Close This

एसिया कपमा नेपालले भारतसँग खेल्दा बत्ती जाँदैन : प्राधिकरण

सोमबार भदौ १८, २०८०/ Monday 09-04-23
Paschim Today

काठमाडौं, १८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार (आज) एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

अधिकांश नेपाली यो खेलको प्रतिक्षामा छन् । तर, बेला बेला झ्याप्प–झ्याप्प हुने ‘अघोषित लोडसेडिङ’ले काठमाडौं उपत्यकाबासी हैरान छन् । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई कतै बत्ती नजाने बताउँछन् । तर, अपरझट रूपमा रुखले तार छोयो वा टान्समिटर पड्किएमा केही भन्न नसकिने उनी बताउँछन् ।

“लोडसेडिङ काहीँ पनि छैन । कहिले काहीँ इमर्जेन्सी आगो लाग्यो भने अथवा रुखले तार छोयो भने लाइन अवरूद्ध हुने हो,” उनले भने, “हावा, हुरी–बतास कतै चल्यो भने केही भन्न सकिँदैन । आज काहीँ अवरूद्ध हुँदैन ।”

तर, प्राधिकरणले भने आज ११ बजेदेखि बेलुका ६ बजेसम्म ठिमी प्रसारण केन्द्रको बालकुमारी फिडरअन्तर्गत पर्ने सिरुटार डोलबाट सेक्सन लाइजर र ब्लेट स्विच काटिने बताइएको छ । ११ किलोभोल्ट लाइनमा परेको रूखका हाँगाहरू, बाँस कटान कार्यको लागि आज उक्त लाइन सटडाउनमा राखी कार्य गर्नुपर्ने भएको बताइएको छ ।

यो लाइनअन्तर्गत पर्ने सिरूटार, बिरुवा, तर्खाल, सिकारिटार, कालीटार, दधिकोट क्षेत्रमा लाइन अवरूद्ध हुने जानकारी दिइएको छ ।त्यस्तै, जोरपाटी प्रसारण केन्द्रको गोठाटार फिडरअन्तर्गत पर्ने मान्टार, डोटेल डेरी वडा नं. ९ कार्यालय, हात्तीडाँडा, ओपिटार, गोठाटार हेल्थपोस्ट, पहेँलोपुल क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

११ केलोभोल्ट ‘कन्डक्टर अपग्रेटिङ’ कार्यका लागि आज १० बजेदेखि बेलुका ५ बजेसम्म उक्त फिडर सटडाउनमा राखी कार्य गरिने बताइएको छ । तर, यो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा लाइन सुचारू हुन सक्ने पनि बताइएको छ । - १२ खरी