । जसले पृथ्वीलाई संकेत गर्छ । डेउडा खेल्नेहरुले पृथ्वीको परिक्रमा गरिरहेको भान हुन्छ । पृथ्वी छ, र त हाम्रो अस्तित्व छ । अवसर, प्रगति र सुबिधाले मान्छे जहाँ पुगेपनि उसको दायरा पृथ्वीभन्दा पर छैन । यसले भन्छ, प्रबिधिको बिकासले मान्छे चन्द्रमामा पुगेपनि हामी सबै यही पृथ्वीका सन्तान हौ ।

अझ रोचक कुरा त के भने सुदूर पश्चिमममा गौरा नआई दशैं आउदैन । दशैं आउन पनि गौरा आउनैपर्छ । गौराको महत्व कति छ, यही उदाहरण काफि छ ।

प्रेम, भाईचारा र सबैको अस्तित्वलाई हृदयबाटै स्वीकार गर्न सिकाउने डेउडा खेल्ने नेताहरुले यसबाट पाठ सिकेर अघि बढ्न सके सुदूर पश्चिमको विकास र समृद्धिका लागि धेरै वर्ष कुर्नु पर्ने छैन ।

अव सुदूर पश्चिमका नेताहरुका पैताला, हात र कदमहरु महाकाली करिडर, सेती लोकमार्ग, कर्णाली करिडर, पश्चिम सेती, पञ्चेश्वर, अपर कर्णाली, गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, गड्डाचौकी–चिसापानी छ लेन सडक, खुटिया–दीपायल फाष्ट ट्रयाक, मध्य पहाडी लोकमार्ग निर्माण जतिसक्दो चाँडो सम्पन्न गर्ने दिशामा अग्रसर हुनुपर्छ ।

डेउडामा जोडिएका हातहरु मिल्छन्, छुट्छन । गौरामा जुरेका साथहरु समयक्रममा कहाँ पुग्छन, थाह हुदैन । तर विकास र समृद्धिका लागि कोरेका रेखाहरु र त्यसको जगमा उभिने सबल अर्थतन्त्रले त्यसका नायकहरुलाई सधैभरी नागरिकका मनमा जीवित राखिरहनेछ । विद्यमान अवसर र समयलाई सदुपयोग गरेर नायक बन्ने वा यसलाई व्यक्तिगत स्वार्थमा दुरुपयोग गरेर खलनायक बन्ने त्यो भने नेताहरुकै हातमा छ ।