आज देशभर पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, १६ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको छ। नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने छ । यसका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया