Close This

महिलाको स्वतन्त्र अस्तित्व स्वीकार्न किन नसक्ने ?

मंगलबार माघ २३, २०८०/ Tuesday 02-06-24
Paschim Today

मेनुका बस्नेत विष्ट
कंचनपुर । 
अहिले आरजु राणा देउवाको नाच चर्चामा छ । आफ्नो एकमात्र सन्तान जयविर सिंह देउवाको विवाहको उत्सवमा कुमाउ गडवालको गीतमा नाचिएको सौम्य नाचलाई लिएर संचार माध्याम र सामाजिक संजालले शेरहादुर देउवाकी पत्नी भएर पनि नाच्ने भन्दै ठुलै अपराध गरे जस्तो गरेर बिषयलाई उठान गरे ।

तर जतिले उनको सौम्य नृत्य हेरे तारिफ गर्नेको पनि संख्यामा कमी भएन । तर सामाजिक संजालमा भने “आरजुको ठुमुक ठुमुक” यस्तै यस्तै मसलाले स्थान पायो । खड्केको कुरा चै के हो भने हामी केका लागि विरोध गर्छौ ? टिकटक र रिलमा लाखौ पटक भिडियो बनिसकेको यो गीतमा यति सौम्य र सभ्य नृत्य सायद आरजु कै थियो होला ।

यद्यपी अन्य गीतमा पनि राखेर अझ ट्रोल बनाइ नै रहिएको छ । अहिले विवाहमा सडकमा नाच्ने अधिकांश महिला नै हुन्छन् । छोराकी आमा जन्ती बिदा गर्दै आधि बाटोसम्म नाचेर फर्किन्छन भने बाँकी महिला नाची नै रहेका देखिन्छन् ।

भोजपुरी कमरिया स्तरका गीतमा नाचेको आमा, दिदी बहिनीहरुको नाच स(गौरव सामाजिक संजालमा भिडियो बनाएर हाल्नेहरु नै अहिले विरोध गर्नमा छन्, त्यसको के अर्थ ? पहिले पहिले रातीको लगनमा विवाह हुन्थ्यो र दुलाहका घरमा रातभरी रत्यौलि खेल्ने चलन हुन्थ्यो त्यसमा विशेष दुलाहाकी आमाको भुमिका महत्वपूर्ण हुन्थ्यो नाचगानमा ।

तर अहिले अधिकांश विवाह दिउसोको लगनमा हुने भएका कारण घरमा नाचगान कम, सडकमा बढी हुनेगरेको छ । यस अर्थमा आरजु राणा देउवा कहाँ गलत भइन ? उनले विसुद्ध आमा र महिला भएर बाँच्न पाउने उनको नैसर्गिक अधिकार पनि हो । सार्वजनिक जीवन बाच्नेको पनि व्यक्तिगत जीवन हुन्छ भनेर कसैले विर्र्सन हुँदैन ?

त्यहि स्थानमा शेरबहादुर देउवा नाचेको भए शेरबहादुर देउवाको ठुमुक ठुमुक भनेर टिप्पणी सायद गरिदैन थियो होला । अर्को घटना, सामाजिक संजाल र अनलाइनमा भाइरल समाचार देखियो, क्रस खुकुरीवालीको अत्याचार, काण्डवाली यस्तै शिर्षकमा । शिर्षक जति ग्ल्यामर छ त्यो भन्दा बढी ग्ल्यामरस छापिएको तस्विरमा थियो ।

तस्विर देखेपछि छापिएको समाचार पढे थाहा भयो क्रस खुकुरीवाली भनेको प्रहरी निरिक्षक महिलालाई भनिएको रहेछ । समाचारमा छापिएको कुराको क्रिया प्रतिक्रिया जिल्लाप्रहरी कार्यलय कंचनपुरले विज्ञप्ती मार्फत गरि सकेको छ । सत्य तथ्य बाहिर ल्याएको छ । मेरो सरोकारको विषय भनेको मात्र प्रहरी निरिक्षक महिलाको छापिएको तस्विर, समाचारको शिर्षक र छाप्नेको नियत प्रति हो ।

पिडित भनिएका प्रहरी जवान जो चोर हो भनेर कारवाहि परेको व्यक्ति चै प्रहरीको बर्दीमा महान राष्ट्र सेवक जस्तो, अनि क्रस खुकुरीवाली, काण्डवाली भनिएकी राष्ट्रसेवक प्रहरी निरिक्षकको फोटो चै आधुनिक पहिरनमा भएको ग्ल्यामरस फोटो जोडेर छाप्नुको के अर्थ हुन्छ ? अहिले सामाजिक संजालमा खोजियो भने जसको पनि तस्विर पाइन्छ र सजिलै डाउनलोड पनि हुन्छ ।

मलाई लाग्छ उनको तस्विर पनि यसरी नै लिइएको हो । यद्यपी तस्विरको श्रोत खुलाइएको थिएन । यदि समाचार निष्पक्ष र स्वतन्त्र नियतले लेख्न चाहेको भए उनको तस्विर क्रस खुकुरीवाला बर्दीको खोज्न पनि सकिन्थ्यो र छाप्नु पनि पथ्र्यो । तर त्यहाँ नियत खासै सफा देखिएन, सायद क्रस खुकरीवाला महिला भएकोले होला ।

