Close This

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित चार जनाको हत्या

सोधपुछका लागि काठमाडौंको तीनकुनेबाट एक जना नियन्त्रणमा

शनिबार भदौ ३०, २०८०/ Saturday 09-16-23
Paschim Today

काठमाडौं, ३० भदौ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सस्मिलमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको छ । काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो । अन्दाजी ५५/५६ वर्षका कुमार भुजेलकी श्रीमती अम्बिका भुजेल र ७६ वर्षकी आमा सुभद्रा भुजेलको समेत हत्या भएको छ । उनीहरू दोलखाका स्थायी बासिन्दा हुन् । त्यस्तै मोरङको बेलबारीका अन्दाजी १९/२० वर्षीय नवीन राईको पनि हत्या भएको छ । मृतक सबैको टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शनिबार बिहान घटनास्थलको मुचुल्का उठाई शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको एसएसपी मैनालीले जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।