सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास रहन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका उपसभापति तथा उप-प्रधानमन्त्री एवम् रक्षामन्त्री प्रधानमन्त्री पूर्णबहादुर खड्काले सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताएका छन् । उनले नेपाल शिक्षक महासंघको आन्दोलनपछि शिक्षकहरूको हक अधिकार सुनिश्चित हुने गरी विधेयकमा प्रावधान गर्ने विषयमा धेरै हदसम्म सहमति भइसकेको र अझैपनि केही शिक्षकहरू आन्दोलनमा रहेकोमा विधेयकमा अधिकतम सर्वस्वीकार्यता खोजिने बताए ।
गत बिहीबारदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उपप्रधानमन्त्री खड्काले सरकारले शिक्षक महासंघको चाहना बमोजिम नै सहमति गरेर अघि बढेको दाबी गरे । ‘शिक्षकहरु सबैको छाता संगठन नेपाल शिक्षक महासंघ हो । महासंघसँग सरकारले विधेयकको मस्यौदा बनाउने चरणदेखि नै वार्ता गरेर अघि बढेको हो । तथापि केही असमझदारीहरूका कारण आन्दोलन भयो । फेरि सरकारले महासंघकै चाहना बमोजिम छलफल गरेर सहमति भएको हो,’ उनले भने, ‘त्यसैमा सबै शिक्षकहरूको माग सम्बोधन भएको छ ।’
उनले अहिले राहत शिक्षकहरू सहितले आन्दोलन जारी राखेकोमा सरकारले सबै शिक्षकहरुको अधिकार सुनिश्चित गर्नका लागि पहल गर्ने बताए । ‘उहाँहरू भेट्न आउनुभएको छ । उहाँका कुराहरू सुनेको छ । र मैले उहाँहरूलाई सकारात्मक सन्देश दिएर पठाएको छु । सरकारले त्यसका लागि सबै खालको पहल गर्छ,’ उनले भने, ‘सकेसम्म सबै शिक्षकहरूका मागहरूलाई समेटेर सरकार र संसद्ले विधेयकलाई अन्तिम रुप दिनुपर्नेछ ।’ उनले शिक्षकका कतिपय मागहरु विधेयकमार्फत नभएर अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र सरकारले निर्णय गरेर सम्बोधन गर्न सकिने प्रकृतिका रहेको भन्दै त्यसका लागि समेत प्रयत्न गरिने बताए ।
तपाईको प्रतिक्रिया