महिलाले क्रस खुकुरी लगाएको बर्दी देख्न नसक्ने भएर त्यो तस्विर राखिएको हुनुपर्छ । केहि बर्ष अघिको एउटा घटना याद छ मलाई, त्यतिवेला पत्रकार महासंघ कंचनपुरको चुनाव थियो म निर्विरोध निर्वाचित भए तर अन्य पदको निर्वाचन भयो । कोषाध्यक्षको पदमा यमकला पाण्डेय निर्वाचित भइन ।

उनीसंग पराजित हुनुभएको एकजना पुरुष पत्रकार हुनु हुन्थ्यो,उहाँले गुनासो गर्नुभ यो निर्वाचनमा हारजित ठुलो कुरा होइन मैले हारे स्वीर्काछु, तर, महिलासंग हार्नु प¥यो त्यो स्वीकार गर्न सकिरहेको छैन । यो कुरा म किन जोड्दै छु भने, त्यही सोच राख्ने पत्रकार र पत्रकार महासंघ छ । जो महिलाको योग्यता र क्षमतासंग सधै डराउँछ ।

काण्डवाली विनु शाही भनेर लेख्ने पत्रकारहरुले कहिले काण्डवाला पुरुष प्रहरी नाम र उसको बारेमा लेखेको देखिएन । के जिल्ला प्रहरी कार्यालय भित्र यस्ता घटना कहिल्यै भएका थिएनन होला र ? यस घटनामा पिडित भनिएको व्यक्ति पनि आरोपित चोर रहेछ र त्यहाँ भित्र थुनुवालाई सुर्ति गुटखा पु¥याउन गएको रहेछ कसैको अनुमति विना ।

समाचार लेख्दा दोश्रो पक्षबाट पुष्टि गर्नुपर्ने वा उसको पनि भनाइ राख्नु पर्ने पत्रकारिताको सामान्य इथिक्स होइन र ? एक तर्फी समाचारमा काण्डवाली बनाइयो । यहिकार्य पुरुष डिउटी अफिसरले अझ सुदुरपश्चिम कै व्यक्तिले गरेको भए आउथ्यो कि आउदैनथ्यो  ?आरोपित तथा पिडित भनिएको प्रहरी जो कारवाहीमा परेको छ उसको समस्या पनि कारवाहीमा पर्नु होइन, महिला अधिकृतबाट कारवाहिमा पर्नु देखिएको छ ।

काममा पनि जेण्डर हेर्ने ? कामगर्दा व्यक्तिको दर्जा, दक्षता र क्षमता भन्दा जेण्डर हेरेर मुल्यांकन गर्न त भएननी । महिला भनेको सबै संग हाँसेर बोल्नु पर्ने, अझ मस्किनु पर्ने, अनलाईन  तथा फोनमा कुरा गरिदिनु पर्ने भन्ने सोच युवा पुस्ताका पुरुषमापनि देखिएकै छ ।

कुनै एउटा घटनामा एकजना पत्रकारले विनु शाहीले मलाई फेसबुकमा साथी नस्वीकार्ने, मेरो फोन नउठाउने, मलाई कस्तो मनपर्छे तर मलाई इग्नोर गर्ने यसलाई त यो घटनामा नफसाई कहाँ छोड्छु र भन्दै हिडेको उनैले सुनाएकि थिइन ।

महिला सबैलाई मन पर्ने तर महिला शक्तिमा भएको कसैलाई मन नपर्ने कस्तो मानसिकता हो हाम्रो । महिलाको क्षमता, दक्षता, कार्य कुसलता संग प्रतिष्पर्धा गर्न नसक्ने र उनको कार्यशैलीलाई पचाउन नसके पछि महिलाको दर्जा दिने र कामको मुल्यांक नहोइन शरिरको चर्चा गर्ने, चरित्रसंग जोडेर हेर्ने तथा लान्छना लगाउने प्रबृति पुरानै हो, पुरुषत्वको माइन्ड सेट हो, के यसको अन्त्य कहिले हुनुपर्दैन ?

केन्द्रीय अनुसन्धान व्यूरोमा प्रहरी अतिरिक्त महा निरिक्षक किरण बज्रचार्य आएपछि ठुला ठुला घोटालाका फाइलहरु खुले, हाइप्रोफाइल व्यक्तिहरु जेलमा गए । उनीहरुलाई पनि जेल गएको भन्दा पनि महिलाको अनुसन्धानका कारण जेल गएकोमा अफसोस लागेको होला । प्रहरी निरिक्षक विनु शाहीको सवालमा पनि यहि समस्या हो ।

