Close This

सामुदायिक विद्यालयमा पढाउनेलाई सम्मान

आइतबार चैत २५, २०८०/ Sunday 04-07-24
Paschim Today

बडीमालिका नगरपालिका–७ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ ।

‘जहाँ आफू, आफ्ना त्यहाँ’ भन्ने अभियान अनुरूप छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने विद्यालयका कर्मचारी तथा शिक्षकलाई प्रमाणपत्रसहित सम्मान गरेको वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो । 

सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न तथा सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन नगरपालिकाको ‘जहाँ आफू, आफ्ना त्यहाँ’ भन्ने नीति लिएर काम गरिरहेको वडाध्यक्ष पाध्यायले बताउनुभयो । 

शिक्षक भनेको कुनै पनि व्यक्ति, समाजको पहिलो मार्गदर्शक तथा अगुवा भएका कारण समाजले शिक्षकको क्रियाकलाप र गतिविधिलाई पछ्याउने भएकाले शिक्षकबाटै यस्ता क्रियाकलाप हुनु राम्रो पक्ष भएको नागरिक अगुवा विजयराज जैसीले बताउनुभयो । 

वडा कार्यालयले सरस्वती आधारभूत विद्यालयका शिक्षक बलबहादुर रोकाया, लालकेश रोकाया, कार्यालय सहयोगी टेकबहादुर रोकाया, ज्ञानुदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विजयराम पाध्याय, शिक्षक दुर्गाकुमारी पाध्याय (पाण्डे) बालविकास सहजकर्ता, लेखापाल देवराज पाध्यायलाई सम्मान गरेको हो । 

त्यस्तै लक्ष्मी माध्यमिक विद्यालयका लेखापाल रणबहादुर विक, शिक्षक प्रेमलाल पाध्याय गरेर आठ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।  

सामुदायिक विद्यालयमा निजी विद्यालयको भन्दा व्यावहारिक शिक्षा प्रदान हुने भएकाले अहिलेको समाज र परिवेशमा मेहनत गरेमा सामुदायिक विद्यालयको अध्ययन उपयुक्त भएको ज्ञानुदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विजयराम पाध्यायले बताउनुभयो ।