Close This

नेपालले कतारलाई ९ विकेटले हरायो, गर्‍यो सेमिफाइनल स्थान सुरक्षित

सोमबार भदौ १८, २०८०/ Monday 09-04-23
Paschim Today

काठमाडौं, १८ भदौ । नेपाली महिल क्रिकेट टोली मलेसियामा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार कतारलाई ९ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

चौथो  खेलमा कतारले दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १०.३ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित सर्वाधिक ३२ रन बनाइन् । यस्तै, इन्दु वर्माले १२ बलमा ३ चौकाको सहयोगमा अविजित २० रनको योगदान दिइन् । सीता राना मगरले २३ बलमा अविजित १७ रन जोडिन् । कतारका लागि सबिजा आदियेरी पाणयनले मात्र एक विकेट लिन सकिन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । उसका लागि साची धडवालले २१, अलीना खानले १५, एन्जेलिन मारेले अविजित १४ र कप्तान आयसाले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि अलराउन्डर इन्दु वर्माले सानदार बलिङ गरिन् । उनले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् ।

यस्तै, कविता जोशी र पूजा महतोले एक÷एक विकेट हात पारे । नेपाललाई दुई भने रनआउटको रूपमा प्राप्त भयो । जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट र तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको थियो । नेपालले अब मंगलबार यूएईसँग खेल्ने तालिका छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई तथा समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार रहेका छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।