हर्कको प्रश्न- प्रधानमन्त्री मुस्ताङमा के खान जानुभएको ?
काठमाडौं- श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्रीको अघोषित मुस्ताङ भ्रमणदेखि कोशी ब्यारेजको नियन्त्रणसम्मका विषयमा संसद्मा सरकारलाई र्याखर्याख्ती पारेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् र संसद्लाई छलेर प्रधानमन्त्री के चाख्न मुस्ताङ गएको ? भन्दै प्रश्न तेर्स्याए। प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बसेको व्यक्तिको निजी जीवन नहुने भन्दै उनले भ्रमणको उद्देश्यबारे सदनमा जवाफ माग गरे।
‘उहाँ मन्त्रिपरिषद् र संसद्लाई सूचना नदिई जानुभएको ? के खान जानुभएको ? हावा खान हो भने काठमाडौंमै हावा छ, मुस्ताङमा अहिले स्याउ पनि फलेको छैन होला,’ साम्पाङले व्यंग्य गर्दै भने, ‘के चाख्न जानुभएको हो, त्यो सदनलाई भन्नुपर्छ।’
देश बाढीपहिरो र विपद्ले आक्रान्त भइरहँदा सरकार मूकदर्शक बनेको उनको आरोप छ।
सुनसरी-४ अन्तर्गत कोशी कटानले सयौं बिघा खेतीयोग्य जमिन नास भइरहेको दृष्टान्त पेस गर्दै साम्पाङले कोशी ब्यारेजका ५६ वटै ढोका खोल्न माग गरे। ‘कोशी ब्यारेजका ५६ वटा ढोका खोल्ने साँचो कोसँग छ ?,’ उनले प्रश्न गरे, ‘सप्तकोशीलाई थुनेर बर्सेनि हाम्रो खेतीयोग्य जमिन डुबानमा पार्ने काम भइरहेको छ, आफ्नो भूमि बचाउन सरकारले तुरुन्त एक्सन लिनुपर्छ।’
त्यसैगरी, उनले स्वास्थ्य क्षेत्रमा दिइने दुई दिने बिदा हटाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन्। मानिसको ज्यान छिनछिनमा गइरहेको अवस्थामा बिरामीले बिदा भनेर पर्खिन नसक्ने भन्दै उनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बिदा कटौती गर्न माग गरे।
साथै, साम्पाङले झापाको बिर्तामोड क्षेत्रमा सञ्चालित क्यासिनोहरूमा नेपालीलाई नै प्रवेश गराएर जुवा खेलाइएको भन्दै गम्भीर आपत्ति जनाए।
जसले जे गर्दा पनि हुने अवस्था आएको भन्दै उनले क्यासिनोका कारण नेपालीहरूको घरबार बिग्रिएकाले तत्काल सरकारी निगरानी र कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन्।

-1200x5602026-08-24-05-04-27.jpeg)




तपाईको प्रतिक्रिया