हाजिरी जमानीमा हिरासतमुक्त भए अभिनेता अनमोल केसी

सोमबार असोज १५, २०८०/ Monday 10-02-23
Paschim Today

काठमाडौं,  १५ असोज । अभिनेता अनमोल केसी आइतवार राति हिरासतमुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन दिन अनुसन्धान गर्न दिएको समय समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

प्रहरीले उनलाई हाजिरी जमानीमा छोडेको हो । अदालतले केसीको तीन दिन म्याद थपेकोमा शुक्रबारदेखि गणना भएकाले आइतवार नै म्याद गुज्रिएपछि उनी छाडिएका हुन् । अदालतले तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि तीन दिनपछि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिरी जमानीमा रिहा गरेको हो ।

अब अनमोल प्रहरीले बोलाएको बेला हाजिर हुनु पर्नेछ । हिरासतबाहिर बस्दा प्रमाण लुकाउने वा नष्ट गर्ने सम्भावना नदेखिएपछि उनलाई हाजिरी जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । आपराधिक विश्वासघातको मुद्धामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरी अधिकारीले हाजिरी जमानीमा छाड्नसक्ने प्रावधान छ । उनी आफ्नै गाडीमा चढेर निवास फर्किएका थिए ।

फिल्म ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको, तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।

पक्राउ परेकै साँझ अनमोल प्रहरीको हिरासत छल्न स्वास्थ्यमा समस्या देखाएर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए । उनलाई आइतबार अस्पतालबाटै अदालत लगिएको थियो । अदालतमा उपस्थित गराउनुभन्दा अगाडि उनलाई महानगरीय प्रहरी परिसर टेकुले करिब ३ घण्टा सोधपुछ गरेको थियो । त्यहाँ उनले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’का निर्माताले लिन नमानेको र आफूलाई स्क्रिप्ट चित्त नबुझेकाले काम गर्न अस्वीकार गरेको बताएका थिए ।