Close This

गेटा अस्पतालले आज देखि सेवा शुरु गर्यो 

पहिलो दिन १८ जना विरामीले अस्पतालबाट सेवा लिए

बुधबार कार्तिक १, २०८०/ Wednesday 10-18-23
Paschim Today

पश्चिम टुडे, धनगढी १ कार्तिक । 
कैलालीको गेटामा आज (बुधबार) देखी एक सय वेडको अस्पताल सञ्चालनमा आएको छ। मेडिकल कलेज,स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा बुधबारदेखि एक सय शय्याको अस्पताल सञ्चालनमा आएको हो।
बुधबार गेटा अस्पतालमा १८ जना विरामीले ओपिडी सेवा लिएको एमडीजीपी तथा ईर्मेजेन्सी विभाग प्रमुख डा. गणेश फुलाराले पश्चिम टुडेलाई बताए । 


डा. फुलाराले अस्पतालमा चेकजाँच गर्न आएका बिरामीलाई जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, नाक कान तथा घाँटी रोग, बाल रोग, स्त्री रोग, छाला रोग, जनरल सर्जरी, लगायतका सेवाहरु प्रदान गरिएको जानकारी दिए । 
१०० बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पुरा भएपछि अस्पताल सञ्चालनमा आएको अस्पतालका निर्देशक डा.प्रमोद जोशीले बताए । 
यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेको छ। अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको हो।


आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई एक सय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि अस्पताल सञ्चालनमा आएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताएका छन्।


साथै गेटामा ओपिडी सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिइसकेको छ। अहिले गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका छन्। यस्तै मंसिर महिनाभित्र एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ।