Close This

कञ्चनपुरमा ‘प्रहरीले लखेटिरहेका’ भनिएका युवकको मृत्यु प्रकरणमा प्रहरी हवलदारसहित २ जना पक्राउ

आइतबार माघ २८, २०८०/ Sunday 02-11-24
Paschim Today

कैलाली । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक वीर बहादुर बुडाऐरले जानकारी दिए ।

मृतककी श्रीमतीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवलदार समेत हुन् । राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जङ्गलमा मृत भेटिएका थिए ।

‘प्रहरीले लखेटिरहेको थियो’

धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाहीँ मात्र घर पुग्ने गरेका थिए । १८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा शृङ्गारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दसैँ मनाउन घर फर्किने कुरा थियो ।  तर उनी घर गएनन् । २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जङ्गलमा उनको शव फेला प¥यो ।

२० असोजदेखि परिवारसँग सम्पर्क नभएपछि राजकुमारको परिवारले नातागोतासँग उनीबारे सोधिखोजी गरेका थिए । त्यस क्रममा १९ गते कृष्णपुर गुलरियामा साथीहरूले बोलाएको विषय मृतकी श्रीमतीले जाहेरीमा उल्लेख गरेकी छन् । 

त्यसमा उनले सोही दिन ९\१० बजेको बिचमा फोन गरी ‘साथीहरूले मेरा पछि सिआइवी लगाइदिएका छन्,  निजहरूले लखेटी रहेको छन् । मार्ने हुन् कि भन्ने डर लागेको छ । मलाई जसरी पनि बचाउनु भनी घरमा भनिदिनु ’भन्दै मृतकको साडुभाइलाई भनेको कुरा पनि उल्लेख गरेकी छन् ।

‘साढु मलाई ब्युरो वालाले लखेटिरहेका छन्, म भाग्दै छु, बिचुवा पुगेर फोन गर्छु, मलाई लिन मान्छे पठाइदिनु उहाँले भन्नु भएको थियो त्यसपछि उहाँको फोन पनि आएर उहाँ पनि आउनु भएन ’ राजकुमारकी श्रीमतीले भनिन् । धोके राजकुमारको फोन कुरेर बसे तर फेरि राजकुमारको फोन आएन।

भोलिपल्ट बिहान राजकुमारकै फोनबाट उनकी धर्मपत्नी सुशीलालाई ३ पटक फोन गयो । सुशीलाले फोन उठाउँदा अर्कोतर्फबाट कोही बोल्दैन थियो, मोबाइलमा टाइप गरेजस्तो आवाज मात्रै आउँथ्यो ।

राजकुमारको फोनबाट उनका भान्जा कमल रानालाई पनि १ पटक फोन गएको थियो तर कमलसँग पनि कुराकानी नभएको सुशीला बताउँछिन् ।

त्यसपछि राजकुमारको मोबाइल सधैँका लागि अफ भयो ।

र, त्यसको १ सातापछि २८ गते कृष्णपुर नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने जङ्गलमा सडेगलेको अवस्थामा राजकुमारको शव भेटियो । त्यसपछि पनि प्रहरीले किटानी दर्ता गर्न आनाकानी ग¥यो । अन्ततः हुलाक मार्फत पीडितले किटानी दर्ता गरे ।

‘कहिले जिल्लामा जानु भने कहिले सरकारी वकिलमा जानु भने मेरो मुद्दा दर्ता गर्न प्रहरीले मानेको थिएन ’ उनले भनिन् ‘पछि हुलाकबाट दर्ता भयो । ’ किटानी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरी ज्यान सम्बन्धी मुद्धामा म्याद थप गरिसकेको जनाएको छ । पीडितले भने हत्यामा १०\१५ जना संलग्न हुन सक्ने भन्दै किटानी दिएकी छन् ।

घटनालाई रहस्यमयी बनाउने अर्को पाटो हो राजकुमारको फेसबुक म्यासेन्जर । सुशीलाका अनुसार शव पाइएको २ सातपछि सम्म राजकुमारले चलाउने आइडी चलिरहेको थियो ।

‘११ गते मैले म्यासेन्जरमा भ्वाइस कल गर्न खोजेकी थिएँ’ सुशीलाले भनिन्, ‘तर उताबाट फोन उठेन र त्यसपछि अफलाइन छ ।’ राजकुमारको मृत्युका कारण ६ वर्षअघि उनीसँग प्रेम विवाह गरेकी सुशीला राना र ३ वर्षका छोराको बिचल्ली भएको छ । 

अहिले आफूलाई विभिन्न ढङ्गबाट तनाव दिने क्रम बढेको उनी बताउँछिन्।  ‘स्कुलबाट बाबु दिएर आउँदा एक पटक खोस्नै खोजे ’ उनले भनिन् ‘मलाइ पनि विभिन्न ढङ्गले तनाव दिएका छन् । ’