पहिलो पोष्टिङ्ग नै कन्चनपुर लिएर आउदा काम गर्न ठुलै चुनौति छ तर म स्वीकार्छु भनेर आइन । आउदा आउदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई सम्हालेर जिल्लाका प्रत्येक पालिका र वडामा पुगिन । महिला हिंसा विरुद्धको १६ दिने अभियानमा उनको सक्रियता प्रसंशनिय रह्यो । जिल्ला प्रहरी कार्यालय र प्रशासनबाट हुने अप्रेशनहरुमा उनको संलग्नता रह्यो चाहे त्यो पसलको छापा होस वा होटल र मसाज केन्द्रको ।

यि सबैमा उनको सक्रियता र सफलताले उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा मात्र सिमित नराखि व्यक्तित्व विकास र क्षमता अभिबृद्धिका हिसावले राम्रो मानिएको मुद्दा फाँट सम्म सम्हाल्न पुगिन । महिला नै भएका कारण उनलाई मुद्दाफाँटमा देख्न नसकिएको र धेरैलाई असहज महसुस भएको पनि हुनसक्छ । त्यसैले उनलाई गिराउन काण्डवाली बनाएको पनि हुनसक्छ ।

उनको कामगर्ने शैलीप्रति कसैको असन्तुष्टि हुन सक्ला, उनको काम गर्ने दवंग शैली अरुलाई मन नपरेको हुनसक्छ । उनका पनि कमि कमजोरी होलान तर यसको अर्थ व्यक्तिगत चरित्रहत्या गर्ने, नैतिक चरित्रको लान्छना लगाउनु लैंगिकतामा आधारित हिंसा हो ।

एउटा चेनअफ कमाण्डमा चल्ने संगठनमा कार्यालय प्रमुखको आदेश पालना गर्दा पुरुष भए कर्तव्यनिष्ठ हुने र महिला भए अनैतिक सम्बन्ध भन्ने भाष्य किन निर्माण गरिन्छ ? महिला नै भएको कारणले यस्तो हिंसा कसकसले कहिले सम्म भोग्नु पर्ने हो ?

महिला राष्ट्रपति हुँदा होस वा मन्त्री बन्दा होस, राजनीतिक क्षेत्रमा होस या सामाजिक क्षेत्रमा, सुरक्षा निकाय तथा निजामति सेवामा नै किन नहोस सबै तिर महिलाको क्षमता र दक्षतालाई स्वीकार्न नसक्ने र महिलाको शरिर मात्रै देख्ने, महिला हो माथिकालाई रिझाइ हाल्छे नि भनेर उनको चरित्र माथि लान्छना लगाउने प्रबृतिको अन्त्य कहिले हुने ? महिलाको पनि सफलताको कडीमा कडा मेहेनत, आत्मविश्वास, दक्षता र क्षमता नै  हुन्छ, शरिर हुँदैन ।

महिलाको शरिर त सबै महिला संग हुन्छ तर क्षमता र दक्षता सबैसंग नहुन सक्छ त्यसैले त सबै त्यहाँ पुग्दैनन् ।  २१ औं शताव्दीमा छौ, लैगिक समानता, सामाजिक समावेशिकरण र समतामूलक समाज निर्माणको परिकल्पना गर्ने अनि व्यवहारमा भने महिलालाई उपभोग्य बस्तुको रुपमा हेरिरहने प्रबृति सबैका लागि नै दुर्भाग्य हो ।

भरखरै मात्र डिआइजी अर्जुन चन्दले आफ्नो मातहतमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा आफ्नो जुनियर माथि भएको अन्यायको विरुद्धमा आफ्नो राजीनामा दिनुभयो । त्यो चेनअफ कमाण्डमा कमाण्डरले लिने जिम्मेवारी र सह्रानीय कार्य पनि हो । यद्यपी उहाँको राजीनामा स्वकिृत भएन त्यो अर्को राम्रो पाटो हो ।

यहि घटनामा यदि त्यो जुनियर अफिसर महिला हुनु भएको भए पनि उहाँले राजीनामा दिनु हुन्थ्यो तर उहाँलाई महिला जुनियर संगको सम्बन्ध के थियो भनेर खोजिन्थ्यो होला र महिलाले फसाएको भनिन्थ्यो होला ।

क्रिकेटर सन्दिप लामिछानेले गरेको अपराध पुष्टी भइसकेको छ । अदालतले जेल तोकिसकेको अवस्थामा पनि उ पुरुष नै भएको कारणले राष्ट्रको गहना भनेर बचाउ गरिदैछ तर पिडितलाई भने दोषि देखाइन्छ ।  राष्ट्रको गहनाले पनि अपराध गर्छ भने कारवाही त स्वीकार्नै पर्छ । 

महिला नै भएका कारणले काम गर्दा पनि मानसिक र भावनात्मक हिंसा बेहोर्नु परेको छ । यसको उपचार सम्बन्धित पक्षले खोज्ला नै किनकी लैंगिक हिंसा विरुद्ध सुन्य सहनशिलता नेपाल सरकारको नीति हो । लैंगिक हिंसा अन्त्य समुदाय स्तरबाटै गर्न नेपाल प्रहरी  संजाल विस्तार गरेरै लागेको छ ।