Close This

सरकारलाई उद्योगका चाँभी बुझाउछौ- उद्योगीहरु

बिहीबार कार्तिक ३०, २०८०/ Thursday 11-16-23
Paschim Today

धनगढी, ३० कात्तिक ।
सरकारले धनगढीस्थित त्रिनगर भन्सार कार्यालयबाट प्लान्ट क्वारेण्टीन हटाएपछि प्रभावित भएका यहाँका उद्योगीहरुले प्लान्ट क्वारेण्टीन स्थापना नभएपनि उद्योगको चाँभी सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।

सरकारले त्रिनगर भन्सार कार्यालयमा सञ्चालनमा रहेको प्लान्ट क्वारेण्टीन साउन २८ गते हटाउदा यहाँका उद्योगहरु नराम्ररी प्रभावित भएका छन् । धनगढीमा रहेको प्लान्ट क्वारेण्टीन बन्द भएपछि कच्चा पदार्थ नेपालगञ्ज नाका भएर भित्र्याउनु परेकोले उद्योगहरु सञ्चालन गर्ने अवस्था नरहेको उद्योगीहरु बताउछन् ।

नेपालगञ्ज नाका भएर कच्चा पदार्थ भित्र्याउदा ढुवानीको लागत दोब्बर हुने भएकोले यहाँका उद्योगहरुले उत्पादन गरेका सामानको मूल्य बढि हुने र तिनले अन्य प्रदेशका उद्योगहरुसंग प्रतिस्पर्धा गर्न नसक्ने उद्योगीहरु बताउछन् ।

बिबेक ग्रुप अफ कम्पनीजका अध्यक्ष बिबेक भट्ट यथाशिघ्र प्लान्ट क्वारेण्टीन सञ्चालन गर्न सरकारसंग आग्रह गरे ।
प्लान्ट क्वारेण्टीन बन्द हुदा अधिकांश उद्योगहरु बन्द रहेको र बाँकी उद्योगहरु बन्द हुने अवस्थामा रहेको बताए । प्लान्ट क्वारेण्टीन सञ्चालनमा नआए उद्योग चलाउन सक्ने अस्वथा रहनेछैन, उनले भने, यस्तै अवस्था रहे हामी पनि उद्योग बन्द गरी सरकारलाई चाँभी बुझाउछौ ।

नविन प्यालेट दाना उद्योग प्रा.लिका सञ्चालक दिनेश लम्सालले अहिलेकै अवस्थामा उद्योग सञ्चालन गर्न सक्ने अवस्थमा नरहेको बताए । एकातिर बैंकको चर्को व्याज दर तिर्न सक्ने अवस्था छैन, अर्कोतिर प्लान्ट क्वारेण्टीन बन्द हुदा कच्चा पदार्थ भित्र्याउन असहज भएको छ, लम्साल भन्छन्, प्लान्ट क्वारेण्टीन स्थापना नभए र बैंकको व्याजदर एकल अंकमा नझरे उद्योगहरु सञ्चालन गरिरहने अवस्था रहने देखिन्न ।

उनले सरकारसंग पटक पटक प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि उद्योगीहरुले आग्रह गर्दै आएपनि त्यसको सुनुवाई नहुदा उद्योगधन्दाहरु बन्द हुने अवस्थामा पुगेको बताए ।

अव अन्तिम पटक सरकारलाई दवाव दिन हामी काठमाण्डौंं जादैछौ, उनले भने, फेरि पनि प्लान्ट क्वारेण्टीन स्थापना नभए उद्योगका चाँभी सरकारलाई बुझाउनु बाहेक हामीसंग अर्को बिकल्प रहनेछैन ।

प्लान्ट क्वारेण्टीन बन्द हुदा सुदूर पश्चिमका ठूला उद्योगहरु पूर्ण रुपमा प्रभावित भएका छन् ।