Close This

धनगढी राजधानी, गोदावरीमा आवास

आइतबार भदौ २४, २०८०/ Sunday 09-10-23
Paschim Today

धनगढी, २४ भदौ ।
सुदूर पश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकालाई जोड्ने गरी प्रदेशको राजधानी स्थापना गर्ने तयारी थालेको छ ।

बिगतको सरकारले गोदावरी नगरपालिकाको तेघरीलाई प्रदेश राजधानी बनाउने निर्णय गरेपनि जमीनको स्वामित्व र बजेट नहुदा राजधानी निर्माणको प्रकृया अघि बढाउन सकेको थिएन ।

हाल धनगढीमा रहेका मन्त्रालयहरुबाटै प्रदेश सरकार चलाउने र गोदावरी नगरपालिकाको गेटामा मन्त्रीहरुको आवास निर्माण गर्ने सोच रहेको प्रदेश सरकारका एक मन्त्रीले पश्चिम टुडेलाई बताए ।

विकासका लागि बजेट छैन । नयाँ मन्त्रालय र राजधानी निर्माण गर्न कहाँबाट बजेट ल्याउने ? उनले भने, राजधानी निर्माणभन्दा पनि बिकास हाम्रो प्राथमिकतामा छ ।

उनले धनगढीबाट डडेल्धुरामा राजधानी सार्ने कुरामा कुनै सत्यता नरहेको समेत बताए ।

हालको बजेटले तेघरीमा राजधानी निर्माण गर्न नसकिने विद्यमान प्रदेश सरकारको ठहर छ । सोही कारण दुबै पालिकाकाको भावनालाई सम्बोधन गर्दै धनगढीमा मन्त्रालय र गोदावरीमा आवास निर्माण गरिने प्रदेश सरकारका मन्त्रीले बताए ।