नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा परराष्ट्र मन्त्री साँउदको स्वागत तथा सम्मान

सोमबार असोज १, २०८०/ Monday 09-18-23
Paschim Today

न्यूयोर्क, (अमेरिका), १ असोज ।
परराष्ट्र मन्त्रि नारायण प्रसाद (एनपी) साँउदले देश बाहिर रहेका नेपालीहरुलाई स्वदेशमा लगानी सहित आउन आह्वान गरेका छन् ।

नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा आईतवार न्यूयोर्कमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै देश यतिबेला आर्थिक संकटमा रहेको चर्चा गर्दै प्रवासमा रहेकाहरुको लगानी सहितको उपस्थिति आवश्यक भएको बताए  ।

तपाईहरुले प्रवासमा आर्जन गरेको सम्पत्तीको केही हिस्सा आफ्नो घर परिवार र समाजका लागि लगानी  गर्दै आउनुभएको छ, मन्त्री साँउदले भने, अव त्यतिले मात्र पुग्दैन । अव तपाईहरु लगानी सहित स्वयम नेपाल आउनुपर्छ । यतिबेला देशलाई तपाईको पूँजी, अनुभव र भौतिक उपस्थितिको खाँचो छ ।

उनले गैर आवासीय नेपालीहरुको नागरिकता र मताधिकारको माग सरकारले सम्बोधन गरिरहेको बताए ।

अव तपाईहरु अलमल र दुबिधामा रहनु पर्ने छैन, उनले भने, तपाईको माग र मुद्दा प्रति सरकार गम्भीर छ । नागरिकता बिधयेक तपाईहरुको त्यही भावना सम्बोधन गर्न ल्याइएको हो ।

गैर आवासीय नेपाली संघको आफू संरक्षक भएको बताउदै संघलाई एक ढिक्का गरेर लैजान एनआरएनए अभियन्ताहरुलाई आग्रह गरे ।

मन्त्री साँउदले सरकारले सस्तो मूल्यमा राहदानी सहजै समयमा पाउने व्यवस्था गरेको बताए ।

नेपाली काँग्रेसका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले काँग्रेसको नेतृत्वमा मात्र जनताका माग र मुद्दा सम्बोधन हुने बताए ।

उनले नेपाली काँग्रेसले सम्मुनत नेपाल, सुखी नेपालीको भावना अनुसार काम गरिरहेको बताए ।

कार्यक्रमका सभापति नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले वासिङटन डीसीमा रहेको दूतावासले अमेरिकाका सबै राज्यमा रहेका नेपालीहरुका समस्या सम्बोधन गर्न नसक्ने बताउदै क्यालिफोर्निया र टेक्ससमा कन्सुलेट अफिस आवश्यक भएको बताए ।

उनले परारष्ट्र मन्त्री साँउदलाई जतिसक्दो चाँडो क्यालिफोर्निया र टेक्ससमा कन्सुलेट अफिस स्थापना गर्न आग्रह गरे ।

जनसम्पर्क समितिका सभापति बिष्टले सरकार परिवतर्नन भएपनि बर्षौदेखि अवैतनिक वाणिज्यदूतहरु परिवर्तन नभएको बताउदै कार्यक्षताको मूल्यांकनका आधारमा उनीहरुलाई परिवर्तन गर्न आवश्यक भएको बताए ।

कार्यक्रमको सञ्चालन नेपाली जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङले गरेका थिए ।

स्वागत तथा भेटघाट कार्यक्रममा बिभिन्न संघसंस्था र राजनैतिक दलका प्रतिनिधिहरुले देशको बिग्रिदो आर्थिक र राजनैतिक अवस्था प्रति चासो र चिन्ता प्रकट गर्दै सरकारलाई त्यसप्रति गम्भीर हुन आग्रह गरेका थिए ।