Close This

कैलालीमा संरक्षित क्षेत्रभित्रै पाशो थापेर बाघको हत्या

सोमबार माघ ८, २०८०/ Monday 01-22-24
Paschim Today

धनगढी,८ माघ ।
कैलाली जिल्लाको जानकी गाउँपालिका- ९ स्थित अमरावती सामुदायिक वनमा शिकारीको पासोमा परी बयस्क पोथी पाटे बाघको मृत्यु  भएको छ ।

डिभिजन बन कार्यालय पहलमानपुरका प्रमुख रामबिचारी ठाकुरले मृत अवस्थामा आइतवार फेला परेको बाघको दुई/तीन अघि नै पाशोमा परी मृत्यु भएको हुन सक्ने पश्चिम टुडेलाई बताए ।

मोटरसाईकलको क्लजको तार पाशोमा प्रयोग गरिएको छ । कर्णाली नदीबाट करीव एक किमी पश्चिम र कटासे बजार जाने सडकबाट करीव २० मिटरको दूरीमा पाशोमा परी बाघको मृत्यु भएको हो ।

सुर्किने गाठो रहेको पासोमा घाटी परेपछि बाघले ज्यान जोगाउन निकै कोसिस गरेको देखिन्छ । त्यसक्रममा बाघ पाँचदेखि छ फिटसम्म उफ्रिएको पाईएको छ । मृत अवस्थामा फेला परेको स्थानका रुखका पाँच देखि छ फिट माथिसम्म बाघले कोतरेको पाईएको छ ।

मृत अवस्थामा फेला परेको बाघको घाटीमा फसेको पासो निकाल्न समेत कठिनाई भएको थियो, सुर्किने गाठोले घाटी कस्सिएर बाघको निसासिएर मृत्यु भएको बताईएको छ ।

पाशोमा परेपछि छटपटिएको बाघले ज्यान जोगाउन निकै कोसिस गरेको देखिन्छ । सोही क्रममा बनको सुरक्षाका लागि लगाईएको अमरावती र सरस्वती सामुदायीक बनको काँडेतारमा अल्झिएर बाघ थप घाईते भएको देखिन्छ । काँडेतार पनि चुडिएको पाईएको छ ।

सरस्वती सामुदायीक बनमा थापेको पाशोमा परेको बाघ संगै जोडिएको अमरावती सामुदायीक बनमा मृत फेला परेको हो । पाशो परेपछि झण्डै ५० मिटरजतिको दूरीमा बाघ मृत फेला परेको हो । त्योबीचमा ज्यान जोगाउन निकै प्रयत्न गरेपनि सुर्किने गाठोमा घाटी फसेका कारण सास फेर्न नपाएर बाघको मृत्यु भएको पाईएको छ ।

मुखबाट रगत निस्किएको र गन्हाएको अवस्थामा बाघ मृत अवस्थामा फेला परेको छ । बाघको दात र गिजाबाट रगत निस्किएको पाईएको छ ।

४ गते निकै जोरले बाघ कराएको सुनेको स्थानीय बासिन्दाले बताएका छन् । पाशोमा परेपछि ज्यान जोगाउने क्रममा बाघ कराएको अनुमान गरिएको स्थानीय बिजय श्रेष्ठले पश्चिम टुडेलाई बताए ।

मृत फेला परेको बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको अनुमान गरिएको छ । बाघ मृत फेला परेको स्थान कर्णाली संरक्षित बन क्षेत्र भित्र पर्छ ।

कर्णाली संरक्षित क्षेत्र भित्र संरक्षित बन्यजन्तुको पाशो थापेर मृत्यु हुनु अत्यन्त गम्भीर कुरा हो, ठाकुरले भने, हामीले यो घट्नालाई गम्भीरतापूर्वक लिएका छौ । पाशो थाप्ने कार्यमा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजी गरिरहेका छौ । दोषीलाई कानुनी दायरामा ल्याएरै छोड्छौ ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार बाघ मार्ने व्यक्तिलाई १५ वर्ष र कैद र दुई लाख रुपैया जरिवाना हुने ठाकुरले बताए ।

अमरावती सामुदायीक बनमा पाशोमा परी मृत्यु भएको बाघ आईतवार डिभिजन बन कार्यालयमा लगिएको छ । आज पोष्टमार्टम गरी छाला र चोरी हुने अंग निकालेर मृत बाघलाई गाड्ने डिभिजन बन कार्यालयका प्रमुख ठाकुरले पश्चिम टुडेलाई बताए ।