अस्पताल सुधारको प्रयास गरिरहेका बझाङ जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीको सरुवा

जिल्ला अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुने

शुक्रबार कार्तिक ३, २०८०/ Friday 10-20-23
Paschim Today

वसन्तप्रताप सिंह बझाङ ३ कार्तिक । 

अस्पताल सुधारको प्रयास गरिरहेका बझाङ जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीको सरुवा गरिएको छ । प्रमुखको रुपमा कार्यरत स्त्रिरोग विषेशज्ञ जोशीको सरुवा भए पछि बझाङ जिल्ला अस्पतालको चिकित्सकिय सेवा नै बन्द हुने भएको छ ।

सुत्केरी हुने क्रममा बढी रक्तश्राव भएका, पाठेघर फाल्नु पर्ने, पाठेघरमा ठिक तरिकाले बच्चा नबसेका र प्रसुतीका दौरान आउन सक्ने आपतकालिन अवस्थामा जिल्लामै शल्यक्रिया हुने गरेकोमा जोशीको सरुवा हुँदा त्यो सेवा बन्द हुने जिल्ला अस्पतालले जनाएको छ ।

‘बझाङको नजिकको रिफरल सेन्टर धनगढी हो । इमेरजेन्सी विरामीहरु हामीले धनगढी नै रेफर गर्ने गरेका छौं,' जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख डा.सिद्धराज रोकायाले भने, ‘विषेशज्ञ हुँदा अहिले यतै भैरहेको उपचारको लागि पनि धनगढी पठाउनु पर्ने अवस्था आयो भने विरामीको ज्यान माथी नै खतरा हुन सक्छ ।' उनले विषेशज्ञको अनुपस्थितीमा जिल्ला मै उपचार हुने जटिल प्रकृतीका १० देखी १२ जना विरामीलाई जिल्ला बाहिर रिफर गर्नु पर्ने अवस्था आउने बताए ।

१५ महिनादेखि बझाङ अस्पतालमा कार्यरत जोशीका गत असोज २४ गते स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको थियो । मेडिकल बिचौलिया र औषधि आपूर्तिकर्ताहरुको दबाबमा अस्पतालको चिकित्सकीय सेवा नै बन्द हुने गरी उनको काज फिर्ता गरिएको र उनको काज फिर्ताको लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सचिवलाई दबाब दिएको अस्पताल स्रोतको दाबी छ ।

अस्पताल प्रशासनसँगको सेटिङमा झण्डै १५ वर्षदेखि नियमितरुपमा जिल्ला अस्पताल बझाङको औषधि र उपकरण आपूर्तिको ठेक्का पाउँदै आएका सुदूरपश्चिमकै ठूला मेडिकल व्यवसायी दुष्यन्त बस्नेत र मुरलीधर जोशीसहितको दबाब र स्वास्थ्यमन्त्रीको सचिवालयको निर्देशनमा सचिवस्तरको निर्णय गरी डाक्टर जोशीको मन्त्रालयमै काज फिर्ता गराइएको स्रोतको दाबी छ । डाक्टर जोशी संघ अन्तर्गत दरबन्दी रहेका बझाङ अस्पतालका एकमात्र स्त्रीरोग विशेषज्ञ चिकित्सक हुन् ।

जोशीले अस्पताल प्रमुखको जिम्मेवारी सम्हाले पछि औषधि उपकरण खरिद प्रक्रिया ई-टेन्डरबाट मात्रै हुने व्यवस्था गरेका थिए । जोशीको सरुवामा अस्पताल भित्र कार्यरत केही कर्मचारीको पनि हात रहेको स्रोतको भनाई छ । कार्यालयमा ई–हाजिरीको व्यवस्था र अस्पतालको दैनिक आम्दानी २४ घण्टा भित्र खातामा जम्मा गर्नुपर्ने अनिवार्य नियम लगाएपछि कार्यालयमा काम नगरी सुविधा लिँदै आएका र अस्पतालको आम्दानी लामो समय सम्म व्यक्तिगत काममा प्रयोग गर्दै आएका कर्मचारीहरु पनि रुष्ट भएको स्रोतले बतायो ।

‘उसै पनि यहाँ विषेशज्ञ डाक्टरहरु आउन मान्दैनन । आफ्नो जिल्लाको अस्पताल सुधार गर्छु । दुर्गममा सेवा गर्छु भन्नेलाई माफियाहरुले बस्न दिँदैनन्,’ स्रोतले भन्यो, ‘भूकम्पले जिल्ला नै तहसनहस पारेको बेला विषेशज्ञ चिकित्सक सरुवा गर्दा जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित हुने भयो ।'

सरुवा भएका डा. जोशीले पनि मेडिकल माफियाहरुको दबाबमा आफ्नो काज फिर्ता गरिएको बताए । ‘पारदर्शी ढंगले काम गरौं । अस्पताललाई अझ बढी सेवामुखी बनाऔं भनेर लागेको थिएँ,' उनले भने, ‘यसो गर्दा केहीको गलत हर्कत बन्द भयो होला । पावर लगाएर काज फिर्ता गराइदिए ।' अस्पताल सुधारको प्रयास गरेकै कारण सरुवा हुनु परेकोमा आफुलाई दु:ख लागेको उनले बताए ।

यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने जोशीको काजफिर्ता कसैको दबाबमा नभई नियमानुसार नै भएको बताए । मन्त्रालयले साउनदेखि नै काजमा रहेका चिकित्सकहरुको काज फिर्ता गरी सम्बन्धीत दरबन्दी भएको ठाउँमा नै पठाउन थालेकोले यो नियमित प्रक्रिया भएको उनको भनाई छ ।

बझाङ अस्पताल प्रदेश अर्न्तगतको भएकोले रिक्त रहेको विषेशज्ञ पदमा प्रदेश सरकारले नै अर्को व्यक्ति खटाउने उनले बताए । ‘प्रदेशसँग जनशक्ति छैन भने संघलाई अनुरोध गर्न सक्छ । त्यो अवस्थामा मन्त्रालयले सोच्न सक्छ । अन्यथा प्रदेशले आफुसँग भएको जनशक्ती खटाउँछ,' उनले भने । कान्तिपुरबाट